संकटमा सेवाः उद्योगी व्यवसायीले गर्न थाले करोडौंको सहयोग, कसले कति गरे ?
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)जोखिम कम गर्नको लागि उद्योगी व्यवसायीले सहयोगको हात फैलाएका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विभिन्न उद्योगी व्यवसायीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्न थालेका हुन् । कोरोना भाइरसकै कारण स्वास्थ्य सामग्रीको अभाव, अक्सिजनको अभाव लगायतका समस्या देखिन थालेपछि उनीहरुले सहयोगको हात अगाडि सारेका हुन् । धेरैले उद्योगी व्यवसयीहरुले सहयोगको घोषणा गरेकका छन् भने कयौंले सम्बन्धित संस्थामा गएर सहयोग गरिसकेका छन् । केही दिन यता देशका विभिन्न उद्योगी व्यवसायीहरुले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गरेको जानकारी आइरहेको छ । उसो त गत वर्ष पनि विभिन्न संघ संस्थाले सरकारलाई कोरोना भाइरसको रोकथम भन्दै सहयोग गरेका थिए । यस वर्ष भने उद्योगी व्यवसायीहरुले स्वास्थ्य संस्थालाई सहयोग गरिरहेका छन् । कसले कति सहयोग गरे ? शाहले गरे १ करोड ३५ लाख सहयोग जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजका संस्थापक अध्यक्ष विजय कुमार शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा राज्यलाई सबैभन्दा बढी कर तिरेर सम्मानित भइसकेका व्यवसायी शाहले धुलिखेल अस्पतालमा रहेका कोरोना भाइरसका संक्रमितहरुको उपचार सहज होस् भनेर सो सहयोग गरेको बताएका हुन् । उनले सो रकम अस्पतालको आइसीयु र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागी भनेर सहयोग गर्ने बताएका हुन् । गोल्छा ग्रुपको १ करोड सहयोग गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै र अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा ग्रुरुपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । ‘यस्तो महामारीको समयमा कोरोना भाइरसको जोखिम कम गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ, हामी पनि सहयोग गरिनै रहेका छौं, महासंघबाट पनि विभिन्न पहलहरु भइरहेका छन्, हामी सबैले सतर्कता अपनाउन आग्रह गर्छौं,’ उनले भने । यसअघि गोल्छा ग्रुपले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट प्लेन चार्टर्ड गरी सरकारलाई हस्तान्तरण गरेको थियो । एनआरएनएको २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सीय नेपाली संघ (एनआरएनए) ले २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तसहित बसेको बैठकले शुक्रबार उक्त निर्णय गरेको हो । नेपालमा कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै संघले संक्रमितहरूको उपचारका लागि १०० अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो । एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको पनि बताइएको छ । एफएनसीसीआईले २ सय बेडको आइसोलेसन बनाउँदै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा आइसोलेसन बेडहरु निर्माण गरिरहेको छ । महासंघले काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा २ सय बेडको आइसोलेसन बेड निर्माण गरिरहेको हो । महासंघका अध्यक्ष शेखर गोल्तछाले काठमाडौंको कमलादी, ललितपुरको पाटन, भक्तपुरमा र क्षेत्रपाटीमा ५०/५० वटा बेडको आइसोलेसन कक्ष बनाउन लागेको बताए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएकोले संक्रमितहरुलाई राख्नको लागि आइसोलेसन कक्ष निर्माण भइरहेको उनले बताए । उनका अनुसार ती आइसोलेसन कक्षहरु सम्भवतः आज घोषणा हुनेछन् । महासंघले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरिसकेको छ । पाँच जना डाक्टरले कोभिड–१९ का संक्रमितलाई अनलाइन प्रणालीमार्फत परामर्श सेवा दिइरहेका छन् । नेपाल चेम्बर अफ कमर्सको निःशूल्क एम्बुलेन्स सेवा नेपाल चेम्बर अफ कमर्सले पनि निःशूल्क एम्बुलेन्स सेवा दिइरहेको छ । चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको हो । आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ देखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जानकारी दिएको छ । एम्बुलेन्स सेवा प्रयोगका लागि चेम्बर तथा छत्रपाटी चिकित्सालयमा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ । कोरोना कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएपछि केही सहज भने पक्कै हुनेछ । नाडाले गर्यो स्वास्थ्य सामग्री सहयोग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि सशस्त्र प्रहरीको अस्पताललाई कोभिड–१९ नियन्त्रणका लागि पाँचथरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नाडाले अस्पताललाई कोभिड महामारी संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, थर्मोसल ब्वाइलेट ५० सेट, बेड सिट ५० थान, टावेल ५० थान र मास्क ५ हजार थान सहयोग गरेको हो ।
