ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

रियाद । साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको थियो । बिहानै लागेको दुवै आगलागी हाल नियन्त्रणमा आइसकेका सरकारी समाचारमाध्यमले बताएका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो । आगलागीबाट कति क्षति भयाे भन्ने तथ्यांक आउन समय लाग्ने स्राेतले जनाएकाे छ ।  स्थानीय समयानुसार बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ । रासस/सिन्ह्वा

इँटा उद्योगीद्वारा प्रत्येक हप्ता कामदारलाई ३० करोड भुक्तानी

विराटनगर । नेपालका इँटा उद्योगीहरुले प्रत्येक हप्ता रु ३० करोड रकम ग्रामीण क्षेत्रका कामदारलाई भुक्तानी गर्ने गरेको आज यहाँ आयोजित कार्यक्रममा बताइएको छ । कोशी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घको नवौँ साधारणसभामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विदेशी कामदारलाई न्यूनीकरण गरी स्वदेशी कामदारलाई दक्ष बनाई रोजगार उपलब्ध गराउनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा गरिबी निवारणमा ठूलो भूमिका निर्वाह गरेका उद्यमीहरुले इँटाको तौल घटाई गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री कार्कीले पानी र असिनाबाट उद्योगीहरुलाई हुने क्षति न्यूनीकरण गर्न कानूनी, व्यवस्थापकीय लगायतका अन्य सहयोग गर्न सरकार तयार रहेको धारणा व्यक्त गरे । प्रदेशसभा सदस्य जयराम यादवले उद्यमीले जनस्वास्थ्यमा क्षति नपुर्याउने स्वदेशी तथा विदेशी उपकरण प्रयोग गर्न अनुदानलगायत भन्सार छुट उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् । सङ्घका अध्यक्ष महेन्द्रप्रसाद साह, महासचिव अरुण प्रधान, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले नेपाल इँटामा आत्मनिर्भर रहेको जानकारी दिएका छन् । इँटा उद्योगले नेपालको कूल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशत योगदान दिएको छ । नेपाल सरकारमा दर्ता भएका एक हजार ४०० र सङ्घमा दर्ता भएका एक हजार इँट्टा उद्योग विभिन्न जिल्लामा सञ्चालनमा रहेका छन् । सङ्घले आज सहमतिका आधारमा नेतृत्व चयन गर्ने छ । रासस

कृषि, पर्यटन तथा उद्योग सम्भाव्य स्थान रहेको दाङ उपत्यकाको अनुकुलतम प्रयोग गरी प्रर्बद्धन गर्नुपर्ने – बरिष्ठ उपाध्यक्ष मल्ल

काठमाडौं । हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन हुनुभएको छन् । उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले गरेका छन् । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो । एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भाबना रहेकोले उत्पादनमा वृद्धि लगायत सम्बद्र्धनका लागि अघि बढ्नुपर्ने बताएका छन् । बरिष्ठ उपाध्यक्ष मल्लले दाङ कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तरदेशिय निर्याततर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । यहाँ उत्पादित ९० प्रतिशत अण्डा अन्यन्त्र निर्यात हुनु प्रशसनीय रहेको बताउँदै अब अण्डाको उत्पादनलाई बढावा दिदै आयात शुन्य बिन्दुमा झार्न दाङमा कुखुरा फर्ममा अझै बढावा हुनुपर्ने बताए । धार्मिक तथा सांस्कृतिक रुपले निकै आकर्षक रहेको दाङमा धार्मिक पर्यटनको विकास गर्न आवश्यक पूर्वाधार सहित विकाश गर्न सकिने पर्याप्त संभावनालाई व्यवहृत गर्नुपर्ने बताएका छन् । साना तथा मझौला उद्योगको विकास, महिला उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिन घोराही चेम्बर अफ कमर्स दु्रत रुपमा अघि बढ्नुपर्नेमा उपाध्यक्ष मल्लले जोड दिंदै दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएकोमा खुसी व्यक्त गरे । उनले पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएकोमा खुसी व्यक्त गर्दै बैदेशिक निर्यातमा दाङका सिमेन्ट एक हुनुपर्नेमा समेत उल्लेख गरे । व्यावसायिक एकता नै चेम्बरको प्राथमिकता रहेको भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन् । कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमोर्चाका नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्रबहादुर महरा, तुलसीपुर चेम्बर अध्यक्ष टोपबहादुर घर्ती लगायतको उपस्थिति थियो । त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, विपी विचार समाजका सचिव रूपलाल बस्नेत, घोराही खानेपानी तथा सरसपरफाई उपभोक्ता संस्थाका उपाध्यक्ष भरत पाण्डे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका उपाध्यक्ष काशीराम केसी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष गुरूप्रसाद कँडेल, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदिप मज्गैया, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरी, त्रिभुवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, दाङ महिला जेसीजकी अध्यक्ष रेखा शर्मा, लायन्स क्लब घोराही सिटीका अध्यक्ष भरतराज देवकोटा, शीशा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी लगायतको उपस्थिती थियो ।