औद्योगिक ‘हब’ बन्दै झापाको मेचीनगर
भद्रपुर । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन् । उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल बढेको छ । मेचीनगर वडा नं. १३ दुहागढीमा मनषा थाईफुड्स प्रालिले तयारी चाउचाउको उत्पादन शुरु गरेको छ । रु दुई सय करोड लगानीमा खुलेको यो उद्योगमा ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारीको अवसर पाएको सञ्चालक बुद्धि घिमिरे बताउँछन् । नगरमा दर्जनभन्दा बढी प्लाईउडका कारखाना सञ्चालनमा छन् । कर्मचारी र कामदार गरी हरेक प्लाइउड कारखानामा सयौँले रोजगारी पाएका छन् । सञ्जीवनी, सिद्धार्थ लगायतका प्लाइउड कारखाना ठूलो लगानीमा खुलेका हुन् । पूर्वमै सबैभन्दा बढी सिमेन्ट उद्योग मेचीनगरमै सञ्चालनमा रहेका छन् । हिमालयाज, सनराइज, मेगा र गोरखकाली उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्टले प्रदेश नं. १ को ठूलो माग धान्दै आएको छ । सिमेन्ट उद्योगहरूमा करिब पाँच सयले प्रत्यक्ष रोजगारी पाएका छन् । कतिपय प्राविधिक कामदार भारतबाट आउने गरे तापनि पछिल्लो समयमा उद्योगहरूले स्वदेशी कामदारलाई नै प्राथमिकता दिने गरेका छन् । सनराइज र हिमालयाज सिमेन्ट उद्योगका महाप्रबन्धक अमित पोद्दारका अनुसार सनराइजले वार्षिक डेढ लाख र हिमालयाजले ७५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । ती दुबै उद्योगमा १६० स्वदेशी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । यसैगरी, पशु र पक्षीको आहाराको रूपमा दाना उत्पादन गर्ने उद्योगहरू पनि मेचीनगरमा खुल्ने क्रम बढेको छ । भ्याली एग्रो फिड्स प्रालि नामक दाना उद्योग मेचीनगर–१३ मा रु. ४५ करोडको लगानीमा तीन महिना अघि स्थापना भएर आफ्नो उत्पादनलाई बजारमा पुर्याउन थालिसकेको छ । उक्त उद्योगले कुखुरापालन गर्नुका साथै अण्डा र चल्ला उत्पादन समेत गर्दै आएको छ । उद्योगका सञ्चालक सुबोध निरौलाले गाईभैँसी, सुँगुरबङ्गुर र कुखुराका लागि आवश्यक पर्ने दाना प्रति घण्टा १० मेट्रिक टनका दरले उत्पादन भइरहेको जानकारी दिए । कुखुराको अण्डा र मासुमा नेपाल आत्मनिर्भर भइसकेको हुँदा भारतबाट कुखुरा र अण्डाको अवैध आयात रोक्न सबै लाग्नुपर्ने उनको भनाइ छ । मेचीनगर–१० मा दैनिक पाँच हजार जोडा जुत्ता उत्पादन गर्ने क्षमता भएको एसियन फुटवेयर प्रालि नामक कारखाना भर्खरै खुलेको छ । प्रालिका अध्यक्ष छवि पौडेलले रु. १० करोड लगानीमा उद्योग स्थापना गरिएको र ७५ जना स्थानीय कामदारले प्रत्यक्ष रोजगारी पाइरहेको जानकारी दिएका छन् । सुरक्षित लगानीको वातावरण बनेपछि मेचीनगरमा उद्योगी व्यवसायीहरू आकर्षित भइरहेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउँछन् । उनका अनुसार भारतबाट कच्चा पदार्थ आयात गर्न भन्सार विन्दु नजिक हुनु र मुलुकभित्र लगानी सुरक्षाको वातावरण सिर्जना हुनुले मेचीनगर औद्योगिक ‘हब’को रूपमा विकसित भइरहेको छ । मेची उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७५/०७६ मा ३८४ वटा व्यावसायिक फर्म