एफएनसीसीआई निर्वाचनको माहोल तात्यो, उम्मेदवार प्रचारप्रचारमा व्यस्त, ढकालकाे टोली पश्चिम नेपाल पुग्यो

काठमाडौं । आगामी मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगमी निकै बढेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदमा उम्मेदारी दिएका व्यवसायीहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरुले जित सुनिश्चित गर्नको लागि विभिन्न उद्योगी व्यवसायीहरुसँगको भेट तथा चुनावी प्रचारप्रसार बढाएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवारचन्द्र प्रसाद ढकाल चुनावी प्रचार प्रसारकै लागि सुदूरपश्चिम पुगेका छन् । पूर्वको ताप्लेजुङ देखि पश्चिमको दार्चुला सम्मका व्यवसायीहरु सहभागि चुनावी प्रचारप्रसार अभियान धनगढीबाट सुरु भएको छ । चुनावी प्रचारप्रसारको अभियान नेपालगन्ज ,बुटवल पोखरा हुदँै काठमाण्डौ सम्म पुग्ने बताइएको छ । आफ्नो जित सुनिश्चित गर्नको लागि उनी सुदूरपश्चिमका व्यवसायीहरुसँग भेटघाट तथा चुनावी प्रचारप्रसार गर्न धनगढी पुगेका हुन् । कैलालीको धनगढीमा चुनावी प्रचारप्रसार सभालाई सम्बोधन गर्दै ढकालले आफु वरिष्ठ उपाध्यक्षमा विजयी भए जिल्ला नगर, प्रदेश र केन्द्रका समस्यालाई समाधान गर्न तम्तयार रहेको र सदैव व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने गर्दै आएको समेत बताए । उनले सानादेखि ठुला उद्योगी व्यवसायीहरुका समस्यालाई राज्यसंगको सहकार्यमा नितिगतरुपमा निर्णय गराएर अगाडि बढने समेत बताए । ‘मैले महासंघमा लागेदेखिनै उद्योगी व्यवसायीका समस्याहरु बुझ्दै आएको छु, ती समस्या समाधान गर्नको लागि पनि लामो समयदेखि पहल गर्दै आएको छु, अझै पनि तपाईँहरुले विश्वास गरेर मलाई जिताउनु भयो भने, धेरै काम गर्न म तयार छु,’उनले भने । यस्तै उद्योग वाणिज्य महासघंका पुर्व अध्यक्ष चण्डी राज ढकालले ढकालको प्यालनले नै महासंघमा राम्रो काम गर्ने सक्ने दावी गरे । उनले ढकालको प्यानल बिजयी भए जिल्ला नगरका उद्योगी व्यवसायीका समस्याहरु समाधमान हुने पनि विश्वास दिलाए । कार्यक्रममा बोल्दै जिल्ला नगरका उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीले देशको वर्तमान अवस्थासगं महासघं हातेमालो गर्न तयार रहेको बताए । उनले जिल्ला नगरका समस्यालाई सम्बोधन गर्न आफु दिनरात लागि पर्ने बताए । चुनावी सभामा कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्पराज कुवरले प्रदेशबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा समेत गरेका छन् ।

‘लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको हाे’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी नदिएको सम्बन्धमा छलफल गर्न उपस्थित भएका मन्त्री भट्टले कोभिडको समयमा उद्योगीहरुलाई कारबाही गरी हतोत्साही पार्न नसकिएको बताएका हुन् । चिनी उद्योगलाई बचाउने वा रुग्ण घोसित गरी असुल उपर गर्ने दुई विकल्प मात्रै भएपनि किसान तथा श्रमिकलाई भुक्तानी नदिने उद्योगीहरुलाई अहिलेको अवस्थामा हतोत्साही गर्ने गरी कारबाही गर्न नहुने बताएका हुन् । ‘श्रीरामको सन्दर्भमा उसले के भन्यो भने मैले अन्यबाट सकिन्न यो १० बिगाहा विक्री गर्न पायो भने मन्त्रालयले दिएका चार वटा सर्तहरु मैले पालना गर्छु, भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गर्दिनु पर्यो भनेर उसले निवेदन दिइसकेपछी हामीले सिफरिस गरिदिएको हो । अब हाम्रो उद्योग मन्त्रालयबाट गर्नुपर्ने कुरा के हो त भन्दा उनको अन्यत्र जायजेथा छ भने त्यहाँबाट असुलउपर गर्ने, थुनुवा गर्ने हो । त्यसले अहिले लगानी भित्र्याउन खोजिराखेका छौं अझ कोभिडको यो परिस्थितिमा उद्योगी व्यवसायीहरुलाई भित्रै हालेर त्यसको अन्य जायजेथाबाट असुलउपर गरेपछि लगानी आउँछ की आउँदैन, देश औद्योगिकरण तिर जान्छ की जाँदैन भन्ने अलि हामीलाई दुविधा भएको हो । कसैलाई छुट दिने भन्ने कुरो होइन् ।’, उनले भने । मन्त्रालयले चिनी उद्योगहरुलाई बचाउने गरी बस्तुवादी वैज्ञानिक निकास दिन निरन्तर छलफल गरिरहेको पनि मन्त्री भट्टले बताए । कोभिड महामारीको समयमा त्यसैपनि उद्योगी व्यवसायीहरु मारमा परेको अवस्थामा कुनैपनि उद्योगलाई कारबाही गर्दा नराम्रो सन्देश जाने भएकाले तत्काल कारबाही गर्न उचित नहुने उनको भनाई छ । तर चिनी मिलहरुले उखु किसानलाई भुक्तानी दिन नसकेको समस्यालाई मन्त्रालयले गम्भिर रुपमा लिई समाधानका लागि उद्योगीहरुसँग निरन्तर छलफल गरिराखेको पनि उनले बताए ।

