उद्योग वाणिज्य संघ चितवनले हस्तान्तरण गर्यो बीमा बापतको रकम
भरतपुर । उद्योग वाणिज्य संघ चितवनले कोरोना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि बिमित संघका सदस्य फर्म थ्रीस्टार व्युटि पार्लरका प्रोपाईटर गौरी खड्कालाई बीमा रकम हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य संघ-चितवनले संघमा आवद्ध रहेका सदस्य व्यवसायी मध्ये असार मसान्त सम्म नवीकरण गर्ने सदस्यलाई ५० हजार रूपैयाँको निशुल्क कोरोना बीमा गरिदिएको थियो । वीमा रकम हस्तान्तरण कार्यक्रममा बाेल्दै संघका अध्यक्ष राजु श्रेष्ठले काभिड १९ का कारण व्यवसायमा मात्र नभई व्यवसायीहरुलाई पनि आक्रान्त बनाएको भन्दै बीमा योजनाले व्यवसायीलाई राहत पुग्ने आशा व्यक्त गरे । कार्यक्रममा उनले आगामी दिनहरुमा पनि सदस्य केन्द्रित विविध कार्यक्रमहरु ल्याउन लागिएको बताए । संघका निबर्तमान अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहनलाल प्रधानले ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका थिए । बिमितलाई चेक हस्तान्तरण गर्दै केन्द्रिय सदस्य प्रधानले संघको सामाजिक उत्तरदायित्व अन्तर्गत रही व्यवसायीक हितका लागि यो योजना ल्याइएको बताए । यस बिमा योजनामा ७ सय जना व्यवसायी सहभागी भएका र हालसम्म २३ जना कोरोना भाईरस पोजेटीभ देखीएर विमा भुक्तनी दावी भईसकेको र हालसम्म ३ जना व्यवसायीहरुलाई वीमा रकम हस्तान्तरण गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । बीमा रकम ग्रहण गर्दै थ्रीस्टार व्यूटी पार्लर को प्रोपाइटर गौरी खड्काले संघको सदस्य भएकोमा गौरव महशुस भएको बताए । खड्का लाई असोज २ गते चितवन मेडिकल कलेजमा पिसिआर परिक्षणको लागी नमुना संकलन गरी असोज ८ गते उनलाई कोरोना पोजेटीभ देखिएको थियो । संघले व्यवसायीका हितका लागि कोरोना कोष र व्यवसायी राहत कोष सञ्चालन गरेको संघका स्वास्थ्य संयोजक सिरिस पन्तले जानकारी दिए । बीमा रकम हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, भोजराज कौडाल र कार्यकारी निर्देशक निलबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।
चिनी उद्योगहरुको समस्या समाधानमा पनि सरकारले अग्रसरता लिनु पर्छ- परिसंघ
काठमाडाैं । नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुसँग आग्रह गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुबै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान पुग्नु पर्ने ठहर परिसंघको छ । बक्यौता रकम भुक्तानी दिन सुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीहरुको हकमा सरकारले अघि बढाएका कारबाही वा अन्य कदमहरु फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार तथा भुक्तानी प्रक्रियाको वातावरण थप सहज बनाउन पनि परिसंघले आग्रह गरेकाे छ । साथै, उखु उत्पादन किसानको रोजीरोटी तथा चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पुरा गर्न योगदान गर्ने भएकोले चिनी उद्योगका समस्या समाधानमा सबै पक्षको संलग्नतामा ठोस समाधानको प्रयास थाल्न पनि परिसंघले सरकारसँग आग्रह गरेकाे छ ।
उवासंघ-चितवनले सदस्य खगराज पाठकलाई हस्तान्तरण गर्याे आर्थिक सहयोग
भरतपुर । उद्याेग वाणिज्य संघ-चितवनले सदस्य अनुषा कृषि फर्मका प्रोपाईटर खगराज पाठकलाई व्यवसायी राहत कोष अन्तरर्गत २५ हजारको चेक हस्तान्तरण गरेकाे छ । संघका अध्यक्ष राजु श्रेष्ठले गत असोज १३ गते आगलागी भई ठुलो क्षति भएको संघको सदस्य पाठकलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । संघले सामाजिक उत्तरदायित्व एवम् व्यवसाय राहत कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो । संघले आफ्ना सदस्य व्यवसायीहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले व्यवसायी राहत कोषको स्थापना गरेको छ । उद्याेग वाणिज्य संघ-चितवनले करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उद्यमी व्यवसायीलाई कर शिक्षा,करको दायरा,कर नीति, करको छुटको व्यस्था, व्यवसाय कर लगायतका विषयमा जानकार गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खरमात्र उठ्ने प्रयास गरिरहेको अवस्थामा कर, करजन्य विषय वस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताए । कार्यक्रममा उनले व्यवसायीहरुले निश्चित भुगोलमा व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउनु पर्ने कर्तब्य भएको बताउंदै सोही बमोजिम सरकारले पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने दायित्व रहेको बताए । सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले व्यवसायी कर तिर्न सदैव तयार रहेको तर करको दरमा बृद्धि भन्दा दायरा बृद्धिमा जोडदिनुपर्ने बताए । करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले प्रत्येक व्यवसायी आ-आफ्नो व्यवसायको कर अधिकृत आफै रहेको बताउंदै व्यवसाय नभए कर पनि नहुने बताउंदै व्यवसायको सफलतानै कर संकलनको सफलता रहेको बताए । कार्यक्रममा उनले आर्थिक विधेयक २०७७ ले ल्याएका विशेष छुट तथा कोभिड १९ प्रभावित क्षेत्रमा भएका सहुलियतका वारेमा सम्पूर्ण व्यवसायी जानकार हुनुपर्ने बताउंदै यस किसिमको कार्यक्रमको आयोजना गरेकोमा उद्योग वाणिज्य संघ-चितवन प्रति आभार व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल र आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत विमल घर्ति मगरले कार्यपत्र प्रस्तुत गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कर शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष,पदाधिकारी, संघका कार्यसमिति सदस्य, पदाधिकारी लगायत ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता एवम् कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालन रहेको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संघको आयोजना एवम् भरतपुर महानगरपालिका कार्यालय एवम् आन्तरिक राजश्व कार्यालय भरतपुरको सहयोगमा आयोजना गरिएको हो ।