अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
बनेपा । बनेपाका विभिन्न स्थानमा अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरिएकाे हाे । आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताएका छन् । उनका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र वडा नं ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धर रहेका छन् । मेलम्ची नरपालिका–७ घर भई हाल बनेपा–८ मा बस्दै आएका तिमिल्सिनाले सञ्चालन गरेको होटलमा केटीसमेत राखेर अवैध यौनधन्दा गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित अन्य एक महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै, अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका चाँदनी भन्ने मनमाया तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ । “बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ”, प्रहरी निरीक्षक तिमिल्सिनाले भने, “यसअघि पनि यस्तै कार्यमा संलग्न पाइएको बनेपा पुलबजारस्थित सञ्चालनमा रहेको सेभेनडेज खाजाघर नामक होटल कारवाहीमा परेपछि बन्द भएको छ ।” प्रहरीले त्यस्तो धन्दामा संलग्न होटल करिब २० जति रहेको र ती होटललाई निगरानी गरिरहेको जनाएको छ । बजार क्षेत्रमा केटी जम्मा गर्दै अवैध यौनधन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले अनुसन्धानकार्यलाई तीव्र पारेको छ । रासस
उद्योगी र प्राधिकरणको विवाद बल्झियो, बिना जानकारी बढाएको विद्युत महसुलमा आपत्ति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई बढाएको विद्युत महसुलप्रति आपत्ति जनाएका छन् । उनीहरुले प्राधिकरणकाे पूर्व जानकारी बिनै ६६.६७ प्रतिशत विद्युत महसुल बढाएको बताउँदै बढाएको महसुलप्रति आपत्ति जनाएका हुन् । उद्योगी व्यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै बढाएको महसुल यथासिघ्र फिर्ता लिन आग्रह गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले २०७६ मंसिर महिनादेखि ६६.६७ प्रतिशत वृद्धि गरी बिल पठाइएकोमा सो वृद्धि भएको शुल्क उद्योगहरुले कुनै पनि अवस्थामा तिर्न नसक्ने बताउँदै उनीहरुले व्यवसायमा एकरुपता कायम गरी उद्योग सञ्चालन गर्ने वातावरण सृजना गर्न माग गरेका छन् । २०७५ जेठ १ गतेदेखि देश लोडसेडिङ्ग मुक्त भैसकेको अवस्थामा विद्युत सेवा वापत यस्तो अतिरिक्त मासिक सेवा शुल्क, डिमाण्ड शुल्क र ईनर्जी शुल्क (ट्रंक तथा डेडिकेटेड शुल्क) लिइनुमा कुनै औचित्य नभएको उनीहरुको भनाइ छ । उनीहरुले ती सबै शुल्कहरू अनिवार्य रुपमा खारेज हुनुपर्ने माग गरेका छन् । वि.स २०७४ चैत महिनामा विद्युत कार्यालय भैरहवा शाखाले आफ्नो आन्तरिक भार मिलान गर्ने क्रममा बुटवल भैरहवा औद्योगिक कोरिडरको लाइन ट्रंक लाइनमा परेको भनी हाल मिति २०७६ मंसिर महिनामा आएर बिनापूर्व जानकारी ६६.