आठ इँटा उद्योगमा डोजर लगाउन नगरपालिकाले दियाे निर्देशन, ९० कराेड नाेक्सान
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति भएको आरोप लगाउँदै त्यस कार्यको भर्सर्ना समेत गरेको छ । सरकारले उद्योग प्रतिष्ठानको विकास, प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा उल्टो डोजर लगाएर व्यक्तिगत सम्पत्ति नोक्सानी पुर्याउने, उद्योगी व्यवसायीलाई मानसिक रुपमा यातना दिने कार्य गरेकाले यसको छानविन गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकाय समक्ष महासङ्घले माग गरेको छ । त्यस्तै पछिल्लो समयमा काठमाडौँको चन्द्रागिरि नगरपालिकालेसमेत आफ्नो क्षेत्रभित्रका इँटा उद्योग सञ्चालनमा रोक लगाउन पत्र काटिसकेको भन्दै यसले संवैधानिक हक हननको घटना बढाएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परम्परागत भुस्से इँटा बनाउन छोडेर आधुनिक प्रविधि प्रयोग गर्दै आएको र यसबाट वायु प्रदूषण कम गर्न योगदान पुर्याउँदै आएको जनाइएको छ । महासङ्घले इँटा व्यवसाय विद्यमान कानूनको विधि र प्रक्रियाअनुसार दर्ता भएका, कर तिर्ने गरेका र सामाजिक उत्तरदायित्वका कामसमेत गर्दै आएकाले ती देशका जिम्मेवार व्यवसायी भएको उल्लेख गरेको छ । रासस
मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौताले लक्षित गरेको छ । यस सम्झौतामा व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ । साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० वर्ष उमेरका व्यवसायीहरु यो सम्झौताबाट लाभान्वित हुने मेगा बैंकको विश्वास छ । यसैगरी, मेगा बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
घट्यो चिया निकासी
इलाम । विदेशबाट नेपाल आयातित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा घटेको तथ्याङ्कले देखाएको छ । देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४/७५ को भन्दा २०७५/७६ मा एक दशमलब पाँच प्रतिशतले घटेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्याङ्कअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ केजी चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ केजी निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ । सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुनेलगायत समस्या भएकाले चिया निकासी घटेको चिया उद्यमी उदय चापागाईं बताउँछन् । “सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याएकाले पनि चियामा नैराश्यता बोध भएको हो”, चापागाईंले भने, “आन्तरिक खपत बढेकाले पनि निकासी घटेको हुन सक्छ । सरकारले प्राङ्गरिक चिया प्रवद्र्धन गर्न नसक्नु र चिया किसान–श्रमिकलाई प्रोत्साहित गर्न नसक्नाले पनि यो समस्या भोग्नुपरेको हो ।” उनका अनुसार गुणस्तरीय चिया उत्पादन गरेमा बाहिरी खपत बढ्ने र आम्दानीसमेत बढ्ने देखिन्छ । नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसी उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार ६७० मेट्रिक टन, २२० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ । रासस