उखु किसानकाे पैसा भुक्तानी हुने भएपछि सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिएका हुन् । सो मिलले किसानको करिब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । “किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।” रासस

कर्णालीमा जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापनाकाे पहल शुरु, सातै स्थानीय तहमा बोलपत्र आह्वान

जाजरकाेट । जडीबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालय, जाजरकोटले पहल शुरु गरेको छ । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारको अनुदानमा जाजरकोटका सातवटै स्थानीय तहमा यस्तो कार्य अगाडि बढाइएको हो । जडीबुटीको भण्डार मानिएको जाजरकोटमा डिभिजन वन कार्यालयले जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापनाका साथै उद्यम स्थापना गर्न लागिएको डिभिजन प्रमुख महेश कुमाईले जानकारी दिए । उनले भने, “जिल्लाका सातै स्थानीय तहमा उत्पादन, प्रशोधन र बजारीकरणका हिसाबले उपयुक्त खालको स्थानमा कार्यक्रम शुरु गर्न बोलपत्र आह्वान भएको छ ।” त्यस्तै सहरकारीमार्फत जडीबुटी खेती, भण्डारण, बजारीकरणसमेत गर्ने योजना रहेको छ । स्थानीय जडीबुटीको खेती तथा विस्तार भण्डारणसमेत गरिन लागेको कुमाईले बताए । जिल्लाका जडीबुटीको राम्रो सम्भावना भएको ठाउँमा पकेटका आधारमा खेती विस्तार गर्न लागिएको उनको भनाइ छ । त्यस्तै, भेरी नगरपालिका–१ मा घरबास कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेश सरकारले पर्यटकलाई आवासको सुविधा दिन घरबास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो ठाउँमा जनयुद्धको समयमा बमबारी गरेर दुई सयभन्दा बढी स्थानीयवासीको घर, टहरा जलाइएको थियो । सोही ठाउँमा अहिले सरकारले सञ्चालन गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँ घरबास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यस्तै, राष्ट्रिय वन विकास तथा व्यवस्थापनका लागिसमेत कार्यक्रम शुरु भएको छ । जिल्लाका सातवटा स्थानीय तहमा सञ्चालन हुने सो कार्यक्रमले दिगोपन, व्यवस्थापनका लागि सामुदायिक वनमार्फत कार्यक्रम गर्न लागिएको छ । सो कार्यक्रमबाट स्थानीय तहमा रोजगारी सिर्जना गरी स्थानीयवासीले लाभ लिने बताइएको छ । जिल्लाका सातैवटा स्थानीय तहसँग सहकार्य गरेर वन विकास तथा प्रवद्र्धनमा गति दिने उद्देश्यले काम थालिएको छ । वन नै जीवनको आधार भएकाले यसबाट आम्दानी लिन सकिने प्रशस्त ठाउँ हुँदाहुँदै पनि गतिशील योजना नहुँदा फाइदा लिन नसकेको अवस्थामा डिभिजन वन कार्यालयले सञ्चालन गरेको प्रगतिमुखी कार्यक्रमले स्थानीयवासी खुशी भएका छन् । तीन जिल्लामा संरक्षित क्षेत्र घोषणाको तयारी जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी त्यहाँका वन्यजन्तु संरक्षणका साथै स्थानीयवासीको पशुपालन व्यवसायलाई व्यवस्थित बनाउन कार्ययोजनाको अध्ययन पूरा भएको छ । जाजरकोटका साथै डोल्पाको तल्लो भाग मुड्केचुला गाउँपालिका र जुम्लाको आधा भागलाई जोडेर संरक्षित क्षेत्र बनाउनका लागि अध्ययन पूरा भएको हो । अध्ययन भई अहिले सो प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा छलफलका लागि तयारी अवस्थामा राखिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । संरक्षित क्षेत्र घोषणासँगै स्थानीयवासीले पशुपालन व्यवसाय गर्नका लागि विशेष ठाउँ र क्षेत्रमा आफ्नो कार्य अगाडि बढाउनेछन् । कर्णालीका १० जिल्लामा जडीबुटी जोन घोषणा हुँदै कर्णाली प्रदेशको १० जिल्लाका ४० वडामा जडीबुटी जोन घोषण गरेर काम शुरु गर्न लागिएको वन तथा वातावरणमन्त्रीको सचिवालयका उपसचिव गणेशविक्रम शाहीले जानकारी दिए । उनका अनुसार उत्पादन हुने ठाउँको अवस्थाका आधारमा खेती गरिनेछ । कर्णाली प्रदेश जडीबुटीको भण्डारका रूपमा परिचय स्थापित भएकाले यहाँ थप विकासका लागि यस्ता खालका कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अहिले जथाभावी सङ्कलन मात्र भएको तर संरक्षणमा ध्यान नदिइएको अवस्थामा जोन घोषणासँगै संरक्षण तथा संरक्षणलाई व्यवस्थित गर्न विशेष योजना बनाएको छ । रासस

