वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान र ढकाल दुबै जना महासंघमा अट्नुपर्छ- अध्यक्ष भवानी राणा
काठमाडाैं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किशाेर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छिन् । दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताएकी छिन् । अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफुले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् । आफुले एकपटक फेरी दुवै उम्मेदवारलाई एकठाउँमा राखेर कुरा गर्ने समेत बताइन् । ‘अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अब निर्वाचनको समय पनि आयो । तिहार सिदिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।’, उनले भनिन् । महासंघको हितको लागि भएपनि दुवैजनाले त्याग गर्न सक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताइन् । ‘दुवै जनालाई एक पछि अर्को गरेर मिल्नको लागि आउनुस् भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरी एकचोटी अन्तिम प्रयास रहनेछ ।’, उनले थपिन् । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनका लागि किसोर प्रधान र चन्द्रप्रसाद ढकालले आ-आफ्नो प्यानल सहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो । पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।
महिलाले चलाएका व्यवसाय सफल बन्दै, थाेरै लगानीमा उल्लेख्य आम्दानी
काठमाडाैं । कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन् । आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन् । महिलाले सामूहिक र व्यक्तिगत रूपमा व्यवसाय गर्दै आएका छन् । स्थायी घर अर्घाखाँची रहनुभएका दिलु मगर वैदेशिक रोजगारीका लागि चार वर्ष लेबनान गइन् । घरेलु कामदारका रूपमा न्यून ज्यालामा काम गर्नुपरेको उनले सुनाइन् । नेपालमा नै केही गर्ने सोच बनाएर नेपाल फर्केकी मगरले घोराहीको भरतपुरमा रु १० लाख ५० हजार लगानीमा ‘अर्घाखाँची लेडिज कपडा पसल’ सञ्चालनमा ल्याएकी छन् । ‘‘लेबनानमा गएर घरेलु कामदार हुँदा धेरै दुःख पाइयो”, मगरले भनिन्, “काम कसरी गर्नुपर्छ भन्ने लेबनानले सिकायो । त्यहाँको ऊर्जालाई नेपालमा प्रयोग गरेँ । कपडा बिक्रीबाट मासिक रु ९० हजार आम्दानी हुने गरेको छ । ” मल्लरानी गाउँपालिका –३ चौरपानीका कमला गिरी र भूमा पौडेलको घोराहीमा २०७६ सालदेखि रु २५ लाख लगानीमा ‘नमूना सिलाइ तथा गार्मेन्ट’ उद्योग सञ्चालनमा छ । केही गर्नुपर्छ भन्ने सोचका साथ दुई मिलेर सिलाइ तथा गार्मेन्ट उद्योग खोली पाँच जनालाई रोजगारी दिइन् । उद्योगमा विद्यालय पोशाक, टिसर्ट, ट्रयाकसुट, शिक्षक र विद्यार्थीको पोशाक सिलाउने गरिएको र थप व्यवस्थापन गरेर उद्योग विस्तार गर्ने सोचाइमा रहेको पौडेलले बताइन् । बंगलाचुली–४की सीता पाण्डेले घोराही– १५ मा कुटानीपिसानी गर्नका लागि मिल सञ्चालन गरेर स्वरोजगार बनेकी छिन् । पिठो, चामल, दाल र मसला पिस्नका लागि खोलिएको मिलमा एक महिलालाई रोजगारी पनि मिलेको छ । सदरमुकाम बसाइँ सरेर व्यवसाय शुरु गर्नुभएको एक वर्ष भएको छ । रु २० लाख लागतमा शुरु