क्लिंकर उत्खनन् गर्न नपाएको भन्दै सिमेन्टको मूल्य प्रतिबोरा १ सय ५० रुपैयाँसम्म बढाउने तयारीमा उद्योगी

काठमाडौं । सिमेन्टको मूल्य बढ्ने भएको छ । प्रतिस्पर्धाको कारण विगत २ वर्षदेखि घट्दै आएको सिमेन्टको मूल्य यसवर्ष सरकारले जारी गरेको लकडाउनका कारण क्लिंकरको अभाव भएकोले मूल्य बढ्ने भएको हो । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुंगाको व्यवस्था समयमै गर्न नसकिएको कारण सिमेन्टको मूल्य बढ्ने उद्योगीले बताए । चुनढुंगाको ढुवानी फागुनदेखि जेठ महिनासम्मा हुने हुने र सोही समयमा सरकारले लकडाउन गरेका कारण समस्या भएको उद्योगीको भनाइ छ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो । आर्थिक वर्ष २०७५/७६ र चालु आर्थिक वर्ष २०७६/७७ मा सिमेन्टको भाउ लगातार घट्दै आएको थियो । २ वर्षमा गरेर प्रतिबोरा करिब १ सय ५० सय रुपैयाँले घटेको सिमेन्टको मूल्य फेरि बढ्न लागेको हो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रव थापाले सरकारले लकडाउनमा नै चुनढुंगा उत्खनन गर्न दिए पनि स्थानीय तहहरुसँग समन्वय नहुँदा उत्खनन् हुन नसकेको बताए । नेपालमा चुनढुंगा उत्खनन् हुन नसक्दा भारतबाट ल्याउनु पर्ने र त्यसैकारण सिमेन्टको मूल्य बढ्ने उनको भनाइ छ । ‘संघीय सरकारले अनुमति दिएपनि स्थानीय तहहरुसँग समन्वय नहुँदा लकडाउनको समयमा चुनढुंगा उत्खनन् हुन सकेन, वर्षायाम लाग्नुअघि नै उद्योगसम्म पुर्याउनु पर्ने चुनढुंगा संकलन गर्न पाइएको छैन, भारतबाट चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गर्दा महंगो पर्छ, त्यसैले अब उत्पादन हुने सिमेन्टको मूल्य बढ्छ,’ अध्यक्ष थापाले भने । वर्षायाम लागु भएको अब चुनढुंगा उत्खनन् गरेर उद्योगसम्म पुर्याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटा उद्योगले आफैं क्लिङ्कर उत्पादन गर्छन् । तर, खानीबाट चुनढुंगा लगेर उद्योगमा स्टक राख्न नसक्दा अब भारतबाट क्लिङ्कर ल्याउनुपर्ने बाध्यता आइपर्ने भएकाले सिमेन्टको मूल्य प्रतिबोरा ५० देखि १ सय ५० रुपैयाँसम्म महँगो हुने अध्यक्ष थापाको भनाइ छ । हाल नेपालमा सिमेन्टको उत्पादन मूल्य ओपीसी र पीपीसीबीच प्रतिबोरा करिब सय रुपैयाँको फरक छ । उद्योगबाटै खरिद गर्दा एक बोरा पीपीसी सिमेन्टको मूल्य ६ सय २५ रुपैयाँदेखि ६ सय ६० रुपैयाँसम्म पर्छ । ओपीसी सिमेन्टको उद्योगमै पर्ने मूल्य प्रतिबोरा ७ सयदेखि ७ सय ७० रुपैयाँसम्म रहेको थापाले बताए । सिमेन्ट खपत हुने तर समयमै भूक्तानी नपाउने कारणले पनि व्यवसायीहरु समस्यमा पर्ने गरेको उद्योगीहरु बताउछन् । नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । अहिले नेपालमा ६१ सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्कर उद्योग २१ वटा छन् । ग्राइन्डिङ उद्योग ४० वटा छन् । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता भएपनि ६१ वटा मात्रै संचालनमा छन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् । नेपालमा स्वदेशी र विदेशी गरी ४ख र्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको अध्यक्ष थापाले बताए ।

