उदयपुर सिमेन्ट उद्योगले दुई वर्षपछि पायाे महाप्रबन्धक, अब पूर्ण क्षमतामा ल्याइने
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार सम्हालेका छन् । उनको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका न्यौपानेलाई उदययुर सिमेन्ट उद्योगमा चारवर्षे कार्यकालका लागि महाप्रबन्धका रुपमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उनले नोक्सानमा गएको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, थप क्षमता वृद्धिका लागि अध्ययन गराउने, बजार व्यवस्थापन र ब्राण्डिङमा जोड दिने, लागत कम गर्ने उपायको खोजी गरी अन्य उद्योगसँग प्रतिष्पर्धी बनाउने मुख्य योजना रहेको बताए । यसैगरी उनले वैकल्पिक ऊर्जा, उद्योगका नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताए । नवनियुक्त महाप्रबन्धक न्यौपानेले उद्योगका कामदार र कर्मचारीलाई उत्प्रेरणात्मक सीप अभिवृद्धिमुखी तालीम सञ्चालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने, वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटको मिश्रण गर्न सकिनेतर्फ पनि अध्ययन गर्नेलगायतका योजना अघि सारेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने, काठमाडौंका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरेको थियो । उक्तमध्येमा न्यौपानेलाई नियुक्त गरिएको हो । सिफारिस समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायण विंडारी रहेका थिए । न्यौपाने नेपाल चार्टड एकाउन्टेन्ट सङ्घ, नेपाल बार एसोसिएसनमा सदस्य, नेपाल अटो मोबाइल्स सङ्घ नाडामा महासचिवसमेत भइसक्नुभएको छ । यसैगरी नागरिक ट्रस्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थामा आबद्ध छन् । उन शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहेका छन् । अर्थ विज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायीसमेत रहनुभएका न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् । उनी हाल माछापुच्छ्रे बैंकका सञ्चालकमा रहेका छन् । उनीसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरी ग्रुपमा महाप्रबन्धकका रुपमा दुईदशक लामो समय काम गरेको अनुभव समेत छ । उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली रहेको थियो । उदयपुर सिमेन्टले दुई वर्षपछि महाप्रबन्धका रुपमा न्यौपानेलाई पाएको हो । रासस
लकडाउनमा कर्मचारीको तलब खर्च घटाएका उद्योगले अहिले बढाए, रोजगारी पनि बढ्यो
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कर्मचारीको तलब जयाला खर्च घटाएका उद्योगहरुले अहिले फेरि बढाएका छन् । लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भएपछि तलब–ज्याला घटाएका उद्योगहरुले अहिले ७ प्रतिशतको वृद्धि गरेका हुन् । यस्तै, गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार आएको सर्वेक्षणले देखाएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग/व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान छ ।
कोभिड महामारीले ४ प्रतिशतमा खुम्चिएका उद्योग चल्न थाले ५४ प्रतिशत क्षमतामा
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पूर्ण रुपमा सञ्चालन हुन नसकेका उद्योगहरु अहिले भने ५४ प्रतिशत क्षमतमा चल्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनका अनुसार अहिले ५४ प्रतिशत उद्योगहरु पूर्ण सञ्चालनकमा आएका हुन् । कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याँक संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसायहरु संचालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा संचालनमा रहेको देखाएको थियो । तर अहिलेको सर्वेक्षणले भने ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति योसर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको छ । उक्त सर्वेक्षणका अनुसार अहिले सञ्चालन हुन नसकेका घरेलु उद्योगहरु १६.७९ प्रतिशत, आशिंक सञ्चालन भएका ३६.६४ र ४६.५६ प्रतिशत पूर्ण सञ्चालनमा आएका छन् । यस्तै, लघु उद्यम तथा साना खुद्रा व्यापारहरुमा ८.१४ सञ्चालन हुन नसकेका, ४०.३१ आशिंक सञ्चालन भएका र ५१.५५ पूर्ण सञ्चालनमा रहेका छन् भने १५ करोडसम्म स्थिर पूँजी भएका साना उद्योगहरुमा १४.८ सञ्चालन हुन सकेका छैनन्, ४७.१८ आशिंक सञ्चालन र ३८.७३ प्रतिशत पूण्र्ढा रुपमा सञ्चालनमा आएका छन् ।