४० अर्बको डेभलपमेन्ट कम्पनी सम्भव, दोस्रो चरणको आर्थिक सुधार अपरिहार्य : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक रूपान्तरणलाई तीव्र बनाउन दोस्रो चरणको संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् ।

महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्रको अगुवाइमा ठूला लगानी परियोजना अघि बढाउन सकिने बताउँदै ४० अर्ब रुपैयाँसम्मको डेभलपमेन्ट कम्पनी स्थापना गर्न सकिने सम्भावना प्रस्तुत गरे । 

उनले महासंघको ६० वर्षे यात्रा केवल संस्थागत इतिहासमा सीमित नभई देशको आर्थिक समृद्धिको दीर्घकालीन अभियान भएको उल्लेख गरे । 'यो यात्रा विगतको सम्झना मात्र होइन, आगामी समृद्ध नेपाल निर्माणको आधार पनि हो,' उनले भने । 

ढकालले विगतमा भएका विभिन्न राजनीतिक आन्दोलन र अस्थिरताका कारण निजी क्षेत्र पटक–पटक प्रभावित भएको स्मरण गर्दै अबको सरकारले व्यवसायमैत्री वातावरण सिर्जना गर्न सकारात्मक संकेत दिएको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थायित्व र कार्यान्वयनमा स्पष्टता आवश्यक रहेको धारणा राखे । 

उनका अनुसार अहिले देशले अभूतपूर्व अवसर पाएको छ । 'हामीसँग स्थायी सरकार छ, नीतिगत स्पष्टता ल्याउने अवसर छ, र लगानी आकर्षित गर्ने सम्भावना पनि उच्च छ,' उनले भने, 'यो अवसरलाई सदुपयोग गर्न नसके हामी फेरि पछि पर्न सक्छौं ।' 

रोजगारी सिर्जना र आयस्तर वृद्धिलाई प्राथमिकतामा राख्दै उनले आगामी दशकभित्रै नागरिकलाई मर्यादित र उच्च आय सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिए । उनले हालको अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै हरेक वर्ष करिब ७ लाख युवा रोजगारीका लागि विदेशिनु चिन्ताजनक भएको बताए । 

'हामीले युवालाई उनीहरूको क्षमताअनुसार देशभित्रै अवसर दिन सकेनौं भने दीर्घकालीन विकास सम्भव हुँदैन,' उनले भने । 

ढकालले नागरिकको मुख्य चाहना सहज, सुरक्षित र गुणस्तरीय जीवनयापन भएको उल्लेख गर्दै आर्थिक नीतिहरू पनि त्यही दिशामा केन्द्रित हुनुपर्ने बताए । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो । 

सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको भावी आर्थिक इञ्जिनका रूपमा चित्रण गर्दै उनले यस क्षेत्रमा ठूलो विस्तारको सम्भावना रहेको बताए । 

'आईटी क्षेत्रले कम लगानीमा उच्च प्रतिफल दिन सक्छ, रोजगारी सिर्जना गर्न सक्छ, र विश्व बजारमा नेपाललाई प्रतिस्पर्धी बनाउन सक्छ,' उनले भने । 

यसै सन्दर्भमा उनले महासंघकै नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजी रहेको ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना भइसकेको जानकारी दिए । उक्त कम्पनीलाई इक्विटीको आधार बनाएर थप लगानी जुटाउँदै ४० अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिने उनको विश्वास छ । 

'यो कम्पनीले ठूला पूर्वाधार, ऊर्जा, पर्यटन र औद्योगिक परियोजनामा लगानी गर्नेछ,' उनले भने । 

उनले दोस्रो चरणको आर्थिक सुधारअन्तर्गत नीतिगत सुधार, प्रशासनिक सरलीकरण, लगानीमैत्री वातावरण निर्माण, वित्तीय पहुँच विस्तार र उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको औंल्याए । यस्ता सुधारले निजी क्षेत्रलाई सशक्त बनाउने र अर्थतन्त्रलाई दिगो वृद्धि मार्गमा लैजाने उनको तर्क थियो । 

ढकालले सरकार, निजी क्षेत्र र श्रमिकबीच सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए । 'एक्लैले कसैले पनि आर्थिक रूपान्तरण गर्न सक्दैन । सबै पक्षबीच विश्वास, सहकार्य र साझा लक्ष्य आवश्यक छ,' उनले भने ।
 

Share News