गरिएको व्यवसायबाट उनले आम्दानी लिन शुरु गरिसकेकी छन्। “यति नै आम्दानी हुन्छ भन्न सकिन्न”, पाण्डेले भनिन्, “कुनै महिना राम्रो आम्दानी हुन्छ त कुनै महिना कम, औसतमा मासिक रु ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।” उनलाई व्यवसायमा श्रीमान् रुद्रप्रसादले सहयोग गर्दै आइरहेकी थिइन् । घोराही– १५ निवासी माधवी डिसीलाई सिलाइकटाइले आत्मनिर्भर हुने अवसर मिलेको छ । कपडा सिलाउने काम गर्दा समय पनि सदुपयोग हुनाका साथै आम्दानीको गतिलो आधार भएको छ । विसं २०६९ मा सरकारले ल्याएको ‘युवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय सहकारीबाट रु एक लाख ऋण लिई दुई सिलाइ यन्त्र खरीद गरेर शुरु गरेको व्यवसायमा अहिले सात यन्त्र छन् । मासिक रु ७० हजारसम्म आम्दानी गरिँदै आएको र व्यवसायबाटै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र अन्य काम गर्नलाई सजिलो भएको उनी बताउँछिन् । घोराही –२ रामपुरकी पुष्पा पोख्रेलले सहकारी र महिला समूहबाट रु तीन लाख कर्जा लिई पाँच वर्षदेखि ‘पोख्रेल गाई फर्म’ सञ्चालनमा ल्याएकी छिन् । घाँसखेतीका लागि छ कट्ठा जमीन वार्षिक रु २० हजार भाडामा लिई सञ्चालनमा ल्याएको फर्ममा अहिले जर्र्सी जातका ६ गाई छन् । दैनिक ६० लिटर दूध बिक्रीबाट मासिक रु ६० हजार आम्दानी गर्दै आएको उनी बताउँछिन् । घरेलु तथा साना उद्योग कार्यालय दाङमा पछिल्लो समयमा महिला उद्यमीको आकर्षण बढेको र साना तथा घरेलु र मझौला उद्योग महिलाका नाममा खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिइन् । उनका अनुसार यस आर्थिक वर्षमा कृषि तथा वनजन्य ९४, सेवामूलक ३३ र उत्पादनमूलक २१ उद्योग दर्ता भएको बताइन् । लुम्बिनी प्रदेश सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ उद्योग दर्ता भएका छन् । रासस
ढकाल समूह भन्छः जित सुनिश्चित छ, हामी भारी मतान्तरले विजयी हुन्छौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११ गतेदेखि १घ गतेसम्म हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको चन्द्र ढकाल समूहले दावी गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहले विभिन्न ठाउँमा हुने चुनावी समारोहमा आफूहरुको जित सुनिश्चित भएको बताउँदै आएका छन् । महासंघको विर्नाचनको क्रममा जिल्ला दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी तथा केन्द्रीय सदस्यहरुलाई प्रत्यक्ष रुपमा भेटेर भोट मागरिहेका छन । समारेहमा विभिन्न जिल्ला नगरका अध्यक्षहरुले पनि ढकालको समूहलाई ८० प्रतिशतभन्दा बढी मत दिलाएर विजयी गराउने प्रतिवद्धता जाहेर गरिरहेका छन् । ढकाल समूहको समर्थनमा धेरै जिल्ला नगर अध्यक्षहरु रहेका छन् । धेरै जिल्ला नगरका अध्यक्षले ढकाललाई भोट हाल्ने खुला समारोहमै उद्घोष गरिसकेका छन् । नेपालको सुदूरपश्चितको धनगढीबाट सुरु गरेर १ नम्बर प्रदेशको धनकुटासम्म पुगेको ढकाल टीमलाई सबैजसो जिल्ला अध्यक्षले प्रत्यक्षरुपमा भेटगरी भारी मतले चुनाव जिताउन आफुहरु लागिपर्ने बताउँदै आएका छन् । चुनावी अभियानको क्रममा कात्तिक २० गते धनगढी पुग्दा ढकाल प्यानललाई स्वागत गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एउटै स्वतरमा भने ‘हामीले डेढ दशकपछि साना मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न सक्ने व्यक्ति पाएका छौं त्यसैले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प नरहेको बताएका थिए । सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० जिल्ला नगर अध्यक्षमध्ये ८ जनाले प्रत्यक्ष रुपमा उपस्थित भई जिताउन लाग्ने बताएका थिए । सो चुनावी साभामा अन्य प्रदेशका जिल्ला नगरका अध्यक्ष समेत गरी ३ दर्जनभन्दा बढी अध्यहरुको उपस्थिती रहेको थियो । यस्तै, ढकाल टीमको स्वागतमा नेपालगंजमा आयोजित कार्यक्रम महासंघको केन्द्रिय अधिवेशन वा विजय सभाभन्दा कम थिएन । नेपालगंजको झकिझकाउ सजावटबाट सिगारिएको सभाहलमा उपस्थित कणरली र ५ नम्बर प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले अब महासंघमा आफुहरुको प्रतिनिधित्व नै ढकालले गर्नेभन्दै जीतको अग्रीम बधाई दिएका थिए । ढकाल समूहले कत्तिक २७ गते १ नम्बर प्रदेशको भेडेटारमा गरेको चुनावी अभियानमा ५२ जिल्ला नगरका अध्यक्ष एवं प्रतिनिधिहरु उपस्थित भएका थिए । करिव २ दर्जन जिल्ला नगरबाट पूर्व अध्यक्ष तथा पदाधिकारीहरु प्रतिनिधित्व गर्दै ढकाल टीमलाई समर्थन गर्न उपस्थित भएका थिए । यसैगरी ५ नम्बर प्रदेशको वुटवलमा आयोजित कार्यक्रममा सो प्रदेशका सबैजसो जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले अबको महासंघमा ढकाल निर्विकल्प रहेको बताएका थिए । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीको आफ्नै प्रदेशमा आयोजित सो कार्यक्रमा जिल्ला अध्यक्षहरुले सानादेखि ठूलो व्यवसायसम्म सफल रुपमा संचालन गर्दै आएका ढकाल र जिल्ला नगरका हेरक समस्यासम्म जुध्दै आएका तिवारीको टीमलाई जिताउनु नै समग्र व्यवसायीको हित हुने बताएका थिए । यसैगरी ढकाल आफैले प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई एकछापे भोट हाल्ने भन्दै अन्य प्रदेशका अध्यक्षहरुलाई समेत उक्त टीमलाई दुई तिहाई भन्दा बढी भोट दिएर जिताउन आग्रह गरेका थिए । यस्तै, वागमती प्रदेशमा पनि कुल १६ मध्ये १२ ओटा जिल्ला नगरका अध्यक्षहरु उपस्थित भएर आसन्न निर्वाचनमा ढकाल प्यानलको विकल्प नरहेको बताएका थिए । चुनावी अभियानको क्रममा रहेको ढकाल समुहलाई १ नम्बर प्रदेशको भेडेटारमा स्वागत गर्दै सो प्रदेशअन्तर्गतका जिल्ला नगर अध्यक्षहरुले ढकाल नेतृत्वको टीमले आफ्ना व्यवसायीका समस्या समाधान गर्न सक्ने बताएका थिए । कार्यक्रममा उपस्थित सो प्रदेशका १७ ओटा जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानलसँग आफ्नो मन र एजेन्डा मिलेको भन्दै कुनै पनि शक्तिले सो समुहलाई पराजित गर्न नसक्ने उद्घोष गरेका थिए । चुनावी दौरानमा रुहेका ढकालको ठीमले जिल्ला नगरका अध्यक्षहरुबाट यस्ते खालको प्रतिवद्धता पाएपछि उत्साहित भएर जित सुनिश्चित भएको उद्धघोष गरेको हो । ढकाल समूहले भारी मतान्तरले विजय हुने पनि बताइसकेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल भिड्दैछन् । यतिखेर ढकाल र प्रधानको समूह चुनावी प्रचारप्रसारमा नै व्यस्त छ ।