१७ करोड ९० लाख बजेटमा शुरु भयाे उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आज देखि शुरु भएको छ । ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताए । यो परियोजनाले श्रम बजारको माग र आपूर्तिको व्यवस्थापनमा सघाउ पुर्याउने विश्वास गरिएको छ । यस्तै श्रम बजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा समेत यो परियोजना कोशेढुंगा हुने उनले बताए । त्यसबाहेक देशमा बेराजगारी दर घटाउन समेत सघाउ पुग्ने विश्वास अध्यक्ष राणाको छ । परियोजनाले मुलुकको औद्योगिक विकासमा सहयोग पुर्याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभुति दिलाउने छ । यो कार्यक्रम १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ बराबरको बजेटमा १४ महिनाका लागि लागू भएको हो । परियोजनाका साझेदार व्यवसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।
महासंघलाई दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छः सौरभ ज्योति
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक रहेको बताएका छन् । आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताए । त्यसका लागि नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता नेतृत्वसँग हुनुपर्ने ज्योतिले बताए । पछिल्लो समय निजी क्षेत्रसँग मानसम्मान र सुरक्षा केहीपनि नभएकोले त्यसलाई स्थापित गर्न सकेमात्रै देशको अर्थतन्त्रको विकास सम्भव हुने पनि उनले बताए । अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यववसाय नै भएकाले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि लडनुपर्ने बेला आएको पनि उनले बताए । त्यसका लागि आफु लगायत आफ्नो टीम सक्षम रहेको ज्योतिको भनाई छ । जुनसुकै नेतृत्व आएपनि निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लैजाने, रोजगारी सिर्जना गर्ने, उद्यमशिलताको विकास गर्ने र समग्र निजी क्षेत्रको हकहितको लागि लडने क्षमता राख्नुपर्ने ज्योतिले बताए । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले पनि योग्य नेतृत्वको आवश्यकता रहेको उनको भनाई छ । महासंघलाई व्यवसाय गर्ने थलो बनाउने व्यक्ति नभई आफ्नो स्वार्थ छाडेर समग्र निजी क्षेत्रको हितमा काम गर्न सक्ने व्यक्ति महासंघमा अटनुपर्ने उनले भने । सौरभ ज्योति किसोर प्रधान समूहबाट एसोसिएट्स सदस्य समुहको उपाध्यक्ष पदका उम्मेदवार छन् ।
दाङका क्रसर उद्योग बन्द गर्न निर्देशनः कपिलवस्तुका पनि मापदण्ड विपरीत
दाङ । जिल्लाका १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि ती उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह मन्त्रालयले गत कात्तिक २५ गते जारी गरेको परिपत्रअनुसार जिल्लामा सञ्चालित क्रसर उद्योग अनुगमन गर्दा १० क्रसर र ३२ बालुवा प्रशोधन उद्योग दर्ता भएकामा क्रसर उद्योग नियमसङ्गत सञ्चालन भएको पाइए पनि बालुवा प्रशोधनमा दर्ता भएकामध्ये १० उद्योगले क्रसर उद्योग सञ्चालन गरेको पाइएको जानकारी दिए । प्रजिअ आचार्यले १५ दिनभित्र बन्द नगरी अटेर गरेमा कानूनी कारवाही गरी दर्ता खारेज गरिने बताए । बन्द गर्र्न निर्देशन दिइएका उद्योगमा गणेश बालुवा वासिङ उद्योग, स्वर्गद्वारी स्किन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, केएण्डएस बालुवा प्रशोधन वासिङ उद्योग, मङ्गलम बालुवा प्रशोधन उद्योग छन् । त्यस्तै बगारबाबा बालुवा प्रशोधन उद्योग, पाण्डेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरि एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनमा जिल्ला प्रहरी, नापी, मालपोत, घरेलुलगायत कार्यालयका प्रतिनिधिको सहभागिता थियो । चन्द्रौटा– कपिलवस्तुमा रहेका क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको विवरणअनुसार २९ क्रसर उद्योग भए पनि अधिकांश उद्योग सरकारको प्रचलित मापदण्ड विपरीत सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सरकारले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर बन्द गर्न दिएको निर्देशनअनुसार अहिलेसम्म २० उद्योग अनुगमन गरिएको बताइएको छ । “शुरुमा अनुगमन गरेका छाँै, उद्योगको विवरणअनुसार दर्ता हुँदाको समयमा रहेका मापदण्ड पूरा नगरेका उद्योगलाई बन्द गराइने छ”, पौडेलले भने, “उद्योग कुन वर्षमा दर्ता भएको र त्यस समयमा कस्तो मापदण्ड थियो, भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।” कतिपयले बालुवा प्रशोधन भनेर दर्ता गरे पनि गिट्टी उत्पादन गरेकाले त्यस्ता क्रसरलाई तुरुन्त बन्द गरिने उनले बताए । जिल्लामा मुख्य सडक, खोला र शैक्षिक संस्था नजीकै क्रसर उद्योग सञ्चालनमा छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक, राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था, ठूला नदी, पुल, धार्मिकस्थल, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको पाँच सय मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउन कुनै कार्य गर्न पाइँदैन । जिल्लामा मापदण्ड विपरीत वनजङ्गल, नदी किनार, गाउँबस्ती र विद्यालय नजीकसमेत क्रसर सञ्चालन गरेको पाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत धेरै क्रसर उद्योग सडक, वनजङ्गल, खोला, नदी र गाउँबस्ती नजिक रहेकाले तिनका कागजात केलाउने काम भइरहेको बताइएको छ । रासस