अक्सिजन उत्पादक भन्छन्: तत्काल वैकल्पिक व्यवस्था नभए ठूलो संकट आउनसक्छ
फाइल फाेटाे काठमाडाैं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमाभन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड-१९ संक्रमितको संख्या बढे सँगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविश्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लाण्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए । उनले तत्काल सरकारले अक्सिजन आपुर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिए । उनले सरकारले अक्सिजन आपुर्ति सहज बनाउ बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । तिमिल्सिना अनुसार अहिले काठमाडाैं उपत्यकामा मात्रै ८ वटा प्लान्ट संञ्चालनमा रहेको र २ वटा प्लाण्टहरु मर्मतको क्रममा रहेको छ । सबै प्लाण्ट पुर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने उनी बताउँछन् । अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिण्डर उत्पादन भईरहेको छ। सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्ष समेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खालि सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गरे । ‘हिजो सोचे भन्दा तीन गुना अक्सिजनको माग बढेर गएको छ । हामीले उत्पादन गरेको स्थितिले अबको बजार र माग पुरा गर्न नसक्ने स्थिति आईसकेको छ । त्यसकारणले सम्बन्धित निकाय र सम्बन्धित उद्योगीहरु तयार भएर यसको विकल्प के हो ? त्यसको व्यवस्थापन गरेर हामी अगाडि बढेनौ भने यो देशमा अक्सिजनको विषयलाई लिएर ठूलो अभाव हुने संभावना मैले देखेको छु,’ उनले भने । अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधरण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनिमा पुग्ने गरेका छन् । सर्वसाधरण अक्सिजनको सिलिण्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिन देखि सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरेर सरकारले सम्बन्धीत निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वधारण उद्योग घेराउमा निस्किएका छन् । मन्त्रालयले अस्पताल बाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराईरहेका विरामीको आवश्यकतालाई वेवास्ता गरेको भन्दै सर्वसाधरणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
एफएनसीसीआईले काठमाडौंका ४ ठाउँमा २ सय बेडका आइसोलेसन कक्ष बनाउँदै, आजै घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा आइसोलेसन बेड निर्माण गरिरहेको छ । महासंघले काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा २ सय बेडको आइसोलेसन कक्ष निर्माण गरिरहेको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौंको कमलादी, क्षेत्रपाटी, ललितपुरको पाटन र भक्तपुरमा ५०/५० वटा बेडको आइसोलेसन कक्ष निर्माण भइरहेकाे बताए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएकोले संक्रमितहरुलाई राख्नको लागि आइसोलेसन कक्ष निर्माण भइरहेको उनले बताए । उनका अनुसार ती आइसोलेसन कक्षहरु सम्भवतः आज घोषणा हुनेछन् । ‘यस्तो महामारीको समयमा कोरोना भाइरसको जोखिम कम गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ, हामी पनि सहयोग गरिनै रहेका छौं, महासंघबाट पनि विभिन्न पहलहरु भइरहेका छन्, सबैले सतर्कता अपनाउन आग्रह गर्छु,’ उनले भने । उनका अनुसार यी बेडहरुमा उद्योगी व्यवसायीहरुसँगै अरुले पनि सेवा पाउनेछन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि महासंघले कोरोनाको जोखिम कम गर्नको लागि विभिन्न कामहरु गरिरहेको बताए । उनका अनुसार निर्माण भइरहेको आइसोलेसन बेडले पनि कोरोना संक्रमितहरुलाई सुरक्षित र सहज रुपमा बस्नको लागि सहयोग पुग्ने बताए । ‘हामीले हटलाइनको सेवा पनि सुरु गरिसकेका छौं, कोरोनाको जोखिम कम गर्न विभिन्न कार्यक्रमहरु ल्याउने तयारी पनि गरिरहेका छौं, अक्सिजन आपुर्तिका लागि पनि विभिन्न उद्योगहरुलाई आग्रह र समन्वय गर्दै आइरका छौं, बन्द भएका उद्योग पनि सञ्चालनमा ल्याउन पहल गरिरहेका छौं, यतिबेला खटिएर लाग्नु पर्ने हाम्रो पनि दायित्व हुन्छ,’ उनले विकासन्युजसँग भने । हालै मात्र महासंघले हेलो डक्टर सेवा पनि प्रारम्भ गरेको छ । यसबाट पनि धेरैले सहज सेवा पाउन सक्नेछन् ।