साढे २० अर्ब लगानीमा ८ हजार उद्योग, ६ लाखलाई रोजगारी

काठमाडौं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासको लागि लगानी सम्मेलन मार्फत पनि नेपाल लगानी गर्न आग्रह गर्दै आइरहेको छ । उद्योग स्थापनाको लागि लगानीमैंत्री ऐन, कानुन, वातावरण, लगानीकर्तालाई सहजीकरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २० खर्ब ५४ अर्ब रुपैयाँको लगानीमा ८ हजार उद्योग दर्ता भएका छन् । स्थापित उद्योगहरुले ६ लाखलाई रोजगारी दिएका छन् । उद्योेग विभागका तथ्याङक अनुसार हालसम्म ठूला, मझौला, लघु, घरेलु तथा साना गरी ८ हाजार १ सय ४८ वटा उद्योग स्थापना भएका छन । ठूला उद्योगमा १८ खर्ब लगानी विभागका अनुसार १७ खर्ब ७८ अर्ब ४२ करोड ५० लाख रुपैयाँ लगानीमा १ हजार १ सय ४९ वटा ठूला उद्योग स्थापना भएका छन् । ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ३८ जनालाई रोजगारी दिएको विभागको तथ्याङक उल्लेख छ । मझौला उद्योगमा करिब २ खर्ब लगानी अहिलेसम्म नेपालमा १ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको लागतमा १ हजार ८ सय २२ वटा मझौला उद्योग स्थापना भएका छन् । मझौला उद्योगहरुले १ लाख ६६ हजार ६ सय ७४ जनालाई रोजगारी दिएको विभागको छ । साना उद्योगमा ८८ अर्ब लगानी विभागका अनुसार ८८ अर्ब ६९ करोड ९० लाख रुपैयाँको लागतमा ५ हजार १ सय ८८ वटा साना उद्योग स्थापना भएका छन् । साना उद्योगहरुले २ लाख ८३ हजार ७ सय ५२ जनालाई रोजगारी दिएको छ । कानुनी सुधार विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम भएको जानकारी दिएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु भएको वताएको हो । राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैत्री ऐन, ऊर्जाको पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको छ । यस्तै, पछिल्लो समय श्रम सम्बन्धमा आएको सुधारले पनि लगानीलाई आकर्षित गरेको छ । क्षेत्रगत उद्योग उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । पर्यटन, कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज तथा सेवामूलक उद्योगमा बढी आकर्षण देखिन्छ । विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै उत्पदनमूलक क्षेत्रका छन् । विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४ खर्ब ६० अर्ब ५२ करोड २० लाख रुपैया लगानीमा ३ हजार ५४ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ लाख २६ हजार ५ सय ५५ जनालाई रोजगारी दिएका छन् । सेवामुलक क्षेत्रमा १ खर्ब ५६ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लगानीमा २ हजार २ सय २० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले १ लाख २५ हजार २ सय ५ जनालाई रोजगारी दिएका छन् । सेवामुलककै पनि पर्यटन क्षेत्रसँग सम्बन्धित १ खर्ब ५६ अर्ब ३९ करोड ७० लाख रुपैयाँ लगानीमा १ हजार ८ सय २ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७१ हजार ५ सय ७६ जनालाई रोजगारी दिएका छन् । उर्जा क्षेत्रमा ११ खर्ब ६७ अर्ब १५ करोड १० लाख रुपैयाँ लगानीमा ३ सय ९९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३४ हजार ६ सय ७६ जनालाई रोजगारी दिएका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । परम्परागत रुपमा पनि कृषि व्यवसायमा संलग्न नेपालीको संख्या ठूलो छ । यो क्षेत्रमा २८ अर्ब १० करोड ९० लाख रुपैयाँ लगानीमा ४ सय ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३६ हजार १ सय ५० जनालाई रोजगारी दिएका छन् । सूचना तथा संचार क्षेत्रको विकास पनि गर्व गर्न लायक छ । अहिलेसम्म नेपालमा ४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ लगानीमा ७० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ४ हजार १ सय १ जनालाई रोजगारी दिएका छन् । खनिजमुलक उद्योगमा लगानी हेर्दा अहिलेसम्म ६ अर्ब ८८ करोड ३० लाख रुपैयाँ लगानीमा ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७ हजार २ सय ४ जनालाई रोजगारी दिएका छन् । निर्माण क्षेत्रमा काम गर्ने उद्योगको उपस्थिति पनि बलियो छ । उद्योग विभागका अनुसार अहिलेसम्म ४९ अर्ब ९२ करोड २० लाख रुपैयाँ लगानीमा ५८ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ हजार ८ सय १ जनालाई रोजगारी दिएका छन् ।