महासंघको भिजन पेपर सार्वजनिक, १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ –एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले महासंघको भिजन पेपर सार्वजनिक गर्दै १ सय खर्बको अर्थतन्त्र बनाउने उद्धेश्य रहेकाे बताएका छन् । आज राजधानी भएको महासंघको ५५औं वार्षिक साधारण सभामा उनले महासंघको भिजन पेपर सार्वजनिक गर्दै १० वर्षमा मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको हुने बताएका हुन् । उनले भिजन पेपर सार्वजनिक गर्दै त्यसका लागि १ सय ५० अर्ब लगानी हुने बताए । त्यसमा १०८ अर्ब डलर निजी क्षेत्रबाट हुने उनले बताए । भिजन पेपरका अनुसार १० वर्षमा २२ लाखले रोजगारी पाउने छन् । भिजन पेपरमा १४ वटा कानूनमा सुधारको समेत माग गरिएको छ । भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गर्ने गोल्छाको भनाई छ । ‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीत, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं,’ अध्यक्ष गोल्छाले भने । उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए । अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ । अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ । यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ ।
राजेन्द्र मल्ल चेम्बर अफ कमर्शको अध्यक्ष, विशिष्टलाई समेट्दै ५५ जनाको कार्यसमिति
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । चेम्बरले विभिन्न क्षेत्रका विशिष्ट व्यवसायीलाई समेट्दै ५५ सदस्यीय कार्यसमिति सहमतिमा चुनेकाे हाे । कार्यसमितिका निर्वाचित सदस्यहरूले शुक्रबार नै पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । चेम्बर अफ कमर्शको विधान अनुसार वाणिज्य तर्फ १५ जनामा कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा, मनोज कुमार केडिया, निलकण्ठ चौलागाई, सन्तोष कुमार पाण्डे, नवराज ढकाल, राष्ट्रभुषण चाकुबजी, राजु श्रेष्ठ, दिपक काजी तुलाधर, सुरेन्द्र कुमार सारदा, निरज राई, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, अशोक कुमार अग्रवाल र कैलाशचन्द्र गोयल निर्वाचित भएका छन् । त्यस्तै उद्योग तर्फ ९ जना सर्बसहमतिमा निर्वाचित भएका छन् । त्यसमा राजेन्द्र मल्ल, राजेन्द्र प्रसाद अर्याल, किशोर कुमार अग्रवाल, सुमित कुमार अग्रवाल, सुवास चन्द्र संघाई, नरेन्द्र बल्लभ पन्त, सुधिर मित्तल, उर्मिला श्रेष्ठ र दिपेश रत्न तुलाधर रहेका छन् । जिल्ला तर्फको कार्यसमिति सदस्यमा ओम कृष्ण विमली, विजय साह, पंकज जालान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाईचन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ, भिमलाल पौड्याल, सतिस कुमार अग्रवाल, रोसन भोयद्यो, नन्द कुमारी लम्साल(निर्मला), सुगन्ध कुमार गुप्ता, सुशिल पाण्डेय, तुफान खड्का (तिलक) र कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् । यस समूहमा पनि १५ जना निर्वाचित हुने व्यवस्था रहेको चेम्बरले जनाएको छ । नगर तर्फ मन्जु बज्राचार्य, बस्तगत संघ तर्फ अर्जुन प्रसाद शर्मा, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजय कुमार अग्रवाल, सुरेन्द्र भाई शाक्य र किरण कुमार डंगोल निर्वाचित भएका छन् । द्विराष्ट्रिय संस्थागत त्रिभुवन धर तुलाधर, दिपक कुवर र विनायक शाह, आवद्ध तर्फ देबेन्द्र भक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल सर्बसहमतिमा निर्वाचित भएका छन् ।
