किसान पाइप प्रडक्टस् टोलीले गर्याे जापानमा ७ दिने औद्योगिक भ्रमण
काठमाडौं । किसान पाइप प्रडक्ट स्प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् । जापानको ख्याती प्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी” उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रडक्टस्ले नेपालमा किसान ब्राण्डको सीपीभीसी उत्पादन थालेपछि नेपाली टोलीजापानको औद्योगिक भ्रमणमा गएको हो । ७ दिन लामो अवलोकन भ्रमणमा उद्योग अवलोकन, डुरास्ट्रिम सीपीभीसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्राण्डिङ, बजारिकरणबारे जानकारी लिएका थिए । नेपाली टोलीले डुरास्ट्रिम सीपीभीसीप्रडक्सन टिमसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा सेकिस्यु इसीपीभीसी (स्पेसियालिटी प्रडक्टस्)जनरल म्यानेजर योरीताकायामा उचीले आफ्ना प्रडक्टको बारेमा जानकारी दिएका थिए। उनले सेकिस्युइ सीपीभीसी विश्वमा नम्बर वान सीपीभीसी कम्पाउण्ड म्यानुफ्याक्चरर कम्पनी कसरी बन्यो भनेर प्रस्तुतिकरण गरेका थिए । भ्रमणको क्रममा नेपाली टोलीले सेकिस्युइको लामो इतिहास झल्कने संग्रहालयको पनि अवलोकन गरेका थिए। किसान पाइप प्रडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाली टोलीले जापानी टिमलाई ढाका टोपी, ढाकाको खादा लगाएर थान्का उपहार प्रदान गरेका थिए । जापानिजहरुले नेपाली पोशाक र नेपाली थान्कालाई निकै मन पराउने गर्दछन् । भ्रमण टोलीमा सहभागी डिलरहरुले जापान भ्रमण निकै फलदायी भएको बताएका छन् । जापानी उत्पादनहरु गुणस्तरीय हुन्छ भन्ने कुरा पहिलैदेखि सुनेको तर कसरी गुणस्तरीय सामान बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजारिकरण गर्ने बन्ने बारेमा महत्वपूर्ण सिकाइ भएको उनीहरुले बताएका छन् । महेन्द्र नगरका वितरक तेज खड्काले डुरास्ट्रिम सीपीभीसी बनाउँदा सेकिस्युइले प्रयोग गरेको प्रविधिनि कै राम्रो भएको बताए । उच्चस्तरको प्रविधिले डुरास्ट्रिमको ताप वहन क्षमता अरु पाइपको तुलनामा तीन गुणा बढी रहेको उनले बताए । राप्तीका वितरक सुमन श्रेष्ठ डुरास्ट्रिम ब्राण्ड साँच्चिकै सबैभन्दा उत्कृष्ठ ब्राण्ड रहेको महसुस भएको बताए । उच्चस्तरको प्रविधिको प्रयोगसहित गुणस्तरीय उत्पादनमा सेकिस्युइ र किसान प्रडक्टस्बीच साझेदारमा उत्पादन शुरु भएकोमा उनी निकै उत्साहित देखिन्छन् । पोखराका ज्ञानेश्वरराज श्रेष्ठ किसान प्रडक्टस्ले जापानको उत्कृष्ट कम्पनीसँग साझेदारी गरी गुणस्तरीय उत्पादन बजारमा ल्याएकोले नेपालमा किसान सीपीभीसीले उपभोक्ताको विश्वास छिट्टै जित्ने उनले बताए । अवलोकन भ्रमणपछि किसान पाइप प्रडक्टस्का उत्पादनको गुणस्तर उपभोक्तालाई बुझाउन सजिलो हुने उनको भनाई छ । भ्रमण टोलीमा किसान पाइप प्रडक्टस्का अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रबन्ध निर्देशक अजयकुमार पाण्डे, सञ्चालकहरु भीमलाल पौडेल र राजेन्द्र माडवारी सहित ८ जना किसानका डिलर प्रतिनिधि सहभागी थिए ।
