नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गर्ने

काठमाडौं । निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तर्राष्टिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकार नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताएका हुन् । हस्तकला समृद्धिका सम्भावना भन्ने नाराकासाथ नेपाल हस्तकला महासंघले आफ्नो ४८औं वार्षिकोत्सब नवौं हस्तकला दिवस र हस्तकला वर्षको आइतबार शुभारम्भ गर्दै उनले सो बताएका हुन् । उनले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के-कस्तो नीतिगत सुधार गर्नुपर्ने हो त्यसको बारेमा सुझाव दिन महासंघलाई आग्रह गरेका छन् । साथै मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि पनि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवद्र्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताए । उनले हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए । उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्नसक्ने भएपनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उनको भनाइ छ । सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको पनि उनले गुनासो गरे । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवद्र्धनका लागि अनलाइन मार्केटिङमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवद्र्धनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका थिए । नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्याबारेमा ध्यानाकर्षण गराएका थिए भने महासंघका उपाध्यक्ष एवं ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला वर्षका कार्यक्रमबारे जानकारी गराएका थिए । महासंघल हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरेको छ । कोरोनाबाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा पुर्याउने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको समितिका संयोजक शाक्यले जानकारी दिएका छन् । वार्षिक कार्यक्रम अन्तर्गत त्रैमासिक बुलेटिन नियमित प्रकाशन गर्ने, जिल्ला तथा बस्तुगत संघलाई सुदृढिकरण गर्ने, समसामयिक बिषयबस्तुमा वेभिनार तथा सेमिनार गोष्ठी आयोजना गर्ने, व्यवसायिक अनलाईन मार्केटमा पहुँच बृद्धि गर्दै जाने, महिला उद्यमी मेला मार्फत महिला उद्यमीलाई ब्यवसायिक रुपमा संगठित गर्दै जाने, आन्तरिक बजार प्रर्बद्धन गर्न त्रैमासिकरुपमा क्रेता बिक्रेता भेला आयोजना गर्ने कार्यक्रम रहेको संयोजक शाक्यले बताएका छन् । त्यसैगरी बस्तुगत विधाको लागि सामूहिक ट्रेडमार्कको अवधारणा कार्यान्वयन गर्ने, हस्तकलासंग इन्टेरियर डिजाईनिंङ समायोजन गर्ने,मूर्त तथा अमूर्त कला संस्कृतिको प्रवद्र्धन गर्ने, डिजाइन तथा डिसप्ले कक्ष तयार गर्ने, कलाकारहरुका परिचयपत्र प्रदान गर्ने, अर्धवार्षिक कला प्रर्दशनी आयोजना गर्ने, बिधागत हेरिटेज वाक आयोजना गर्ने, बिभिन्न बस्तु बिद्याको प्रवद्र्धनको लागि छोटो डकुमेन्ट्ररी तयार गर्ने, प्याकेजिङ र लेवलिङ योजना तयारी गर्ने, बिशुद्ध हस्तकलाको पहिचान गर्दै जाने, लिभिङ लेजेन्ट इन ह्याण्डिक्राफ्टको पहिचान गरी सम्मान गर्दै जाने, बिधागत हस्तकलाको विभिन्न मिडियामार्फत प्रकाशमा ल्याउने आदि कार्यक्रम रहेका छन् । त्यसैगरी बढिभन्दा बढी बस्तुगत संघ र ७ वटै प्रदेशका जिल्ला संघलाई महासंघमा आवद्ध गरी ७ वटै प्रदेशमा महासंघको पहुच बिस्तार गर्ने, हस्तकला उद्योग व्यवसायको क्षेत्रमा विद्यमान नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायमा पैरवी गर्दै जाने, हस्तकलामैत्री निर्यातमुखी ऐन, कानून नीति नियम तर्जुमा र समयसापेक्ष परिमार्जनका लागि नेपाल सरकारसँग पहल र पैरवी गर्ने, सार्क हस्तकला विकास केन्द्र संचालन र हस्तकलाग्राम स्थापना र हस्तकला बिकास नीति कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पहल गर्ने, मेड