महामारीमा व्यवसायी बतासको महाअभियानः १०० रुपैयाँ सहयोगले करोडौंको अक्सिजन प्लान्ट

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै काठमाडौं उपत्यकाका तीन जिल्ला जिल्ला प्रशासनले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरे । निषेधाज्ञा भएपछि सर्वसाधारणको दैनिकी प्रभावित बन्याे । व्यापार व्यवसाय ठप्प भयो । व्यापार बन्द गर्नु परेपछि व्यवसायी अनन्तराज बतास काठमाडौंबाट पोखरातर्फ लागे । उनले निषेधाज्ञाको समय पोखरामै बिताउने सोच बनाए र काठमाडौंदेखि पोखरा गए । दिनप्रतिदिन कोरोना संक्रमितको बढ्दो ग्राफ र मृतकको संख्या सुनेर उनलाई निराश मात्रै होइन यो महामारीको समयका थप सामाजिक काम गर्ने सोच पलायो । आफै सामाजिक अभियान्ता समेत भनेर परिचित व्यवसायी बतासले यो महामारीमा पनि सामाजिक कार्य गर्ने योजना बुने । अधिकांश कोरोना संक्रमितको मृत्यु हुनुको मुख्य कारण अक्सिजन अभाव भएको समाचार उनको काममा दिनहुँ गञ्जिरह्यो । एउटा सामाजिक संस्था बतास फाउण्डेसन सञ्चालन गरिरहेका उनले कोरोना महामारीमा फरक किसिमकाे सामाजिक काम गर्ने सोच बनाएर साथीहरुबाट सल्लाह सुझाव लिनमा व्यस्त भए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पनि उनलाई यस्तो विषम परिस्थितिमा केही गर्नु पर्ने सल्लाह मात्रै होइन आग्रह समेत गरे । ‘मैले यो समयमा धेरै साथीहरुसँग कुराकानी तथा छलफल गरेँ, सबैले म पनि सहयोग गर्छु राम्रो काम हो भन्दै हौसला दिएपछि पोखरामै अक्सिजन प्लान्ट स्थापना गर्ने सोच बनाएँ, साथीहरुले नै म यतिसम्म सहयोग गर्छु भनेपछि मलाई पनि झन बढी प्रोत्साहन मिल्यो, यसरी नै काम सुरु गरेर अहिले अभियान सञ्चालन भइरहेको छ,’ व्यवसायी बतासले भने । साथीहरुसँगको पहिलो चरणको छलफलमै १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता हुँदा आफुलाई अभियान अगाडि बढाउन सहज भएको उनको भनाई छ । धेरै मानिसको अक्सिजन अभावकै कारणले मृत्यु भएको खबरले आफुलाई हात बाँधेर बस्न नदिएको उनको भनाई छ । अभियान सुरु गर्ने अन्तिम तयारी भएपछि सामाजिक सञ्जालमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग जुटाऔं भनेर सहयोगको आह्वान गरेको उनले बताए । सामाजिक सञ्जालमा आव्हान गरेपछि सहयोग गर्नेहरुको संख्या झन थपिदै गएको उनले बताए । ‘म काम गरिरहने बानी परेको मान्छे, त्यो खबरले के गरौं, कस्तो गरौं खालको अनुभुति भयो, साथीहरुले पनि प्रोत्साहन भएपछि अभियान अगाडि बढाएँ, अहिले सहयोग गर्नेहरुको प्रतिवद्धता राम्रै आइरहेको छ, सहयोगी हातहरुको फोन उठाउनमै व्यस्त छु’ उनले भने । अहिले फोनमार्फत पनि कसैले १ लाख, कोहीले २ लाखदेखि २५ लाखसम्मको सहयोग गर्ने प्रतिवद्धता गरेका छन्, पोखरामा ५ लाख जनसंख्या छ, छ लाखले १००÷१०० रुपैयाँ सहयोग गरेपछि ५ करोड रुपैयाँ हुन्छ, हालसम्म ३ करोडभन्दा बढीकोे सहयोग गर्ने प्रतिवद्धता आइसकेको छ,’ उनले भने । उनका अनुसार अहिले सो अभियानमा धेरै उद्योगी व्यवसायीहरु पनि जोडिएका छन् । उनले जति ठूलो अक्सिजन प्लान्ट बनायो त्यति बढी रकम चाहिने बताए । तत्कालको लागि ५/६ करोड रुपैयाँ जुटाउने योजना भएको उनले बताए । ‘प्रति घन्टा १० देखि १५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट राख्न करिब ३ करोड चाहिने रहेछ,हामीले फ्रान्सबाट सामान आयात गर्ने निर्णय गरेका छौं, जहाज चार्टर्ड गर्न नै ३ करोड रुपैयाँ लाग्ने रहेछ, यो सबै हिसाव गरेर ५/६ रुपैयाँ लाग्छ, अबको २०/२५ दिनभित्र हामी सो अक्सिजन प्लान्ट जडान गरेर सक्ने योजना बनाएका छौं,’ उनले भने । दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि अक्सिजनको माग बढ्दै गएको छ । तर बजारमा अक्सिजनको अभाव देखिएको छ । हाल पोखराको औद्योगिक क्षेत्रमा गण्डकी प्रदेशमा अक्सिजन उत्पादन गर्ने जम्मा २ वटामात्रै निजी कम्पनी छन् । यी उद्योगले दैनिक १३ सय सिलिन्डर हाराहारीमा अक्सिजन उत्पादन गरिरहेको बताइएको छ । बतासले आफैं आबद्ध संस्था बतास फाउण्डेसन र बि रिभर माइनिङ प्रालिले २५/२५ लाख रुपैयाँ सहयोग गरेको बताए । उनी त्यसको अध्यक्ष समेत हुन् । उनले सबै सर्वसाधारण, सामाजिक अभियान्ता, व्यवसायी तथा दातृ निकायहरुलाई सहयोगको अपील समेत गरेका छन् । एक थुकी सुकी हजार थुकी नदि भनाईले उल्लेख गर्दै उनले १०० रुपैयाँ दान गरी महामारीमा प्राण राखौं भन्दै महा अभियान सञ्चालन गरेका हुन् । उनले सहयोगका लागि ग्लोबल आईएमई बैंककाे पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा पैसा जम्मा गर्न पनि अनुरोध गरेका छन् । अहिले सो अभियानको नेतृत्व उनी अध्यक्ष रहेको बतास फाउण्डेसनले नै गरिरहेको छ ।

दुग्ध उद्योगलाई ५० प्रतिशत विद्युत महसुल छुटकाे सिफारिस, १८ करोड ३२ लाख रुपैयाँको राहत

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले .दुग्ध उद्योगहरुलाई ५० प्रतिशत विद्युत महसुल छुट दिन सिफारिस गरेको छ । बोर्डले निजी, सहकारी तथा साझेदारी फर्ममार्फत हाल सञ्चालनमा रहेका ४ सय हाराहारीका दुग्ध चिस्यान केन्द्र तथा दुग्ध रिफाइनरी उद्योगहरुलाई ५० प्रतिशत छुटका दरले कुल १८ करोड ३२ लाख ५२ हजार ८३३ रुपैयाँ छुट दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकको होटल, रेष्टुरेन्ट, शैक्षिक संस्था, पसल लगायत सर्वसाधारणहरूको चलायमान हुनु पर्ने प्रायः सबै क्षेत्र ठप्प हुँदा दूध तथा दुग्ध पदार्थको खपतमा निकै कमि आएकाले सो क्षेत्रको संरक्षणका लागि पनि यस्तो छुट दिनुपर्ने बोर्डद्वारा मन्त्रालयलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तो छुट सहकारी संघ संस्थाबाट सञ्चालित चिस्यान केन्द्र एवम् उद्योगहरुलाई ७ करोड २५ लाख ७७ हजार ५८३ रुपैयाँ, नेपाल डेरी एसोसिएसन अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई १ करोड ३४ लाख ९७ हजार ७५० रुपैयाँ, डेरी उद्योग संघ अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई ६ करोड ७७ लाख ७७ हजार ५०० रुपैयाँ र दुग्ध बिकास संस्थान अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई २ करोड ९४ लाख रुपैयाँ छुट दिनुपर्ने बोर्डको भनाई छ । बोर्डद्वारा तयार गरिएको प्रतिवेदनमा हाल देशैभरिबाट साना, मझौला तथा ठूला गरी करिब ४०० दुग्ध प्रशोधन उद्योगहरु रहेका छन् भने जसबाट दैनिक १० लाख ७१ हजार लिटर (कुल उत्पादनको १७ प्रतिशत) दूध नियमित संकलन तथा प्रशोधन हुने गरेका छन् ।

मौद्रिक नीतिको समीक्षाप्रति सीएनआई सन्तुष्ट, राहत महसुस भएको धारणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेकोे मौद्रिक नीतिको समीक्षाप्रति नेपाल उद्योग परिसंघ( सीएनआई) सन्तुष्ट देखिएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेको थियो । सो समीक्षाप्रति उद्योगीहरु सन्तुष्ट भएका हुन् । राष्ट्र बैंक यस निर्णयले सकरात्मक प्रभाव पार्ने नेपाल उद्योग परिसंघले जनाएको छ । संकटको यस घडिमा तरलता व्यवस्थापन गर्न विशेष ध्यान दिदै केन्द्रीय बैंकले यस अघि तोकेका विभिन्न दरहरुलाई यथावत राखेको भन्दै सीएनआई खुसी भएको हो । यस्तै कोभिड–१९ ले उद्योग तथा व्यवसाय क्षेत्रमा श्रृजित समस्यालाई न्युनिकरण गर्न निषेधाज्ञाको अवधि भर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ भने निषेधाज्ञा समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धी सुचना प्रकाशन गर्न नपाईने व्यवस्था समेत गरेको छ । यो प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केहि सहज हुने परिसंघले धारणा छ । राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधारदरमै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न र २० करोडको विशेष पुनरकर्जाको समेत व्यवस्था गरेको छ । यस्तो कर्जा एक वर्षका लागि प्रवाह हुने समेत बैंकले जनाएको छ । यसले पनि उद्योगीलाई राहत हुने परिसंघको विश्वास छ । त्यस्तै निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको छ । परिसंघले आग्रह गरे अनुसार नै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले निर्वाह गर्नु पर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विद्यमान स्वास्थ्य समस्यासँग जुध्न आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाएको छ। परिसंघको अनुसार हालको परिप्रेक्षमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग व्यवसाय सञ्चालनमा उल्लेख्य भूमिका खेल्ने छ । मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै रोजगारी सृजना गर्न, मुलुकको गाह्रस्थ उत्पानलाई बढाउन तथा समग्र आर्थिक वृद्धिका लागि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा सुविधा उपलब्ध गराउनेमा परिसंघ विश्वस्त रहेको जनाएको छ ।