सर्वोतम र होङ्सीको ‘बिजनेस स्ट्राटेजी’ले अन्य सिमेन्ट उद्योगलाई दबाब
काठमाडौं । नेपालका ठूला दुई सिमेन्ट उद्योग सर्वोतम र होङ्सी शिवम सिमेन्टको आ–आफ्नै व्यापार रणनीतिले अन्य उद्योगलाई दबाब परेका छन्। यी दुइ कम्पनीले बिक्री मूल्य कम गर्ने र व्यापारीलाई उधाराेकाे सीमा बढाउने रणनीति लिएपछि अन्य कम्पनीलाई दवाव परेकाे जानकारहरूले बताएका छन् । अहिले भौतिक पूर्वाधारहरुको संरचना निर्माणको सिजन सुरु भएसँगै विभिन्न निर्माण सामग्रीहरुको मूल्यसँगै सिमेन्टको मूल्य पनि बढ्दै गएको छ । बजारमा सिमेन्टको माग बढेसँगै विभिन्न उद्योगहरुले पनि ग्राहकलाई आफूतर्फ आकर्षित गर्नको लागि, बिक्रेतालाई प्राेत्साहित गर्नकाे लागि विभिन्न रणनीति लिएका छन् । स्रोतका अनुसार अहिले सर्वोतम र होङ्सी शिवम सिमेन्ट उद्योगको विजनेस स्ट्रयाटेजीले अन्य सिमेन्ट उद्योगहरु पेलानमा परेका छन् । ‘अहिले सिमेन्ट उद्योगहरुमा मूल्यको प्रतिस्पर्धा देखिएको छ, सर्वोतम सिमेन्टले मूल्य कम गर्ने, बिक्रेता र ठूला संस्थागत निर्माण कम्पनीलाई सिमेन्ट उधारो दिएर जति सक्दो बजार विस्तार गर्ने रणनीति लिएको छ । यस्तै, स्रोतका अनुसार होङ्सी शिवम सिमेन्ट उद्योगले सिमेन्ट उधारो नदिने तर मूल्य कम गरेर बजारमा आफ्नो उपस्थिति बलियाे बनाउने रणनीति लिएको छ । सर्वोतम र होङ्सी शिवम सिमेन्ट दुवै विदेशी लगानी भएका उद्योगहरु हुन् । ठूलो लगानी र ठूलो सिमेन्ट उत्पादन गर्ने क्षमता भएका यी दुई कम्पनीका आक्रामक रणनीतिका कारण अन्य सिमेन्ट उद्योगहरुलाई बजारमा प्रतिस्पर्धा गर्न कठिन हुँदै गएकाे उद्याेगीहरू बताउँछन् । सिमेन्ट उत्पादक संघका महासचिव केशव उप्रेतीले पनि बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाले सही मूल्य निर्धारण गर्न समस्या भइरहेको बताए । उनका अनुसार यसले नयाँ उद्योगहरुलाई थप चाप परेको छ । ‘अहिले विभिन्न सिमेन्ट उद्योगहरुले आफ्नो लागतका आधारमा सिमेन्टको मूल्य आफै निर्धारण गर्ने गरेका छन्, जुन उद्योगले अरुको क्लिङकर ल्याएर सिमेन्ट बनाइ बेच्छन्, तिनीहरुलाई बढी प्रेसर छ । त्यसैले सही मूल्य निर्धारण आवश्यक नै छ’ उनले भने । सिमेन्ट ग्राण्डिङ उद्याेगका लगानीकर्ताले सिमेन्टकाे मूल्य मिलेर वृद्ध गर्ने नेपाल सिमेन्ट उत्पादक संघमा लविङ गरिरहेका छन् । तर क्लिङ्कर उद्याेगसहित सिमेन्ट उद्याेग चलाउँदै आ एकाे उद्याेगीले साना उद्याेगिकाे मागप्रति वेवास्ता गरिरहेका छन् । संघका अनुसार नेपालमा हाल ६५ वटा सिमेन्ट उद्योगहरु सञ्चालन छन् । आफै क्लिङ्कर उत्पादन गर्ने सिमेन्ट उद्योगहरु १९ वटा छन् । बाँकी उद्याेगहरू ठूला कम्पनीसँग क्लिङ्कर खरिद गरेर ग्राण्डिङ मात्र गर्दै अाएका छन् । आफूहरुले सिमेन्ट खरिद बिक्रीमा बैंकिङ्ग कारोबार हुनु पर्छ भने पनि त्यो व्यवस्था हालसम्म उद्योगहरुले कार्यान्वयन गर्न नसकेको उनको भनाई छ । ‘अधिकांश उद्योगहरुले सिमेन्ट उधारोमा नै दिइरहेका छन्, क्लिङकर मात्रै नगदमा बिक्री गरिरहेका छन्, सिमेन्ट उद्योगले नगदमै कारोबार गर्नुपर्छ भन्ने सहमति संघमा भएपनि त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन,’ उनले भने । सर्वोतम सिमेन्ट, सर्वोतम भविष्यकाे नारा दिएर सिमेन्ट उद्योगहरुमा आफूलाई बलियो सिमेन्ट उद्योगका रुपमा चिनाइरहेको छ। कम्पनीले पाल्पा तथा चितवनको चुनढुंगा मिश्रणबाट उत्पादित क्लिङकर नेपालका विभिन्न शहरका अन्य २० वटा उद्योगहरूले खरिद गर्छन् । कम्पनीका अनुसार वार्षिक उत्पादन क्षमता १ हजार २५ करोड बोरा रहेको छ । नवलपरासीमा उत्पादित सर्वोत्तम सिमेन्टले ग्रिन ओ.