६७ प्रतिशत वृद्धि गरी बिल जारी गरिएको उनीहरुको भनाइ छ । पञ्चकन्या ग्रुपका प्रमुख धुब्रकुमार श्रेष्ठले मासिक तिरिरहेको महसुलमा पूर्व जानकारीबिनै एक्कासी बक्यौता रकम बढेर आएपछि उद्योगीहरुलाई समस्यामा पारेको बताए । आफुहरुले उत्पादन गर्न सकेको वस्तुहरु बिक्री गरिसकेको बताउँदै उनले यति ठूलो बक्यौता रकम तिर्न मुस्किल परेको उनको भनाइ छ । विद्युत प्राधिकरणका विद्युत महशुल संकलन नियमावली, २०७३ को विनियम ५ विचत महसुल अन्य दस्तुर तथा सेवा शुल्क र विलिङ सम्बन्धि व्यवस्थाको उपविनियम २ मा प्राधिकरणका डेडिकेटेड लाईन र ट्रंक लाईनबाट विद्युत सेवा लिने औधोगीहरुले विद्युत खपत गरे बाफत अनुसुचि १ (क) मा उल्लेख भए बमोजिमको मासिक सेवा शुल्क, डिमान्ड शुल्क र निजि शुल्क बुझाउनु पर्ने भनी विभिन्न उद्योगहरुलाई १६.६७ प्रतिशत वृद्धि गरी शुल्क तिर्न पत्राचार गरेको जनाइएको छ । उनीहरुले ट्रंकलाइनबाट विद्युत जडान गरि पाउँ भनि कुनै पनि प्रकारका माग तथा निवेदन नगरेकोले साविककै साधारण लाइन बमोजिमकै शुल्क तिर्ने व्यवस्था मिलाउन हाम्रो आग्रह गरेका छन् । उद्योगहरुले नियमितरुपमा बुझाउनु पर्ने महशुल, दस्तुर समयमै भुक्तान गरी छुट सुविधा समेत लिइरहेको अवस्थामा हाल आएर एकतर्फी रुपमा विगत ३-४ वर्ष अगाडि देखिको थप अतिरिक्त दस्तुर तथा सेवा शुल्क लाग्ने भनी पत्राचार भएकोप्रति आफु दुःखी भएको उनीहरुले बताएका छन् । खासगरी बुटवल-भैरहवा कोरिडोरमा संचालित उद्योगहरूले विगत ४० वर्ष देखि ३३ के.भि.ए. औद्योगिक कोरिडोर विद्युत प्रसारण लाईनद्वारा विद्युत खपत गर्दै नियमित रूपमा उद्योग व्यवसाय सञ्चालन गर्दै साधारण महसल बमोजिम आएको बिल अनुसारको भुक्तानी गर्दै आएका थिए । तर हाल आएर एक्कासी प्राधिकरणबाट २०७६ साल मंसिर महिनादेखि विद्युत महसुलको साविक साधारण दरको सट्टामा विषेश डिएफडीआर ट्रंक लाईन टेरिफबाट रेट कायम गरी बिल जारी गरिएको बताएको छ ।
प्यूठानकाे युनिफर्म उद्योग सञ्चालनमा
झिमरुक । प्यूठान नगरपालिका–१० मरन्ठाना खरिबोटका विष्णु गिरीले निजी लगानीमा ‘राप्ती गण्डकी युनिफर्म उद्योग’ सञ्चालनमा ल्याएका छन् । सैनिक सेवाबाट अवकाश भएका ४४ वर्षीय उनले २०६९ सालबाट उद्योग सञ्चालनमा ल्याएका थिए । उनले भने,“शुरुमा बुटवलमा उद्योग सञ्चालन गरे । राम्रोसंग सञ्चालन हुन नसकेपछि गत वर्षदेखि आफ्नै गाउँमै ल्याए । अहिले राम्रो चलेको छ । ” विद्यालयका छात्रछात्रालाई आवश्यक पर्ने टाइ,बेल्ट, ट्र्याकसुट, टिसर्ट लगायतका पोसाक उद्योगमा उत्पादन हुन्छन् । ती सामग्री जिल्लाका विद्यालय सहित छिमेकी जिल्ला रोल्पा, दाङ, अर्घाखाँची,बाग्लुङलगायतमा समेत विक्री हुने गरेको उनले जानकारी दिए। रु ३० लाख लगानी रहेको उद्योगमा आठ जनाले रोजगारीसमेत पाएका छन् । हालसम्म रु आठ लाख आम्दानी लिएको उनले जानकारी दिए । अभिभावकलाई जिल्लामै उद्योग सञ्चालनमा आएसँगै सहज भएको छ । रासस