थपिएको तिम्सिनाले जानकारी दिए । उनले नगरमा चाउचाउ, जुस, पानी, दाना, जुत्ता चप्पल, लुब्रिकेन्ट्स उद्योगहरू धमाधम खुल्ने क्रममा रहेको बताएका हुन् । त्यस्तैगरी, मेचीनगर भारत, भूटान र बङ्गलादेशसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध भएको व्यापारिक नाका भएकोले यहाँ पाँचतारे होटल र क्यासिनो खुल्ने क्रम चलिरहेको छ । मेचीनगर–७ मा मेची क्राउन नामक पाँचतारे होटलको निर्माण अन्तिम चरणमा रहेको छ । काँकरभिट्टा, धुलाबारी, चारआली लगायतका बजारमा सनराइज, कन्काई, एक्सेल, प्रभु, एनआइसी एसिया, माछापुच्छे सिद्घाथर्, ग्लोबल आइएमई लगायतका बैङ्कका शाखा छन् । बैंकहरूले उद्योगमा लगानी प्रवर्धन गरिरहेका छन् । रासस
ग्रील तथा स्टील ब्यवसायी संघको साधारण सभा सम्पन्न
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ काठमाडौं कपनको तेश्रो साधारण सभा साउन २५ गते सम्पन्न भएको छ । उक्त सभाको उद्घाटन अध्यक्ष मोहन कटुवालले गरेका हुन् । कार्यक्रममा अध्यक्ष मोहन कटुवालले देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उधोग ब्यवसायीहरुलाई सरकारले ल्याएको न्युनतम परिश्रमिकलाई कार्यान्वयन गर्न समेत आग्रह गरे । सामाजिक सुरक्षा कोष र अनिवार्य प्यान लिने बिषयमा सम्बन्धित मन्त्रालयहरुसंग साना उधोगीहरुले सहज किसिमले लागु गर्न उपयुक्त वातावरण बनाई दिन केही समयको माग भैरहेको बताउदैं सबैले आफनो क्षेत्रमा तयार रहन आग्रह गर्दै ग्रील तथा स्टील ब्यवसायीहरुका समस्या समाधानको लागि महासंघ लागिरहेकोे उल्लेख गरे । उक्त कार्यक्रमका सधापति एवं ग्रील तथा स्टील ब्यवसाय संघ कपन एकाईका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले हालैं सरकारले ल्याएको सामाजिक सुरक्षा कोष र कर्मचारीहरुको प्यान कार्ड बनाई बंैक मार्फत तलब दिन तत्काल नसकिने बताए । साथै, ग्रील तथा स्टील ब्यवसायीहरुलाई त्यसबारेमा सुसुचित गरेर मात्र सहभागी गराउन सकिने भएकोले कम्तीमा १ वर्षको समय थप्ने ब्यवस्था मिलाउन समेत आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कटुवालले उत्कृष्ट ग्रील उधोगीहरुलाई सम्मान गरेका थिए भने ब्यवसायीहरुलाई ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य र भ्याट प्यान सम्बन्धि वृतचित्र सहित संक्षिप्त जानकारी गराएका थिए ।
४ सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गर्यो कारवाही
काठमाडौं । गुणस्तरीय उत्पादन नगर्ने र नीति नियम नमान्ने चार कम्पनीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । तीन ओपिसी सिमेन्ट, एक पिपिसि सिमेन्टमा उद्योगले गुणस्तरहीन उत्पादन गरेकाले विभागले कारवाही गरेको हो । मोरङमा रहेको रहेका नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि, भैरहवामा रहेको नेपाल अम्बुजा सिमेन्ट उद्योग, सुनसरीको जानकी सिमेन्ट ई प्रालि र परासीमा रहेको चितवन सिमेन्ट उद्योगलाई विभागले कारवाही गरेको जनाएको छ । कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।