साढे ३ करोडको लगानीमा केरा पकाउने च्याम्बर सञ्चालन, एक दर्जन पकाउन ५ रूपैयाँसम्म लाग्ने

टीकापुर । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०/३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ । उद्योगले यतिखेर परीक्षण गरिरहेको छ । साढे ३ करोडको लगानीमा उद्योग सञ्चालन भएको उद्योगका प्रबन्ध निर्देशक वीरेन्द्र ढुङ्गानाले जानकारी गराए । उद्योगमा रानी जमरा सिँचाइ आयोजनाले एक करोड ९० लाख आठ हजार ५ सय ९१ रूपैयाँ अनुदान सहयोग गरेको छ । ‘‘केरा पकाउन विषादीको प्रयोग हुने गरेको थियो अब उपभोक्ताले विषादी रहित च्याम्बरमा पकाएको स्वस्थ केरा खान पाउने भएका छन्’’, उद्योगका निर्देशक ढुङ्गानाले भने, ‘‘थोरै केरा उत्पादन गर्ने कृषकलाई पनि प्रत्यक्ष लाभ हुन्छ ।’’ उनले च्याम्बरमा १६ देखि २३ डिग्री सेल्सियस तापक्रममा चार दिनमा केरा पकाउने सकिने बताए । ‘‘टीकापुर क्षेत्रमा उत्पादन हुने सबै केरा च्याम्बरमा पकाएर बिक्री गर्ने वातावरण मिलाउँदैछौँ, एक दर्जन केरा पकाउन ३ देखि ५ रूपैयाँ खर्च लाग्छ’’, ढुङ्गानाले भने, ‘‘च्याम्बरमा माइनस दुई डिग्री सेल्सियससम्मको व्यवस्था भएकाले कोल्ड स्टोरकारुपमा पनि प्रयोग गर्छौं ।’’ उहाँले आँप, गोलभेडा र मेवा पनि पकाउनुका साथै उत्पादित तरकारी भण्डारण गर्न पनि सकिने भएकाले च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्ने योजना बनाएको बताए । कर्णाली कृषि सेवा प्रालीको नाममा सञ्चालित च्याम्बर सञ्चालनमा आएपछि केरा खेती गर्ने किसान र उपभोक्ता खुसी भएका छन् । ‘‘सञ्चालन भएपछि उपभोक्ता, केरा उत्पादक र व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्छ’’, केरा उत्पादक किसान टेकेन्द्र धामीले भने, ‘‘विषादीको युग समाप्त भएको मान्नुपर्छ र साना किसानलाई बजारको समस्या हुँदैन, अर्कोतर्फ व्यापारी पनि ठगिने समस्या हट्छ ।’’ ‘‘च्याम्बरमा पकाएको केरा एक हप्तासम्म टिक्छ भने विषादी प्रयोग गरेको केरा ३/४ दिनसम्म मात्र टिक्छ’’, धामीले भने, ‘‘ च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्न बजारको खोजी गर्नुपर्छ ।’’ पछिल्लो समय टीकापुर क्षेत्रलाई केराको पकेट क्षेत्रकारुपमा विकास गर्न थालिएको छ । यहाँ करिब ७ सय हेक्टर जग्गामा केरा खेती हुने गरेको छ । यहाँ उत्पादन भएको केरा देशका विभिन्न जिल्लामा बिक्री हुने गरेको छ । रानी जमरा कुलरिया सिँचाई आयोजना कृषितर्फका प्रमुख भरत कँडेल च्याम्बर सञ्चालनपछि किसानलाई मात्र नभइ उपभोक्ताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताए । ‘‘मानव स्वास्थ्यमैत्री ग्याँस प्रयोगबाट केरा पकाइने भएकाले यसमा पकाइएको केरा स्वास्थ्यका लागि फाइदाजनक छ’’, कँडेलले भने, ‘‘च्याम्बरमा आवश्यकताअनुसार केरा छिटो र ढिलो पकाउन सकिन्छ ।’’ रासस