इन नेपाल एण्ड मेक इन नेपालको प्रतिस्पर्धी अवधारणा विकास गर्ने र प्रचलित विद्युतीय प्रविधि, संचार तथा आर्थिक कारोबार र व्यवसायिक संजालको समयसापेक्ष उपयोग गर्ने जस्ता कार्यक्रम रहेका छन् । महासंघले विगत ४७ वर्षदेखि निरन्तर कृयाशिल भई नेपालभरिका मूर्त र अमूर्त ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अनुसन्धान, संरक्षण एवं सम्वद्र्धनको साथै हस्तशिल्पीको जनजीवनमा सुधारलगायत हस्तकला निकासी ब्यापारको प्रवद्र्धनको लागि निकासी मैत्री नीति नियम तर्जुमा र समय सापेक्ष सुधारको लागि नेपाल सरकार समक्ष पैरवी गर्ने साथै राष्ट्रिय अर्थतन्त्रको सुद्धिढीकरणमा योगदान पुग्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको छ । महासंघले २०७७ मंसिर २८ गते महासंघसँग आवद्ध १६ जिल्ला हस्तकला संघ, ११ वस्तुगत संघ सहित उद्यमी, ब्यवसायी, निकासीकर्ता, हस्तकला क्षेत्रका गैरसरकारी संस्था, सहकारी संस्था, कलाकार कालिगढहरु गरी १६०० क्रियाशिल सदस्यहरु बीचमा ४८ औं वार्षिकोत्वस, नवौं हस्तकला दिवस तथा हस्तकला बर्ष घोषणा कार्यक्रम मनाउने भएको छ । कोभिड-१९ को असर पर्यटन उद्योग व्यवसाय पछि हस्तकला उद्योग ब्यवसाय क्षेत्रमा अत्यधिक रुपमा परेको जनाएको छ । विशेषगरी पश्चिमी मुलुकमा बढी आश्रित हस्तकला उद्योग ब्यवसायले रोजगारी सिर्जना गरी निर्यात ब्यापार मार्फत बिदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा बिदेश निर्यात र आन्तरिक उपभोग गरी २० अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको हस्तकला उद्योग ब्यवसाय र ११ लाख भन्दा बढि ब्यक्तिहरु प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको छ । कोभिड-१९ को प्रभावबाट धरासायी हुन पुगेको अवस्था छ । यस अवस्थाबाट मध्यनजर गरी सरकारी कार्यालयमा नेपाली हस्तकलाका सामग्री प्रयोग गरी खस्किएको हस्तकला उद्योग ब्यवसायलाई संरक्षण र सम्बद्र्धन गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले सीपमूलक स्वरोजगारमुखि तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार ब्यवस्थापनका तालिम प्रदान गर्ने एवं स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर हुने स्पष्ट व्यवस्थालाई प्राथमिकतामा राखी आवश्यक बजेट व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।

उद्योग वाणिज्य संघ-चितवनमा होटल व्यवस्थापन तालिम शुरु

चितवन । उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा आज देखी होटल व्यवस्थापन एवम् कुकिङ तालिम शुरु भएको छ । उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा सञ्चालन हुन लागेको उक्त तालिमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले कोभिड-१९ का कारण बढि प्रभावित भएको क्षेत्र मध्ये होटल व्यवसाय एक भएकोले यस व्यवसायलाई पुर्ववस्थामा ल्यानमा सहयोग पुर्याउनका लागि तालिमको आयोजना गरिएको बताए । कार्यक्रममा श्रेष्ठले होटल व्यवस्थापन मानवीय सेवासंग सम्बन्धित भएकोले यो अत्यन्तै संवेदनशील र व्यवसायीक हिसावले महत्वपूर्ण मानिने बताउंदै तालिमले सो सम्बन्धमा सहयोग पुर्याउने आशा व्यक्त गरे । सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य एवम् तालिम व्यवस्थापन समितिका संयोजक योगिता पियाले ग्राहकको सन्तुष्टिनै होटल व्यवसायीको सफलताको कडि मानिने भएकोले सन्तुष्टि दिनका लागि खानाको स्वाद लगायत सेवा दिने सिप र प्रस्तुतीकरणले महत्व राख्ने हुंदा व्यवसायीले यस वारेमा ध्यान दिनुपर्ने बताए । होटल व्यवसायीहरुलाई लक्षित गरि आयोजना गरिएको २ हप्ते तालिममा होटल व्यवसाय गर्ने २५ जना व्यवसायीहरुको सहभागिता रहेको उद्योग वाणिज्य संघ-चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका दित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक सुदिप भट्ट लगायतले मत्तब्य राखेका थिए । २ हप्तासम्म सञ्चालन हुने उक्त कार्यक्रममा सुदिप भट्ट र सुमन अधिकारी प्रशिक्षक रहेका छन् । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।

