सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौंः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । अध्यक्ष गोल्छाले १३२औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयूक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चूनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए । यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनु पर्नेमा जोड दिनुहुंदै अध्यक्ष गोल्छाले भने- ‘विश्वभरीनै कोरोना संक्रमणको प्रकृति हेर्दा चाडै नियन्त्रणमा आउने संभावना छैन, यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौं । संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।’ अध्यक्ष गोल्छाले भने-हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि संचालन गर्न आग्रह गरेका छौं। हाम्रो सामू रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकता पूर्वक जोखिम न्यूनिकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन । हामी लगानी बृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौ तर उद्योगहरूको विस्तार र लगानी किन बढन सकेको छैन, अहिले ७/८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाईन्छ, किन यसो भईरहेको छ, यसको कारण खोज्न जरूरी छ, अध्यक्ष गोल्छाले जिज्ञासा राखे- ‘धेरै जसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैनन्, यसको कारण के हो ? सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आईरहेको छ, यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए । महामारीबाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजवुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड हुँदै उनले सबै श्रमिक कामदार कर्मचारीको सु स्वास्थ्य र सुरक्षाको कामना समेत गरे । त्यसैगरी महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडी आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुंदा श्रमजीवि वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नु पर्नेमा जोड दिँदै रोजगारदाता परिषद्का सभापति संघईले बाँचौं र बचाउको यो कठिन अवस्थाबाट चाँडै मुक्त हुने अपेक्षा गरेका छन् ।

श्रमिकलाई उद्योग र निर्माणस्थलमै खाना र बासको व्यवस्था मिलाउने सरकारको निर्णय

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै उनले सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले आज जारी गरेका शुभकामना सन्देशमा जीवन प्रमुख भएकाले कोभिड-१९ बाट बच्न आग्रह गर्दै भनिएको छ , “जीवन प्रमुख कुरा हो, श्रम हाम्रो लागि आधारभूत कुरा हो, तसर्थ, जनताको स्वास्थ्य र जीवन रक्षाका लागि नेपाल सरकारले चाल्नुपरेका बाध्यकारी कदमलाई मनन गरी सकारात्मक सहयोगका लागि अपिल गर्दछु ।” उच्चस्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक पोखरेलले श्रमिकलाई उद्योगभित्रै खाना र बासको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने, निर्माणस्थलमै खाना र बासको व्यवस्था गरी सार्वजनिक निर्माणलाई अगाडि बढाउने निर्णय लिइएको र श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा सरकारले विशेष ध्यान दिएको जनाएका छन् । ‘अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा यतिबेला सिङ्गो मानव समुदाय कोभिड-१९ विरुद्धको सङ्घर्षमा होमिनु परेको छ’, नेकपा (एमाले) का महासचिवको सन्देशमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीका विरुद्ध अग्रपङ्क्तिमा रहेर आफैंलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरुलाई म उच्च सम्मान गर्न चाहन्छु ।’ उनीहरुको साहस र योगदानलाई सम्मान गर्दै सरकारले विशेष आर्थिक सहुलियतको व्यवस्था गरेको जानकारी उनले दिएका छन् । साथै, उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलव्ध गराउन थालिएको पनि सन्देशमा उल्लेख छ । रासस

कोरोना महामारीको परिस्थितिमा मजदुरलाई सरकारबाट विशेष राहत होस्- उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना महामारीले उत्पन्न विषम परिस्थितिमा संगठीत र असंगठीत क्षेत्रका मजदुर वर्गका लागि सरकारबाट विशेष राहतका कार्यक्रम ल्याई श्रमिकको हितमा कार्य गर्नु पर्ने बताएको छ । अन्तर्राट्रिय मजदुर दिवसको उपलक्ष्यमा परिसंघले अहिलेको अवस्था चित्रण गर्र्दै उद्योगी र श्रमिकबीच सद्भाव कायम राख्नै उद्योगमैत्री वातावरणको सृजना गर्न यस दिवस अभियानकोरुपमा अगाडी बढ्ने विश्वास व्यक्त गरेको हो । परिसंघले देशमा औद्योगिक वातावरण सहित श्रमजीवीलाई एकतावद्धबनाई मज्वुत, सवल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको परिकल्पनामा हातेमालो गर्दै आत्मनिर्भर नेपाल बनाउने बताएको छ । कोरोनाबाट आम नागरिक तथा मजदुर वर्गलाई सुरक्षित राख्नु सरकारको पहिलो कर्तव्य हो भने विशेषगरी मजदुर वर्ग स्वयं सचेत बन्न अहिलेको टड्कारो आवश्यकता रहेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताए । अध्यक्ष मोरले कोभिडको प्रकोपबाट उत्पन्न समस्याहरुले प्रत्यक्षरुमा उद्योग, व्यापार तथा व्यवसायमा समेत प्रभाव परिरहेको छ । मानव जीवन र अर्थतन्त्र एक अर्काको पर्याय हुन भन्ने सोचका साथ सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्न र उद्योग व्यसाय सञ्चालनमा सहजता बनाउन माग गरेका छन् । खोप आयातमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरुदेशका खोपहरुलाई पनि अनुमति प्रदान गरी फास्ट ट्रयाकबाट खोप आयात गरी खोपलाई अभियानको रुपमा नेपालभर लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरहरुलाई पहिलो प्राथमिकतामा राखी खोपको व्यवस्था गर्न परिसंघले माग गरेको छ ।