विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन् । उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो सम्झौता जतिसक्दो चाँडो खुला गर्न माग गरेका हुन् । आज यहाँ आयोजित नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको भन्दै नेपाल सरकारका सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराए । उनले यसबाट लागत र अन्योल बढेको जानकारी ऊर्जामन्त्री पम्फा भुसाललाई गराउनुभएको थियो । मन्त्री भुसालसमेत सहभागी उक्त कार्यक्रममा ढकालले भने, ‘अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आशङ्का, अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नु भएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्नसकेमा मात्र आर्थिक विकास हुन्छ ।’ वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युत्को खपत बढ्नसक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्न पनि सुझाव दिनुभयो । उहाँले ऊर्जा क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिने गरी परिणाम निकाल्न आफूहरु तयार रहेको पनि बताए ।
उर्लाबारी उद्योग वाणिज्य संघकाे अध्यक्षमा भण्डारी निर्वाचत
मोरङ । मोरङको उर्लावारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शेरबहादुर भण्डारी निर्वाचत भएका छन् । उनले सात सय ८९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी तारामान सेरेङले ६ सय ३० मत प्राप्त गरे । सङ्घको १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जङ्गबहादुर कार्की, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान, महासचिवमा हेमराज गुरुङ, उद्योग सचिवमा डिल्लीराम खतिवडा, वाणिज्य सचिवमा सात सय ३८ मतका साथ भेषबन्दु निरौला र कोषाध्यक्षमा राजन दाहाल विजयी भएका छन् । कार्यसमितिका चार सदस्यमा गोपाल भण्डारी, नित्तम चौहान, नुतन राई पिके, राजकुमार श्रेष्ठ र दशरथ यादव बेचन विजयी भए । यस्तै, लेखा समितिको संयोजकमा गणेश खत्री र सदस्यद्वयमा राधिका काफ्ले र रोशन घिमिरे विजयी भएका छन् ।
एसियन कंक्रिटोकाे कमालः १५०० मजदुरले गर्ने काम २५ जनाले सक्छन्, दैनिक ६०० मेट्रिक टन सामग्री उत्पादन
चितवन। मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन लिन सफल भएको हो । उद्योगले दैनिक एक हजार ५०० हाराहारी मजदुरले गर्नुपर्ने काम स्वचालित उपकरणको प्रयोग गरी २५ जनाले पूर्ण क्षमतामा उत्पादन गर्न सफल भएको छ । जर्मन प्रविधिको मासा कम्पनीको यस उपकरण सञ्चालनमा अपरेटरको मात्रै बढी काम हुने गरेको छ । उद्योगमा रहेका २५ जनामध्ये मेसिन अपरेटर, सवारीचालक, गुणस्तर मापन गर्ने र निर्देशन गर्ने इञ्जिनियर एवं प्रविधिकसँगै उत्पादन सामग्रीलाई व्यवस्थापन गर्ने केही मजदुर छन् । उद्योगका उपाध्यक्ष श्यामल झाका अनुसार उद्योगमा कच्चा पदार्थ आइसकेपछि त्यसको भण्डारण गरिन्छ । बालुवा, गिट्टी, सिमेन्ट, पानी र रङको प्रयोग गरी मोज्याक टायल, इटालगायतका ३० प्रकारका निर्माणजन्य सामग्री उद्योगले उत्पादन गर्दै आएको छ । बाहिरबाट आएको गिट्टीलाई उद्योगभित्रै आवश्यक आकारमा परिणत गरिन्छ । झाका अनुसार