अधिकार सम्पन्न राजश्व बाेर्ड आवश्यक छ: अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल राजश्व परामर्श समिति र नेपाल चेम्वर अफ कमर्स बीच राजश्व परिचालन र व्यवस्थापन सम्वन्धी क्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ का कारण व्यवसायीक क्षेत्रमा देखिएको शिथिलताबाट राजश्व तथा रोजगारीमा प्रत्यक्ष प्रभाव परेको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चेम्वरको पदाधिकारी तथा विभिन्न समितिका सभापतिहरु र नेपाल राजश्व परामर्श समितिका अधिकारीहरु बीच बिहिवार अन्तर्किया भएको हो । अन्तर्कियाका क्रममा चेम्बर अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले धेरै वर्ष देखि निजी क्षेत्रको प्रतिनिधित्व सहित अधिकार सम्पन्न राजश्व वोर्ड स्थापनाका लागि सरकार समक्ष पहल गर्दै आएको स्मरण गर्दै हाल गठित नेपाल राजश्व परामर्श समिति सो अनुरुप नभएको औंल्याए । अध्यक्ष श्रेष्ठले अधिकार सम्पन्न राजश्व वोर्डको स्थापना हुनु पर्नेमा सो अनुरुप नभएको धारणा व्यक्त गरे । कोभिड-१९ महामारीका कारण व्यवसायमा शिथिलता आइ निजी क्षेत्र प्रभाबित भएको उल्लेख गर्दै  जनताको क्रयशक्तीमा कमी आएको उनले बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने हुदाँ  व्यवसायीक पारदर्शीता अपनाउन  र अनधिकृत व्यापार नियन्त्रण गरी अर्थतन्त्रलाइ चलायमान बनाउन राजश्वमा समसामयिक सुधारको खाँचो रहेको अध्यक्ष  श्रेष्ठले बताए । व्यापार बिस्तार हुन सकेमा राजश्व तथा रोजगारीमा स्वतः वृद्धि भइ समग्र अर्थतन्त्रमा अनुकुल प्रभाव पर्न जाने भएको धारणा राखेका श्रेष्ठले राजश्वसँग सम्बन्धित समसामयिक सुझावहरु प्रस्तुत समेत गरे । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले विश्व ब्यापार संगठन, विम्स्टेक, साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार भन्सार दरबन्दी घटाउँदै लैजानु पर्ने, कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, दुइ तहको मूल्य अभिवृद्धि कर प्रणाली लागू गरिनुपर्ने राय पेश गर्दै आयकर तथा अन्तशुल्कका बिबिध समस्यावारे अवगत गराए । अध्यक्ष श्रेष्ठले राजश्व दाखिला म्याद थप गर्ने, म्याद नाघेका तथा बिक्री अयोग्य वस्तु तथा खराव कर्जामा लागेको मूल्य अभिवृद्धि छुट, उधारो कारोवारमा लागेको मूल्य अभिवृद्धि करको नियमन तथा असुली सम्बन्धमा पनि चेम्बरको तर्फबाट सुझाव पस्किए ।. यसका साथै भंसार प्रमूखको तजबिजी अधिकारले पनि ब्यापार सहजीकरण हुन नसकेको उल्लेख गर्दै नेपालको जलविद्युत प्रयोग गरी प्रोत्साहन गर्न इन्डक्सन चुल्हो तथा इलेक्ट्रिक गाडीमा महशुल छुट दिइनु पर्ने माग अघि सारे । समितिका अध्यक्ष महेश दाहालले राजश्व परिचालन तथा व्यवस्थापन सम्वन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिन तथा सिफारिस गर्न बिकास समिति ऐन अन्तर्गत एक स्थायी संरचनाको रुपमा नेपाल राजश्व परामर्श समिति गठन भएको र बिज्ञ समुहको अध्ययनबाट सिफारिस गरिने भएकाले यसका सुझावहरु वस्तुगत तथा यथार्थपरक हुने बताए । विगतमा  बजेट प्रयोजनको लागि मात्र राजश्व परामर्श समिति निश्चित अवधिका लागि कृयाशील हुने गरेको सन्दर्भमा हाल नेपाल राजश्व परामर्श समिति स्थापना भए पश्चात निजी क्षेत्रका माग सम्वन्धमा जुनसुकै वेलामा छलफल तथा अध्ययन गर्ने अवसर प्राप्त भएकोे स्पस्ट पारे । त्यसैगरि, राजश्व परामर्श समितिका सदस्य निर्मलहरी अधिकारीले नेपाल राजश्व परामर्श समितिको उद्धेश्य वारे प्रकाश पार्दै चेम्वरबाट प्रस्तुत बिबिध सुझावहरुका सम्वन्धमा बिज्ञ समुहबाट छलफल गराइने बताए । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल,उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल र दीपक मल्होत्राको पनि उपस्थिति रहेको थियो ।