प्रधानमन्त्रीज्यू ! हामीलाई नीतिगत सहजीकरण मात्रै गरिदिनुस्, नेपालको अर्थतन्त्रलाई विश्वले चिन्ने बनाउँछौं
आधुनिक नेपालको इतिहासमा सात दशकसम्म निरन्तर सक्रिय र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारसँग सधैं हातमा हात मिलाएर अघि बढिरहेको निजी क्षेत्रको गौरवमय संस्था नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा यहाँहरू सबैलाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु । आजको दिन आफैंमा ऐतिहासिक पनि छ । हाम्रा अग्रजहरूले सात दशकअघि जुन परिकल्पनाका साथ चेम्बर स्थापना गर्नुभएको थियो, त्यसलाई मूलमन्त्र मानेर हामी अघि बढिरहेका छौं । नेपाल सरकार, नेपाली जनता तथा देश विदेशबाट हामीलाई प्राप्त स्नेह, सद्भाव तथा विश्वासको जगमा हामी आज सिंगो मुलुकले गर्व गर्न लायक संस्थाका रुपमा स्थापित भएका छौं । निजी क्षेत्रको धरोहरका रुपमा रहेको नेपाल चेम्बर अफ कमर्स अहिले सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथिका रुपमा पहिचान बनाएको सुनाउन पाउँदा हामीलाई गर्व महशुस हुन्छ । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान मूलतः नेपाल चेम्बर र चेम्बरजस्तै संस्थाहरूसँगको सहकार्यबिना पूरा हुन सक्दैन । त्यसैले आजको दिनमा निजी क्षेत्र र सरकारबीच कुनै सीमारेखा कोरिरहनु आवश्यक छैन भन्ने हाम्रो बुझाइ हो । सम्माननीय प्रधानमन्त्रीज्यू, मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा छैन । कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेता पनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ । पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद् छैन । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद् छैन भन्ने देखिन्छ । यतिमात्र हैन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ । ३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ । विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्न सकेको छैन । यसैले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष म यो आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाउँ सारा विश्वले चिन्नसक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं । सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरण मार्फत यसो गर्न सक्छ भन्ने हाम्रो विश्वास छ । नेपाल चेम्बर अफ कमर्सले स्थापनाकालदेखि नै सरकारसँग सहकार्य गर्दै आइरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने नै छ । हाम्रा सल्लाह र सुझावहरू सरकारका ऐन, कानुन, नीति तथा कार्यक्रममा केही न केही समेटिएको अवस्था छ । यसका लागि नेपाल सरकारलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं र भविष्यमा पनि सहकार्यको अपेक्षा गर्दछौं । सरकार र निजी क्षेत्र एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न सक्दैनन् । हामीबीच सहकार्यको विकल्प छैन । सरकार कहिलेकाहिँ गलत बाटोमा हिँड्न खोजेमा सच्याउने दायित्व आम नागरिकको जस्तै निजी क्षेत्रको पनि हो । हामीले खासगरी आर्थिक विषयवस्तुसँग सम्बन्धित नीति नियम तर्जुमाका सन्दर्भमा विगतमा सरकारको आलोचना पनि गरेका छौं र सडकमै ओर्लिएको अवस्था पनि छ । तर पछिल्लो समय निजी क्षेत्र र सरकारबीच सम्बन्ध सुमधुर छ । निजी क्षेत्र र ट्रेड यूनियनबीच पनि विश्वासको वातावरण बनेको अवस्था छ । तातेको बेला फलामलाई आफूले चाहेको आकारमा बदल्न सकिएजस्तै अहिले सरकार, निजी क्षेत्र र श्रमिकबीच विश्वासको