कच्चा पदार्थ छ ठाउँबाट स्वचालित उपकरणमा पठाइन्छ । लोडर चालकले सामग्री हालेपछि विभिन्न प्रशोधन प्रक्रिया हुँदै तयारी सामग्री बाहिर आउँछ । यस क्रममा गुणस्तर मापन गर्ने विज्ञ, इञ्जिनीयर, अपरेटरसहित केही मजदुरले काम गर्दनन् । कच्चा पदार्थ हालिसकेपछि स्वचालित प्रक्रियाबाट प्रशोधन हुँदै आवश्यक आकारका निर्माण सामग्री बनेर अत्याधुनिक रोबटिक प्रविधिको भट्टीमा उच्च ताप दिएर तयारी सामग्री प्याकिङ गरी बाहिर आउँदछ । उद्योगको दैनिक ६०० मेट्रिक टन निर्माण सामग्री उत्पादन गर्ने क्षमता छ । झा भन्छन् “हामी एक दिनमा छ मिटर चौडा बाटो १० किलोमिटर बनाउन पुग्ने गरी सामग्री उत्पादन गर्न सक्छौँ ।” उद्योगका अध्यक्ष मनिष रुङ्गटा ठूलो जोखिम मोलेर यो प्रविधि नेपाल भित्र्याइएको बताउँछन् । भारतमा समेत दुई वटा मात्रै यस्ता उपकरण रहेको भन्दै उनले भने, “अब हामी आशावादी छौँ नेपाल गुणस्तर चिह्नसमेत पाउन सफल भयौँ ।” युरोपियन तथा भारतीय मापदण्डअनुसार उत्पादन भइरहेको आफ्नो उत्पादन देशका प्रमुख सहरमा पुगेको उनको भनाइ छ । राजधानीका तीन सहरमा लगाइएका मोज्याक अधिकांश आफ्नो कम्पनीको रहेको उनको भनाइ छ । सुरुमा उपकरण खरिदमा महँगो तिर्नुपरे पनि थोरै जनशक्तिबाट धेरै काम गर्न सक्दा लक्ष्यअनुसार काम गर्न पाएको रुङ्गटाले बताए । कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालले भूकम्पपछि आफूहरूले नेपालमा यो उत्पादनको आवश्यकता महसुस गरेर जर्मन पुगेको स्मरण गराए । “उपकरण निर्माता कम्पनीले यति महँगो स्वचालित उपकरण नेपालमा सञ्चालन गर्न कठिन छ, नलैजानु भन्यो” उनले भने, “हामीले उल्टो उत्पादक कम्पनीका सञ्चालकलाई सम्झाउनु प¥यो ।” व्यावसायिक घरानाको समूहले एक अर्ब ५० करोड रुपैयाँ लगानी गरेर यो उद्योग सञ्चालनमा ल्याइएको हो । यसको उत्पादनको भार क्षमता एम ३५ देखि एम ५५ सम्मका छन् । त्यसका उत्पादनले एक सय टनसम्म धान्ने क्षमता राख्ने उनको भनाइ छ । यो उत्पादनको आयु ५० वर्षभन्दा बढी भएको उद्योगको दाबी छ । सो उद्योगको उत्पादनको चितवन र छिमेकी जिल्लाको बिक्रेता ओम सञ्जीवनी कङ्क्रिटो कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने ठूला पूर्वाधारमा एशियन कङ्क्रिटोका उत्पादन लगाइएको बताउँछन् । सुन्दर शहर निर्माणमा यसको महत्वपूर्ण भूमिका हुने जनाउँदै उनले भने “मठ मन्दिर, पार्क, फुटपाथ, तरकारी बजार, होटल, रेष्टुराँ, पार्टीप्यालेस र निजी घरमा समेत यसको प्रयोग हुँदै आएको छ ।” विभिन्न रङ र मोडलमा पाइने हुँदा यसको प्रयोगपछि सुन्दरता देखिने उनको भनाइ छ । उद्योग स्वचालित भएकाले कुनै पनि उत्पादनमा समस्याा नआउँदा प्रयोग गरेको ठाउँबाट कुनै गुनासो सुन्न नपरेको न्यौपाने बताउँछन् । उद्योगले सामग्री उत्पादनपछि बजारमा कसरी सुन्दर र बलियो बनाउने भन्ने सीप तथा प्रविधि समेत दिंदै आएको छ । कम्पनीले हाल दुई हजार हाराहारी जनशक्तिलाई आफ्ना उत्पादन लगाउन तालिम दिइसकेको छ । कम्पनीले आवश्यक ठाउँमा उत्पादनसँगै सीप पनि प्रदान गर्ने गरेको छ । रासस सम्बन्धित सामग्री: एसियन कंक्रिटोको नेपाल यात्राः १५० करोडको लगानी, जर्मनीबाटै निगरानी