सकुन्तलाल हिराचन बने महासंघको कोषाध्यक्ष
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमितिको मतदानमा हिराचन निर्वाचित भएका हुन् । उनले ४० मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए । हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् भने बस्नेत ढकाल पक्षका हुन् । उनले आजै सपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने छन् ।
महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु, बस्नेत र हिराचनमा कसकाे सम्भावना बढी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न महासंघमा मतदान सुरु भएको छ । सर्वसम्मत हुन नसकेपछि कोषाध्यक्षको आज महासंघ सचिवालयमा मतदान सुरु भएको हो । शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो । तर, नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए । सोही अनुरुप आज कोषाध्यक्षका लागि मतदान सुरु भएको हो । कोषध्यक्षका लागि अध्यक्ष शेखर गोल्छा समूहबाट सकुन्तला हिराचन र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट डिबी बस्नेत उम्मेदवार छन् । दुवै पक्षले आफ्नो निकटको व्यक्ति विजय हुने पनि दावी गरिरहेका छन् । कोषाध्यक्षका लागि केन्द्रिय कार्यकारिणी समितिका सबैले मतदान गर्नेछन् । चुनावअघि दुई समूहमा विभाजित भएका महासंघका नेताहरु चुनाव पछि भने सबै एक हुने बताइरहेका छन् । कोषाध्यक्षका लागि उम्मेदवारी दिएका डीबी बस्नेत नेकपा निकट व्यवसायी हुन् भने हिराचन काँग्रेस निकट व्यवसायी हुन् । निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए । निर्वाचन अघि प्यानल भएपनि अब प्यानल नभई काम गर्ने निर्वाचि पदाधिकारी तथा सदस्यहरु बताइरहेका छन् । अहिले त्यस कारण पनि नेकपा निकट व्यवसायीले बस्नेतलाई मतदान गर्ने र हिराचनलाई काँग्रेस निकट व्यवसायीले मतदान गर्ने पनि स्रोतको भनाई छ । महासंको कार्यकारिणी सदस्य तथा पदाधिकारीहरुमा नेकपा निकट सदस्यहरुको संख्या बढी छ काँग्रेस निकट पदाधिकारी तथा सदस्यहरुको संख्या कम छ । बस्नेतले ढकाल समूहबाट महासंघको जिल्लानगरतर्फको कार्यकारिणी सदस्यमा विजयी भएका थिए । उनले ५८ मत ल्याएर विजयी भएका थिए । यस्तै हिराचनले पनि प्रधान प्यालनको वस्तुगततर्फको कार्यकारिणी समतिमा विजयी भएका हुन् । उनले पनि ५५ मत प्राप्त गरेर विजयी भएका थिए ।
पद वहाली गर्दै अध्यक्ष गोल्छाले भने- निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने छु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै उनले राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य रहेकाे बताएका हुन् । गाेल्छाले आज(मंसिर १५ गते) एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरेका हुन् । महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका हुन् । पद वहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई संवोधन सहित निर्देशन दिए । महासंघ सचिवालय र महासंघ अन्तर्गत रहेका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आफुले गरेको बताए । पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउँछन् तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनलरूपमा संचालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उनले बताए । निर्देशनको क्रममा अध्यक्ष गोल्छाले भने- तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु । महासंघमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमुल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडी बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गर्दछु ।’ ‘उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति म पूर्ण विश्वस्त छु । सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोही अनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशनका रूपमा संचालन गर्ने छु ।’, उनले भने । कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला/नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो ।