नेपालको व्यापार–व्यवसायमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो

काठमाडाैं । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ । उक्त प्रतिवेनअनुसार प्रगति उन्मुख दक्षिण एशियाली मुलुकहरूको सूचीमा श्रीलङ्का चौथो, पाकिस्तान पाचौँ, मालदिभ्स छैटौँ, बङ्गलादेश सातौँ र अफगानिस्तान अन्तिम स्थानमा छन् । नेपालले विद्युतीय दर्ता प्रणाली, भूमि व्यवस्थापन पद्धति, वाणिज्य न्याय प्रणालीलगायत चार क्षेत्रमा उल्लेख्य सुधार गरेको प्रतिवेदनमा जनाइएको छ । नेपाल–भारत सीमाक्षेत्र वीरगञ्जमा एकीकृत जाँच चौकी स्थापनासँगै आयात–निर्यातको लागत र समयमा उल्लेख्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ । रासस

साढे २ अर्ब लगानी थप्दै हेटौँडा सिमेन्ट, उत्पादन १८० प्रतिशत बढ्ने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट इन्डष्ट्रिजले १८० प्रतिशतसम्म उत्पादन वृद्धि गर्ने भएको छ । करिब साढे २ अर्ब लगानी थपेर इन्डष्ट्रिजले उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागेकाे हाे । उद्योगले क्षमता अभिवृद्धिकाे लागि साँढे २ अर्ब लगानी समेत थप्ने भएकाे छ । उद्योगकाे क्षमता अभिवृद्धि गर्न हाल भएकाे मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएकाे हाे ।यहि अवसरमा उद्योगकाे जीर्णोद्धार पिन हुने बताइएकाे छ । मेशिन पुरानो भएकोले उत्पादन क्षमता कमी भएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार र विकास गर्न लागेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले जानकारी दिए । उनले भने निजी क्षेत्रको सिमेन्ट उद्योगहरुको उत्पादन खर्च कम भएको र सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगहरुको उत्पादन खर्च बढि भएकाले पनि बजारमा सरकारी स्वामित्वमा सिमेन्ट प्रति उपभोक्ताको चासो कम हुँदै गएको बताए । उपभोक्ताले गुणस्तरभन्दा पनि मूल्य मात्रै हेरेर सिमेन्ट खरिद गर्ने गरेका छन् । हामीले पनि सिमेन्टको मूल्य घटाउन र उपभोक्ता माझ लोकप्रिय बनाउन २ अर्ब ५० करोड लगानी थप्ने बारे बोर्डमा छलफल भैरहेको छ । बोर्डले पास गरिसके पछि उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा प्रस्ताव जाने बर्ताैलाले बताए । हेटौँडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि गरी मूल्य घटाउने याेजना बनाएकाे छ । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको छ । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । के छ हेटौँडा सिमेन्टको बिक्री अवस्था निर्माण कार्यको समय सुरु हुन लागेको समयलाई मध्येनजर गर्दे असोजबाट हेटौँडा सिमेन्टले २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरि बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ थियो । मासिक ३ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेर सिमेन्ट उद्योगले गत ३ महिनामा करिब ३ लाख बोरा सिमेन्ट बिक्री भएको कम्पनीले जानकरी दिएको छ । कम्पनीले लक्ष्यको २० प्रतिशत मात्रै सिमेन्ट बिक्री गरिरहेको छ । कम्पनीको एक कर्मचारीले भने निजी क्षेत्रका ठूला लगानीको सिमेन्ट कम्पनीहरु सञ्चालनमा आएपछि हाम्रो सिमेन्ट बिक्रीमा ह्वातै कमी आएको छ । हेटौँडा सिमेन्टको क्लिङ्कर उत्पानदको अवस्था यस्तो छ  सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ हो क्लिङ्कर । हेटौँड सिमेन्ट उद्योगले आफ्नो लक्ष्य अनुसार क्लिङ्कर उत्पादन गर्न सकेकाे छैन । उद्योगको लक्ष्य भने ४५ हजार मेट्रिकटन रहेकोमा ३४ हजार मेट्रिकटन मात्रै क्लिङ्कर उत्पादन भइरहेको छ । उद्योगमा लगानी वृद्धि भए समग्र अवस्थामा सुधार आउने कम्पनीले जानकारी दिएको छ ।