सहमति खाेज्ने जिम्मेवारी शेखर गाेल्छाको काँधमा

काठमाडौं । कोभिड–१९ महामारीले मुलुक आक्रान्त छ । व्यवसायीहरु कर्मचारीलाई तलव खुवाउन नसकेर, बैंकको किस्ता भुक्तानी गर्न नसकेर, घरभाडा तिर्न नसकेर छटपटाईरहेका छन् । उद्योग व्यवसाय चौपट भएको पीडाले पोलिरहेको घाउँमा मलम पट्टि लगाउनुको साट्टो यतिबेला व्यवसायिक नेताहरुले भोट मागेर हैरान गर्नेवाला छन् । राहातको विषयमा सोच्ने र बोल्ने फूर्सद उनीहरुलाई छैन । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा होमिएको छ । साउन २५ र २६ गते निर्वाचन हुँदैछ । विधानत महासंघको निर्वाचन गर्न ढिला भैसकेको छ । गत चैत अन्तिममा साधारणसभा र निर्वाचन हुने निर्णय नै भएको थियो । कोरोना महामारीका कारण भएन । विधान अनुसार विषम परिस्थितिमा ३ महिना समय थप्न मिल्ने बैधानिक प्रावधान छ । त्यो प्रावधानअनुसार बढीमा असार मसान्तसम्म नयाँ नेतृत्व चयन भईसक्नुपर्ने थियो तर भएन । महासंघको विधानअनुसार यतिबेला महाधिवेशन हुनैपर्छ र नयाँ नेतृत्व चयन गर्नैपर्छ । महासंघका अधिकांश सदस्यहरु संकटको बेलामा चुनावी प्रतिस्पर्धा भन्दा सहमतिको प्रक्रियामा जानु पर्ने बताउँछन् । ‘निर्वाचन लोकतान्त्रिक पद्धति हो । निर्वाचनले बलियो नेतृत्व चयन गर्छ । तर यतिबेला सहमतिमा नयाँ नेतृत्व चयन गर्न सकियो भने सन्देश राम्रो जान्छ’ महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने । नयाँ नेतृत्वको लागि सहमतिको प्रयास गर्नु हुँदै गरेका शेखर गोल्छालाई भनिएको उनले बताए । ‘बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अबको अध्यक्ष हो । उहाँले चाहेमा सहमतिको वातावरण बन्न सक्छ’ उपाध्यक्ष श्रेष्ठले भने । हरेक निर्वाचनमा निकै सक्रिय रहदै आएको महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल चुनावको ३/४ दिन अघि मात्र सहमतिको सम्भावना हुने बताउँछन् । ‘भर्खरै निर्वाचनको मिति घोषणा भएको छ । अझै ढेड महिना बाँकी छ । यसबीचमा चुनावी तयारीसँगै सहमतिको प्रयास हुनेछन्’ उनले भने । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गर्नुको उदेश्य नै क्रमशः महासंघको नेतृत्व सहमतिमा चयन गर्नु भएका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘महासंघमा गएर निजी क्षेत्रको हितमा काम गर्ने हो । व्यवसायीको समस्या समाधानमा सहयोगि भूमिका खेल्ने हो । महासंघको नेतृत्वमा गएर कुनै आर्थिक लाभ हुने होइन’ उनी भन्छन्–‘यस्तो ठाउँमा जान होडबाजी गर्नु वा महँगो निर्वाचन गर्नु ठिक होइन ।’ उनी महासंघमा सर्वसहमतिमा अध्यक्ष बनेका थिए । महासंघको पदाधिकारीमा कोही रहरले उम्मेदवार बनेको देखिन्छ भने कोही कहरले उम्मेदवार बनेका छन् । कोही विगतमा सोही पदमा हारेका व्यक्तिहरु पुनः उम्मेदवार बनेका छन् भने कोही पुरानै पदमा दोहोरिने इच्छा व्यक्त गरिरहेका छन् । अहिले विषम परिस्थिति भएकाेले  निश्चित मापदण्ड बनाएर सहमतिको प्रयास गरेमा शुरूमा पदाधिकारीमा सहमति हुने, त्यसपछि कार्यसमिति सदस्यहरुमा पनि सहमति जुट्न सक्ने जानकारहरु बताउँछन् । उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते

कटुवाल ग्रील उद्याेगले ल्यायाे खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण 

काठमाडाैं । न्यु कटुवाल ग्रील उद्याेगले खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा ल्याएको छ । उद्याेगले कम मूल्यमा गुणस्तरीय एवम् लामो समयसम्म टिकाउ हुने फलामबाट निर्मित उक्त उपकरण बजारमा ल्याएको हाे । स्वदेशमै रोजगारी सृजना हुने राज्यलाइ राजस्व प्राप्त हुने र स्वदेशी उद्याेगबाट उत्पादित बस्तुको  प्रयोगकोलाई बढावा उक्त उपकरण ल्याएकाे ग्रील उद्याेगले जनाएकाे छ । एक हातले नछोइकन स्यानिटाइज गर्न मिल्ने उक्त उपकरणकाे मूल्य एक हजार ५ सय ५० रूपैयाँ(भ्याट बाहेक) रहेकाे छ  । साथै, साबुन पानीले हात धुन मिल्ने वाटर टेन्की सहितको सामाग्री १५ हजार रूपैयाँमा निर्माण गरि उपभोक्ताहरुलाई उपलब्ध गराउन थालेको छ । उक्त उद्याेगले कलकारखाना सपिङमल, होटल रेस्टुरेन्टमा पार्टिप्यालेस, सरकारी कार्यालय सार्वजनिक स्थल/लगायतका स्थानमा उपलब्ध गराउँदै आएको छ। उद्याेगका सञ्चालक मोहन कटुवालका अनुसार सधै लकडाउनमा बसेर सिङोमुलुकलाई आर्थिक सन्कटमा पार्नु भन्दा सबैले आफ्नो आफ्नो स्थानबाट कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाएहरु अपनाएर सबै जनाले आफ्नो आफ्नो काममा लाग्नु पर्ने बताएका छन् । याे अवस्थामा यस सुरक्षाको उपकरणको प्रयोगले केही हदसम्म सुरक्षित रहन मद्दत पुग्ने भएकोले सबै वर्गले स्वीकार्न सक्ने उनकाे विश्वास छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका कटुवालले महाभुकम्प पिडीत ६०० घर परिवारलाई ३० हजारमा भुइघर उपलब्ध गराएका थिए।