साधारण सेयर निष्काशनबाट पछि हट्दै अर्घाखाँची सिमेन्ट, सर्वसाधारण ठगिने चिन्तामा प्रमाेटर
काठमाडौं । भैरहवास्थित अर्घाखाँची सिमेन्ट, श्रीस्टील र एशिएन कंक्रिट उद्योग अवलोकन भ्रमणमा काठमाडौंबाट ३४ जना आर्थिक पत्रकार सहभागी थिए । भैरहवाका स्थानीय पत्रकारसहित करिव ४० जनाको टोलीले अर्घाखाँची उद्योग परिसर अवलोकन गर्यो । साँझ होटलको हलमा पत्रकारसँग अन्तरक्रिया शुरु भयो । सञ्चालक पशुपति मुरारकाले शुरुमा नै भने–‘भन्नै पर्ने नयाँ कुरा केही छैन । हामीले ७ वर्षअघि भारतीय लगानीमा सञ्चालित डाइनेष्टिक सिमेन्ट उद्योग लियाैं । २ वर्षपछि प्रतिदिन ७ सय टन सिमेन्ट उत्पादन थाल्यांै । अहिले उद्योगको क्षमता वृद्धि गरेर दैनिक ३ हजार टन गर्न सक्ने भएका छौं ।’ उनले पत्रकारहरुसँग केही खुशीको कुरा सुनाए र केही निराशा पनि व्यक्त गरे । ‘स्वदेशी लगानीमा चलेको उद्योग मध्ये अर्घाखाँची सबैभन्दा ठूलो उद्योग हो । यसको गुणस्तर पनि उत्तिकै राम्रो छ । यति ठूलो उद्योग सञ्चालन गरेकोमा गर्व पनि लाग्छ’ मुरारकाले खुशी बाँडे । तर उनले खुशी भन्दा संघर्ष, चुनौतिका विषयमा धेरै कुरा गरे । ‘उद्योग चलाउन धेरै गाह्रो छ । बजारको माग भन्दा करिव दोब्बर उत्पादन क्षमताका उद्योग आएका छन् । आपूर्ति वृद्धिले सिमेन्टको मूल्य घटिरेको छ । सबै उद्योग टिक्ने सम्भावना छैन ।’ प्रतिस्पर्धा गर्न आफ्नो उद्योग सबल रहेको तर्क पनि गरे । ‘हामी पुरानो उद्योग हौं । नयाँ उद्योगको तुलनामा हाम्रो उद्योग निर्माण लागत कम छ । अहिले उत्पादन मूल्य घटेकोले खर्च कटौतिमा हामीले जोड दिएका छौं’ उनले भने । सिमेन्ट उद्योगको उत्पादन लागत घटाउन सरकारले सहयोग नगरेको तर्क छ । ‘पैसा लगानी नगरे पनि यो उद्योगको एउटा मुख्य साझेदार सरकार हो । किनकी नाफामा २५ प्रतिशत कर सरकारले लिन्छ । आयकर बाहेक भ्याट, स्थानीय कर, रोयल्टी धेरै शिर्षकमा सरकारले कर लिएको हुन्छ’ उनले भने–सरकारले पनि आफ्नो उद्योगको रुपमा लिनु पर्ने हो तर उद्योग प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच सरकारी निकायहरुमा छैन ।’ उद्योग चलाउन आवश्यक विजुली पनि नपाएको गुनासो उनले गरे । ‘हामीलाई २० मेगावाट विजुली किन्छौ भनिरहेका छौं । विद्युत प्राधिकरणले १० मेगावाट मात्र दिएको छ । १० मेगावाट विद्युत अहिले पनि डिजेलप्लान्टबाट प्रयोग गरिरहेका छौं’ उनले सिलसिलेबार दुःखका कुरा सुनाए । ‘खानीसम्मको पहुँच मार्ग निर्माण उद्योग आफैले गर्नु परेको छ । उद्योगमा विजुली जोड्न ट्रान्समिसन लाईन आफैले बनाउनु परेको छ । कोइलामा ढुवानीको लागत ज्यादै धेरै छ । त्यसलाई कम गर्न पनि सरकारबाट सहयोग पाएका छैनौं । विद्युत प्राधिकरणले जति मूल्यमा भारतमा विजुली निर्यात गरेको छ त्यति मूल्यमा हामीलाई विद्युत दिन माग गर्दा पनि सरकारले हाम्रा कुरा सुनेन ।’ हाल प्रतिदिन ८ हजार टन सिमेन्टको माग भएको तर दैनिक उत्पादन क्षमता १६ हजार टन पुग्न लागेको जानकारी दिदै मुरारकाले सिमेन्टको माग वृद्धि गर्न दुई वटा विकल्प सुझाए । ‘विटुमिन सडक बनाउन छोडेर संक्रिट सडक बनाउने हो भने सिमेन्टको माग पनि बढ्छ । सडकको टिकाउ पनि ४० वर्षसम्मको हुन्छ । वैदेशिक व्यापार घाटा कम गर्न पनि सहयोग पुग्छ’ उनले भने । उनका अनुसार दोस्रो विकल्प निर्यात हो । निर्यातको लागि गुणस्तरको विषयमा अस्पष्टता रहेको उनले आंैल्याए । ‘नेपाली सिमेन्ट चीन वा बंगलादेश निर्यातको सम्भावना छैन । भारतको विहार, उत्तर प्रदेश र वेष्ट बंगालमा निर्यात गर्न सकिन्छ । भारतमा निर्यात गर्नको लागि भारतीय स्ट्याण्डर्डमा उत्पादन हुनुपर्छ । नेपाल र भारतमा फरक फरक स्ट्याण्डर्ड भए भने निर्यात गर्न सकिदैन’ उनले भने । साधारण निष्काशन विषयमा दुविधामा अर्घाखाँची सिमेन्टको सेयर सर्बसाधारणको लागि सेयर निष्काशन गर्ने कि नगर्ने भन्ने विषयमा दुविधा भएको मुरारकाले बताए । ‘पहिला हामी साधारण सेयर जारी गर्न तयार भएका थियौं । तर अहिले सर्वसाधारणमा सेयर निष्काशन गर्यो भने पब्लिकका लागि ठग्ने नियत राखेको जस्तो हुन सक्छ’ उनले भने–‘क्षेत्रगत रुपमा सिमेन्ट उद्योगको अवस्था राम्रो छैन । सिमन्ट उद्योगको भविष्य म राम्रो देख्दिन ।’ उत्पादन मुलक उद्योगले पब्लिकमा शेयर निष्काशन गरेर राम्रो उदारहण सेट नसकेको समेत बताए । साथै, उनको भनाई उद्योग घाटामा जाँदै छ भन्नेमा नै केन्द्रीत थियो । ‘कम्पनी घाटामा जान लाग्यो भनेर शेयर निष्काशन नगर्ने खोजिएको हो कि बढी नाफा भएकोले नाफा बाँड्न नचाहेकोले शेयर निष्काशन गर्न नखोजेको हो’ नयाँ प्रश्न उठ्यो । ‘पहिला धेरै नाफा भएकोले शेयर निष्काशन गरिएन, अहिले घाटा हुने डरले निष्काशन गर्न नचाहेको हो ।’ उनको जवाफसँगै हलमा हाँसो गुञ्जियो । मुरारकाका अनुसार यस उद्योगमा करिव ७ सय करोड रुपैयाँ लगानी भएको छ । गत वर्ष कम्पनीको कुल कारोबार एक हजार करोड रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षमा कारोबार कम हुने उनले बताए । ‘उद्योग पूर्ण क्षमतामा चलाउन सकिएको छैन’ उद्योगका प्रबन्ध निर्देशक राजेश अग्रवालले भने–‘तीन सिफ्टमा उत्पादन क्षमताको ७० प्रतिशतभन्दा बढी उत्पादन भएपछि मात्र कम्पनी नाफामा जान्छ ।’ हाल उद्योगको क्षमताको ५० प्रतिशतभन्दा कम उत्पादन भईरहेको उनले बताए । ‘पहिला हरके वर्ष १८/२० प्रतिशतले बजार बढेको थियो । दुई तिहाइको सरकार आएपछि निर्माण सामाग्रीको बजार कम्तिमा ३० प्रतिशतले बढ्छ भन्ने हाम्रो अनुमान थियो । तर स्थायी सरकार आएपछि निर्माण क्षेत्रमा झन् कम काम भयो । निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी थपिए, माग बढेन’ उनले भने । भट्टीेबाट विजुली उत्पादन कम्पनीले सिमेन्ट उद्योगको भट्टिबाट निष्कने तातोहावालाई वास्पिकरण गरेर उर्जा परिवर्तन गरेको छ । अर्घाखाँची उद्योगलाई वातावरणमैंत्री बनाउन महत्वपूर्ण कार्य गरेको उनले बताए । ‘अहिले एक मेगावाट उत्पादन भएको छ । उद्योग पूर्ण क्षमतामा चल्दा साढे दुई मेगावाटसम्म विजुली उत्पादन हुनेछ’ मुरारकाले भने ।
दर्ताबिना दाङमा मात्रै साढे ६ हजार उद्योग सञ्चालन
काठमाडौं । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेसमेत उनको भनाइ छ । “दाङमा उद्योगको हामीले तथ्याङ्क सङ्कलन गरेका छौँ”, उनले भने, “तीमध्ये अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ, यी उद्योगलाई मापदण्डमा ल्याउनुपर्छ ।” दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा धेरै उद्योग रहेका छन् । घोराहीमा मात्रै रहेका ५ हजार २१९ प्रतिष्ठानमध्ये ३ हजार ८० वटा दर्ता भएर सञ्चालन गरेको पाइएको छ भने २ हजार १३९ राज्यका निकायमा दर्ता हुन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ३ हजार ६८८ रहेका छन् । जसमा १ हजार ९७७ मात्र दर्ता भएका छन् भने १ हजार ७११ दर्ता नभएको पाइएको छ । लमही नगरपालिकामा १ हजार ३४३ उद्योग रहेकोमा ७६२ दर्ता भएका छन् भने ५८१ दर्ता नभएको पाइएको छ । त्यस्तै बङ्गलाचुली गाउँपालिकामा ३८७ प्रतिष्ठानमध्ये १५६ दर्ता भएको र २३१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । शान्तिनगर गाउँपालिकामा ४७४ प्रतिष्ठानमध्ये १७९ दर्ता भएका र २९५ दर्ता भएका छैनन् । बबई गाउँपालिकामा ५०४ प्रतिष्ठानमध्ये २०४ दर्ता भएको र ३०० प्रतिस्ठान दर्ता नभएका रहेका छन् । दगीशरण गाउँपालिकामा ३६० प्रतिष्ठान रहेकोमा १३२ वटा दर्ता भएका र २२८ दर्ता नभएका रहेका छन् । यसैगरी राप्ती गाउँपालिकामा १ हजार २१८ मध्ये ७९१ वटा दर्ता भएका र ४२७ वटा दर्ता नभएका रहेका छन् । गढवा गाउँपालिकामा ९०५ मध्ये ४८० वटा दर्ता भएका र ४२५ वटा दर्ता नभएका रहेका छन् । राजपुर गाउँपालिकामा ३२३ वटा प्रतिष्ठान रहेका छन् । जसमध्ये १४२ वटा दर्ता भएका र १८१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७० देखि २०७५ साल जेठसम्म ९ हजार १५९ उद्योग थपिएका हुन् । जिल्लामा विसं २०६० देखि २०६९ सम्म ३ हजार ६९७ वटा थपिएका थिए । त्यसैगरी विसं २०६० भन्दा अघि एक हजार ३५४ वटा स्थापना भएका थिए भने सञ्चालन मिति नै थाहा नभएका २११ वटा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस तथ्याङ्कले जिल्लामा आर्थिक विकास वृद्धि हुँदै गएको पाइएको प्रमुख पोख्रेलले बताए । रासस