३० लाखकाे लगानीमा हेटौँडामा कागजको ग्लास उद्योग सञ्चालनमा
वाग्मती । मकवानपुरको हेटौँडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित ३० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपानेले बताए । उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी दिइएको छ केही दिन अगाडि स्थापित सो उद्योग अहिले परीक्षणमै छ । घरेलु उद्योगअन्तर्गत हेटौँडा – ५ स्थित आफ्नैै घरमा सञ्चालक न्यौपानेले उद्योग स्थापना गरेकाे बताइएको छ । हेटौँडामा यो पहिलो र एक मात्र उद्योग सञ्चालनमा आएको जनाइएको छ । परीक्षणपछि डाँफे छाप कप सहुलियत मूल्यमा बजारमा उपलब्ध गराइने बताइएको छ ।
एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्
गलेश्वर । विसं २०७६ को चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएकाे थियाे । लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग पनि नभएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ सालको चैतदेखि बन्द अवस्थामा रहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चिजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज पनि कुहिएर खेर गएकाले चिज उद्योग पुनः सञ्चालन गर्न नसकिएको घारको हिमालय चिज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए । खड्काका अनुसार गत साल लकडाउन शुरु भएपछि चिजको माग घट्यो । ‘स्टक’ रहेको चिज स्थानीयलाई ५०० प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चिज उद्योग पूर्णरूपमा बन्द गरिएको हो । चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्र्न थालेको स्थानीयवासीले बताएका छन् । घारको हिमालय चिज उद्योगमा ३५ कृषक आबद्ध छन् । उनीहरुले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् । नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३०० लिटर दूध उत्पादन गरी चिज उद्योग सञ्चालन भएको थियो । चिज उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषक हतोत्साही बनी धमाधम गाई नै बिक्री गर्न थालेका स्थानीयवासी लिलबहादुर खड्काले बताए । घारका ३५ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरूपमा चिज उत्पादन गर्दै आएका छन् । त्यतिबेला २० लाखको लगानीमा कृषकले चिज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै ३२ लाख पु¥याएका थिए । जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले चिज उद्योग सञ्चालन गरी गुणस्तरीय चिज उत्पादन गर्दै आएको भए पनि बजारको समस्याले नियमित बिक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिवसमेत रहेमन खड्काको भनाइ छ । गाउँका ४५ कृषकले दैनिकरूपमा चिज उद्योगमा दूध बिक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिटर ६० देखि ९० सम्ममा कृषकबाट दूध खरिद गर्दै आएको छ । चिजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जनाएको छ । व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले रु ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि रु एक लाखदेखि तीन लाखसम्म लगानी गरी स्थानीयवासीले उन्नत जातको गाई खरिद गरेका थिए । अहिले चिज उद्योग बन्द भएपछि यी किसान ठूलो समस्यामा परेका छन् । चिज उद्योग सञ्चालन हुने/नहुने कुराको टुङ्गो नलाग्दा किसान गाई बेच्ने वा पाल्ने भन्ने द्विविधामा परेको स्थानीयवासी कृष्णप्रसाद बरुवालले बताए । रासस
रवि भक्त श्रेष्ठको सभापतित्वमा एफएनसिसिआईको अनुशासन समिति गठन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८९क०अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी रहेका छन् । त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् । यस्तै समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेका छन् ।