निर्माणको सिजनमै कसरी घाटामा रहे सिमेन्ट उद्योग ?: धुब्र थापाको विचार
विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसले सिमेन्ट उद्योगलाई पनि असर गरेको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा २ महिनासम्म सिमिेन्ट उद्योगहरु बन् अवस्थामा नै रहे । अहिले पनि मुलुकमा कोरोनाको महामारी बढ्दै छ । अघिल्ला वर्षहरुमा यो समयमा धेरै भौतिक संरचनाहरु निर्माण हुँदा सिमेन्टको माग पनि राम्रै हुन्थ्यो । तर अहिले निर्माणको काम ठप्प हुँदा सिमेन्टको माग पनि ह्वात्तै घटेको छ । सिमेन्ट दुई महिनाभन्दा बढी समय स्टोर गर्न नमिल्ने हुँदा पनि मूल्य घटेको हो । निर्माणको सिजन सुरु भएपनि विकास निर्माणका काम नहुँदा बजारमा सिमेन्टको माग छैन अहिले सिमेन्टको बजार २५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । ठूला परियोजना मात्र होइन कि नयाँ घर बनाउने काम पनि भएको छैन । बजारमा सिमेन्टको माग नभएपछि मूल्य पनि बढिसकेको छैन । सिमेन्ट उद्योगीहरुले परल मूल्यभन्दा ५/१० रुपैयाँ कममै बेच्नु परिरहेको छ । अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५५० देखि ६५० को हाराहारीमा बिक्री भइरहेको छ । अहिले नेपालमा सिमेन्टको वार्षिक कुल मागभन्दा उद्योगको उत्पादन क्षमता धेरै रहेको छ । बार्षिक एक करोड टन रहेको छ जबकी नेपाली सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता बार्षिक डेढ करोड टन पुगिसकेको छ । माग घटेपछि आपुर्ति पनि घट्छ नै । हामीसँग सिमेन्टको उत्पादन क्षमता धेरै छ । अहिले कोरोनाको काणले उत्पादन र माग पनि कम भएको छ । माग घटेको कारणले सिमेन्ट उद्योगहरुलाई ठूलो असर परेको छ । अघिल्लो वर्ष हामीले १० मिलियन टन सिमेन्ट उत्पादन गरेका थियौं । गत वर्ष ९ मिलियन टन उत्पादन गरेका थियौं । यस वर्ष ७÷८ मिलियन टन मात्र उत्पादन हुन्छ कि भन्ने हाम्रो अनुमान छ । बजारमा प्रतिष्पर्धा धेरै भएको कारणले पनि मूल्य घटेको छ । सिमेन्ट उत्पादन गर्ने उद्योगहरु पनि धेरै छन् । अहिले सबै फ्याक्ट्रीहरुले आफ्नो परल मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् । पहिले अभाव हुने क्लिकंर पनि अहिले प्रयाप्त छ । नेपाली सिमेन्ट उद्योगहरु सँग दैनिक ५० हजार टन उत्पादन गर्ने उत्पादन गर्ने क्षमता छ । तर, अहिले त्यसको आधा पनि माग छैन । नेपाल गुणस्तरको चिन्ह नपाउँदासम्म सिमेन्ट बिक्री गर्न पाइँदैन । नेपाल गुणस्तरको छाप लगाउनु नै त्यसको गुणस्तर भएको प्रमाण हो । गुणस्तर भएको सिमेन्ट सबैले राम्रो नै भन्नुपर्छ । आफुलाई चाहिने आवश्यकता र गुणस्तर अनुसार नै मानिसले प्रयोग गर्छन् । लकडाउन सुरु हुँदा अर्थात चैतमा हामीले कामदारलाई आधा तलब दियौं । त्यसपछि महिनामा पूरै तलब दियौं । सिमेन्ट क्षेत्रमा अहिले अलि बाहेक कामदार वेरोजगार भएका छैनन् । सिमेन्ट उद्योगहरुको शान्ती सुरक्षा, करमा सहज गर्यो भने केही समस्याहरु समाधान पनि हुन्छन् । सिमेन्ट निर्यात गर्न सकिने अवस्था हाम्रो सिमेन्ट विदेशमा निर्यात गर्न पनि सकिन्थ्यो । तर, हाम्रो सिमेन्ट महँगो छ । ट्याक्सदेखि हरेक कूरा महँगो छ । ढुवानी भाडा धेरै छ । हाम्रो लागत बढी नै छ । लागत बढी भएकोे हुनाले हाम्रो प्रतिष्पर्धा विदेशी उद्योगहरुसँग प्रतिष्पर्धी हुने अवस्था छैन । त्यस कारणले पनि विदेशमा सिमेन्ट निर्यात गर्न गाह्रो छ । यो व्यावसायीले मात्रै सोचेर हुने कुरा होइन त्यसको लागि सरकारनै गर्नुपर्छ । निर्यात गर्ने भनेपछि भन्सारको कुरा हुन्छ त्यसका लागि सरकारले निर्यात नीति बनाउनु पर्छ । आफ्नै क्लिंकर आफै उत्पादन गरेर अझै ठूलो मात्रामा सिमेन्ट उत्पादन गर्न सक्छौ । यसका लागि नीतिगत र व्यवाहरिक कठीनाई पनि छन् । हामीसँग विदेश निर्यात गर्नको लागि मूल्य, भाडा र करको कुरा मुख्य चुनौति हुन् । यो तीन कुरा सहज भयो भने नेपलबाट सिमेन्ट निर्यात गर्न सकिन्छ । (सिमेन्ट उत्पादक संघका अध्यक्ष थापासँग गरिएकाे कुराकनीमा आधारित)
मकवानपुर र धादिङमा औद्योगिक सर्वेक्षण शुरु
वाग्मती । प्रत्येक १० वर्षमा हुने ओद्यौगिक गणना अर्थात् सर्वेक्षण कार्य मकवानपुर र धादिङमा आजदेखि शुरु गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत रहेको जिल्ला तथ्याङ्क कार्यालय हेटौँडाद्वारा मकवानपुर तथा धादिङमा उक्त सर्वेक्षण प्रारम्भ भएको सो कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयका प्रमुख राजेश दासका अनुसार करिब १० महिनादेखि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको सर्वेक्षण कार्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ । सर्वेक्षणमा तथ्याङ्क कार्यालय मकवानपुर कार्यक्षेत्रअन्तर्गत पर्ने मकवानपुरका ३४० र धादिङका २१७ औद्यौगिक प्रतिष्ठान रहेकामा लकडाउनमा १४० प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिएको थियो । यसपटक बाँकी रहेका ४१७ प्रतिष्ठानको तथ्याङ्क सङ्कलन हुने छ । राष्ट्रिय अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारीको अवस्थालगायतका विविध पक्ष समेटेर सर्वेक्षण सञ्चालन गरिएको उनले बताए । केन्द्रीय तथ्याङ्क विभागको स्वीकृत कार्यक्रमअन्तर्गत गत फागुन १२ गतेदखि शुरु हुनुपर्ने सो कार्य कोरानाका कारण लकडाउनले स्थगित गरिएको थियो । दश वर्षको अन्तरालमा हुने सर्वेक्षण यसअघि २०६६ सालमा भएको थियो । दश जना कामदार भएको प्रतिष्ठानलाई मात्र सो सर्वेक्षणमा समावेश गरिन्छ ।
कैलाली र कञ्चनपुरका आठ उद्योगको उत्पादन रोक्का, एकको फुकुवा
कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ वटा उद्योगलाई खाद्य ऐन बमोजिम उत्पादन रोक्का गरिएको र एकको मापदण्ड सुधार गरिएकाले उत्पादन फुकुवा गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए । जसमा कञ्चनपुरको कौशल कञ्चन मिनरल शुक्लाफाँटा झलारी पानी उद्योगले मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएकोमा मापदण्ड सुधार गरी कार्यालयमा जानकारी गराएकोले उत्पादन फुकुवा गरिएको उनले बताए । कैलालीका मापदण्ड नपुगी उत्पादन रोक्का रहेका प्रशोधित पानी उद्योगमा कैलाली बाटर इण्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एण्ड बेभरेज इष्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एण्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेस्ट उद्योग टीकापुर रहेका छन् । कञ्चनपुरका प्रशोधित पानी उद्योगमा डेली ड्रिङ्किङ बाटर एण्ड मल्टी प्रोडक्सन उद्योग पुर्नवास, ब्लु बर्ड बाटर टिटमेन्ट एण्ड सप्लायर्स भीमदत र शिवशङ्कर बाटर एण्ड मल्टि प्रोडक्सन भासी रहेका छन् । स्वच्छतामापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरेसम्मका लागि आठ उद्योगको सिलबन्दीसहित उत्पादन रोक्का राखिएको बताइएको छ । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/७८ प्रथम चार महिनाको अवधिमा खाद्य नमूना विश्लेषण र दाना नमूना विश्लेषणबाट पाँच लाख ७३ हजार १६५ राजश्व सङ्कलन गरेको जनाइएको छ । म्याद गुज्रेका खाद्यसामग्री नष्ट कार्यालयले विभिन्न स्थानमा रहेका खाद्य पसल, मिठाइ पसल तथा होटलको अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरेको छ । अनुमानित मूल्य रु ४७ हजार ५२० बराबरको खाद्य पदार्थ नष्ट गरिएको कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए । नूनको गुणस्तर अनुगमन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आयोडिनयुक्त नून आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड धनागढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने नूनको गुणस्तरको अनुगमन गरेको छ । आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नूनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरेको हो । कर्पोरेशनको प्रशोधन केन्द्र, गोदाम, धनगढी बजारमा नूनको १० वटा नमूना सङ्कलन गरी नूनमा सोडियम क्लोराइडको मात्रा र आयोडिनको मात्राको प्रयोगशाला परीक्षण गरी अनुगमन प्रतिवेदन र प्रयोगशाला प्रतिवेदन विभागमा पेश गरिएको जनाइएको छ । रासस