घरायसी र व्यवसायिक प्रयोजनका लागि अब फेरि ग्यासमा दुई थरी मूल्य

काठमाडौं । अब सरकारले घरायसी प्रयोजनका लागि सहुलियत दरमा र व्यवसायिक प्रयोजनका लागि लागत मूल्यमा खाना पकाउने एलपी ग्यास विक्री गर्ने भएको छ । नेपाल आयल निगमले यसअघि नै गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने याे गृहकार्य थालेकाे हाे । निगमले यस व्यवस्था  विविध कारणले  प्रभावकारी कार्यान्वयन हुन सकेकाे थिएन । निगमले याे व्यवस्थाका साथै आफैले प्लान्ट राखेर ग्यास आयात गर्ने बाटो पनि खोल्न लागेको छ। अहिले ग्यासमा प्रति सिलिन्डमा सरकारले ३ सय रुपैयाँ अनुदान दिइ रहेको छ । साे व्यवस्था  कार्यान्वयनमा गएसँगै व्यवसायीले भने सरकारले दिएकाे याे सुविधा पाउने छैनन् । व्यवसायीलाई नै आफनो इच्छा अनुसार ग्यास आयात गर्न दिँदा ग्यासको लागत खर्च कम लाग्ने हुँदा व्यवसायीहरुलाई पनि ग्यास सस्तो हुन जाने स्रोतको दावी छ । घरायसी र व्यवसायिक प्रयोजनका लागि २ रङका सिलिन्डर प्रयोगमा ल्याउँदा नियमन गर्न गाह्राे भएकाे र ग्यासको दुरुपयोग हुने भन्दै केही वर्षदेखि रोकिएको थियाे । अब भने निगमनले संयन्त्र र उपभोक्ता विवरण प्रणाली बनाएर सहुलियत मूल्यमा ग्यास वितरण गर्ने भएकाे छ । हाल निगमले खाना पकाउने एलपी ग्यासमा सबैभन्दा धेरै घाटा व्यहोरी रहेको छ । गत आर्थिक वर्षमा ग्यासमा निगमले साढे ५ अर्ब ४४ करोड रुपैयाँ घाटा व्यहोरोको थियाे । घरायसी प्रयोजन र व्यवसायिक प्रयोजनका लागि एउटै मूल्य भएको कारणले व्यावसायीहरुले पनि घरायसी मूल्यको ग्यास नै प्रयोग गरिरहेका छन् । यस्तो अवस्थाको अन्त्य गर्न सरकारले २०७० सालमा दुई प्रकारका सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेर केही समय कार्यान्वयमा पनि लगेकाे थियाे । उद्योगीहरूले सिलिन्डरको रङ्ग परिवर्तन पनि गर्न सक्ने  आँकलन गरेर उपभोक्ताका लागि कार्ड समेत वितरण गरेकाे थियाे। तर अब त्यसो नभइ व्यवसायीहरुले आफ्नो इच्छा अनुसार प्लान्ट राखेर ग्यास राख्न पाउने सक्ने गरि ऐन परिवर्तन  गर्न लागिएकाे समेत स्रोतले जानकारी दिएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने जनतालाई सहुलियत दिनका लागि कुन व्यवस्था लागु गर्दा सहज र सरल हुन्छ भनेर अध्ययन भहिरहेको बताए ।  यस विषयमा छिट्टै निचोडमा पुग्ने उनकाे भनाइ छ। नेपाल एलपी ग्यास उद्योग व्यवसायी महासङ्घका अनुसार देशभरी करिब मासिक २ लाख ७० हजार सिलिन्डर एलपी ग्यास विक्री हुने गरेकाे छ । उक्त ग्यासमध्ये ४० प्रतिशत व्यावसायिक प्रयोजन र ६० प्रतिशत ग्यास घरायसी प्ररियोजनका लागि प्रयोग हुने अनुमान छ ।