वातावरण बनेकाले आर्थिक सुधारलाई नयाँ उचाईमा पुर्याउने उचित अवसर छ । यसका लागि अग्रसरता लिन म सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विनम्रतापूर्वक आग्रह गर्दछु । मुलुकको समृद्धिका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको दृढ इच्छाशक्ति कार्यान्वयनमा अब ढिलो गर्नु हुँदैन भन्ने म आग्रह गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल चेम्बर अफ कमर्सको अध्यक्षका हैसियतले यो मेरो अन्तिम मन्तव्य पनि हो । निजी क्षेत्रको जेठो संस्थाको नेतृत्वमा लामो समयसम्म रहँदा चेम्बरलाई जुन उचाईमा पुर्याउन सकेँ, मुलुकको शासकीय स्वरुप र शासन प्रणालीअनुसार चेम्बरलाई पनि अघि बढाउन सफल भएँ । यसको श्रेय म सम्पूर्ण चेम्बर सहकर्मी, निजी क्षेत्र र नेपाल सरकारलाई दिन चाहन्छु । सबैको साथ र सहयोगकै कारण नेपाल चेम्बर आज नीति निर्माणदेखि व्यवसायीका समस्यामा सहजीकरण, प्रवद्र्धन तथा भोलिको सुनौलो भविष्यका किरण देखाउने सारथी बनेको छ । व्यवसायीको प्रतिनिधिमूलक संस्था भए पनि चेम्बर नेपाली समाजलाई संकटमा पर्दा मल्हमपट्टी लगाउने सामाजिक संस्था पनि हो । भिन्न विचारका राजनीतिक नेतृत्वसँग समान दूरी राख्दै आर्थिक विकासमैत्री बनाउन उत्प्रेरित गर्ने यो संस्थाको गरिमासँग म भोलिका दिनमा पनि अवश्य नै जोडिनेछु । मेरो कार्यकालमा चेम्बरलाई सधैँ साथ सहयोग गर्नुहुने र चेम्बरको सल्लाह सुझावलाई गम्भीरतापूर्वक मनन गर्नुहुने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू लगायत वर्तमान सरकार र यसअघिका सबै सरकारका प्रधानमन्त्री तथा मन्त्रीज्यूहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । नेपाल सरकार अन्तर्गत रहनुभएका विभिन्न मन्त्रालय तथा निकायका पदाधिकारीज्यूहरू, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिज्यूहरू, सरकारका संवैधानिक अंग, सुरक्षा निकाय, विभिन्न राजनीतिक दल, विदेशस्थित चेम्बरका साझेदार संघ संस्था लगायत निजी क्षेत्रका अन्य संघ संस्थालाई पनि सहकार्यका निमित्त धन्यवाद ज्ञापन गर्न चाहन्छु । सञ्चार क्षेत्रले पनि चेम्बरलाई धेरै माया गर्ने गरेको छ । यसका निमित्त सबै सञ्चारकर्मीप्रति कृतज्ञ छु । यस्तै, चेम्बरको सचिवालयका मित्रहरू र मेरो कार्यसमितिका सदस्यहरूका साथै देशैभरका साथीहरूप्रति पनि आभारी छु । म चेम्बरको प्रत्यक्ष नेतृत्वमा नरहे पनि चेम्बरभित्रै छु । मेरो जीवनका उर्वर समय चेम्बर अफ कमर्समै बितेको छ र आज मेरो जुन पहिचान बनेको छ, त्यसमा चेम्बर पनि जोडिएको छ । त्यसैले यसबाट म कहिल्यै टाढा हुन सक्दिनँ । अब आउने नयाँ नेतृत्वलाई पनि म शुभकामना दिन चाहन्छु र मलाई झैँ नयाँ नेतृत्वलाई पनि पूर्ण सहयोग रहने अपेक्षा गरेको छु । चेम्बरको यो गरिमा जोगाउँदै आउँदा दिनमा यसलाई नयाँ उचाईमा पुर्याउन निरन्तर प्रयत्न गर्नु आवश्यक छ । हामीलाई अग्रजले नासोका रुपमा छाडेर गएको यो गौरवमय संस्थाको लाभ भोलिका पुस्ताले पनि पाउनु पर्छ । अन्त्यमा, नेपालको निजी क्षेत्रलाई हौसला दिनुहुने सबैैमा हार्दिक आभार व्यक्त गर्दछु । आफ्नो अमूल्य समय दिएर नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभामा पाल्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीज्यू, अन्य विशिष्ट अतिथिगण तथा महानुभावहरूमा पुनः हार्दिक आभार व्यक्त गर्दछु । (नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारण सभामा अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रस्तुत गरेका मन्तव्य)