पि.सि.र ग्रिन पि.एस.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ । पछिल्लो समय सर्वोत्तम सिमेन्टको उत्पादन बढेको छ । दैनिक ४० हजार बोराबाट उत्पादन क्षमता बढाएर ६० हजार बोरा पुर्याएको कम्पनीका जनरल मेनेजर सुभाष पाण्डेले बताए । सर्वोत्तम सिमेन्ट हाइड्रो पावर, ठूला भवन निर्माणमा सबैभन्दा बढी माग भएको सिमेन्ट हो । अहिले कम्पनीको ओपीसी सिमेन्टको मूल्य ७२० देखि ७५० रुपैयाँ, पीपीसी सिमेन्टको मूल्य ५९० देखि ६५० रुपैयाँमा बिकी भैरहेकाे छ । यस्तै, बजारमा आफूलाई बलियो उद्योगका रुपमा चिनाउने होङ्सी शिवम सिमेन्टले पनि आफ्नै बिजनेस स्ट्रोटेजी बनाएर अगाडि बढिरहेको छ । यसले बजारको मूल्यलाई नै असर परेको स्रोतको भनाई छ । होङ्सी शिवम सिमेन्टका उपाध्यक्ष विश्व नाथ गोयलले आफ्नो सिमेन्ट उद्योगले कम मूल्य तर उधारो नदिएर बजार विस्तार गर्ने रणनीति लिएको बताए । हामीले कुनै पनि माल उधारोमा बेच्दैनौं तर कम मूल्यमा सिमेन्ट बिक्री गर्ने रणनीति बनाएका छौं, बजारमा मूल्यमा प्रतिस्पर्धा नै छ, हाम्रो मूल्य कम भएपछि अरु उद्योगलाई प्रसेर त पर्ने नै भयो,’ उनले भने । उनका अनुसार ३० वटा उद्योगहरुले होङ्सी शिवमको क्लिङ्कर खरिद गर्ने गरेका छन् । हाेङ्सी सिमेन्ट प्रतिबाेरा पीपीसी ६१० देखि ६३० सम्म र ओपीसी ७१० देखि ७४० रूपैयाँसम्ममा बजारमा बिक्री भइरहेकाे छ ।
महासंघका पदाधिकारी र जेटियुसीसी प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष मा. जगत सिम्खडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेको उक्त भेटवार्तामा कोभिड महाव्याधीका कारण मुलुकको उद्योग व्यवसाय लगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठेरो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भएको थियो । सोही अवसरमा जेटियुसीसीका तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रह सहित ज्ञापन पत्र समेत बुझाइएका थियो । सो अवसरमा जेटियुसीसीका प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटल लगायत केही उद्योगहरू अझै तङ्ग्रन नसकेको बताए । मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशिल रहेको पनि उनले स्पष्ट पारे। अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासंघले जेटियुसीसीसंग नजिकमा रहेर काम गरेको प्रसंग उल्लेख गर्दै मुलुकभित्र श्रम सम्बन्धलाई थप मजबुद बनाउन महासंघ र जेटियुसीसी बीचको सहकार्यमा जोड दिए । अध्यक्ष गोल्छाले अवको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको बनाउने र करिव २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले भिजन पेपरमा काम गरिरहेको स्पष्ट पार्दै महासंघको यस लक्ष्यलाई पुरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग महासंघले खोजेको बताए ।
कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई
खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएका छन् । स्था नीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन् । उनले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेकी थिइन् । मन्त्री राईले पदभार ग्रहण गरे लगतै फेसबुकमा लेखेकाे स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताएकी छिन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गरेपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गरेकी छिन् । रासस