दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने, दैनिक २ सय सिलिण्डर भर्नसक्ने
फाइल फाेटाे देउखुरी । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितको मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत् जोड्ने निर्णय गरेको छ । छ वर्ष पहिले अक्सिजन उद्योग स्थापना भए पनि विद्युत् भरपर्दो नहुँदा उत्पादन बन्द भएको थियो । जटिलावस्थामा रहेका कोरोना संङ्क्रमितलाई वायुप्राण अर्थात् अक्सिजनको अत्यधिक माग रहेका समयमा सरोकार निकायले यस्तो निर्णय गरेको हो । विसं २०७३ मा खुलेको दाङ अक्सिजन उद्योग प्रालिसँग दैनिक दुई सय सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले बताए । विद्युत् नियमित भए अहिले पनि दैनिक १५० सिलिण्डर भर्न सक्ने उनको भनाइ थियो । विद्युत् नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए । उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौबीसै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनको भनाइ थियो । कोरोना संक्रमितका लागि जिल्लामा दैनिक एक हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ । पालिकाले बनाएका आइसोलेशन सेन्टर र अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ । रासस
कर तिर्ने समय थप गरिदिन उद्योग वाणिज्य महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न माग गरेको छ । कोभिड-१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण महासंघले सरकारसँग उक्त अनुरोध गरेकाे हाे । महासंघले आज सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो । कोभिड महामारिकाकारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुंदा समय थप गर्न महासंघले आग्रह गरेको हो । अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङग्रिन शुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ । सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित छन् । महामारि कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था छैन । बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीति सहितको सहयोग हुन समेत महासंघले अपिल गरेकाे छ ।
परिसंघले सरकारसँग भन्यो- कर दाखिला गर्ने र विवरण बुझाउने समय चाहिन्छ
काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि परिसंघले सरकारसँग माग गरेको छ । परिसंघले कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा कानुनमा उल्लेखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा हाल भएको व्यवस्था ‘एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नुपर्ने’ व्यवस्थालाई सहज बनाई कोभिडको प्रकोप न्यून नहुन्जेलसम्मको लागि सहज रुपमा कर दाखिला गर्न र विवरण बुझाउन पाउनु पर्ने माग परिसंघले गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले सरकारले जारी गरेको निषेधाज्ञाबाट उद्योग व्यवसाय क्षेत्रमा पर्दै गएको प्रत्यक्ष प्रभाव र आगामी दिनमा पर्न सक्ने असरहरुको सम्बन्धमा समीक्षा गरेको छ । परिसंघले निषेधाज्ञाको समयमा पनि उद्योग व्यवसायहरु सञ्चालन गर्नु पाउनुपर्ने तथा सबै उद्योग परिसर भित्र व्यवस्थित आवास तथा क्वारेन्टाइनको व्यवस्था गर्न पर्याप्त स्थान नहुने भएकोले उद्योगले सञ्चालन गरेको सवारी साधनमा कर्मचारी तथा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी आवत जावतको लागि पासको व्यवस्था गरी सहज आवतजावतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । परिसंघले कोभिडको महामारीमा अत्यधिक माग देखिएको औषधि एवं स्वास्थ्य उपकरण र अक्सिजनको सिलिण्डर सरकार आफैले तत्काल आयात गर्न माग गरेको छ। यदि सरकार आफैले आयात गर्न नसक्ने भएमा निजी क्षेत्रलाई भन्सार महशुल र पारवाहन शुल्क छुट गरी आयतको लागि प्रोत्साहित गर्नु पर्ने परिसंघको माग रहेको छ । यसबाट आम नागरिकले आपतको समयमा तत्काल स्वास्थ्य सेवा प्राप्त गर्ने र नागरिको जीवन जोगाउन सकिने परिसंघको धारणा छ। आम नागरिको जिवन जोगाउन सरकार तयार हुन पर्दछ । खोप खरिद प्रक्रियालाई तीव्रता दिन र तुरुन्त खोप लगाउने काम थाल्न पनि परिसंघले माग गरेको छ । विभिन्न देशबाट खोप आयात गर्न निजी क्षेत्रलाई समेत संलग्न गराई फास्टट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा देशभर अगाडि बढाउन परिसंघले माग गरेको छ । सरकारसँग समन्वय गरी होटलहरुलाई कोभिड केयर सेन्टर तथा अस्पतालको रुपमा अगाडि बढाउन परिसंघ तयार रहेको र यसको लागि सरकारसँग आवश्यक छलफल गरी अगाडि बढ्ने परिसंघले जनाएको छ ।