दुई वर्षमै दोब्बर भयो खाने तेलको मूल्य
काठमाडौं । नेपालमा कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य आकाशिएको छ । सरकारले कोभिड–१९ को संक्रमण नेपालमा फैलिएको भन्दै लागू गरेको लकडाउनपछि खाने तेलको मूल्यमा उच्च बृद्धि भएको हो । सरकारले कोभिड संक्रमण फैलन नदिनेभन्दै २०७६ को चैत ११ गतेदेखि देशभर बन्दाबन्दी जारी गरेको थियो । नेपाल खुद्रा व्यवसायी महासंघको तथ्यांक अनुसार बन्दाबन्दी (लकडाउन) पछि काँचो तोरीको तेल प्रतिलिटर १ सय रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपैयाँले बढिसकेको छ । यो तथ्यांक २०७६ जेठ ३१ देखि गत भदौ १० गतेसम्मको हो । २०७६ फागुनदेखि २०७८ को भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बर भएको छ । २०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपैयाँ भएको छ । यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर एक सय रुपैयाँले बढेको छ । यस्तै, २०७६ जेठ ३१ गते प्रतिलिटर २२० रुपैयाँ रहेको भुटेको तोरीको तेल गत भदौ १० गते प्रतिलिटर ३६० रुपैयाँ पुगेको छ । यो अवधिमा सबै भन्दा बढी मूल्य बढेको भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँले बढेको हो । नेपाल खुद्रा व्यवसायी महासंघका अनुसार २०७६ जेठ २ गते भटमासको तेल प्रतिलिटर १३५ रुपैयाँ थियो । गत भदौ १० गते सो तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपैयाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । काँचो तोरीको तेल रु. १६० बाट २६० (१०० रुपैयाँले बढ्यो) भुटेको तोरीको तेल रु. २२० बाट ३६० (१४० रुपैयाँले बढ्यो) भटमासको तेल रु. १३५ बाट २४० (१०५ रुपैयाँले बढ्यो) सनफ्लावर तेल रु १४५ बाट २५० (१०५ रुपैयाँले बढ्यो) यस्तै, २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपैयाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २४० रुपैयाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । कोभिड संक्रमणको जोखिम भएको भन्दै सरकारले गरेको बन्दाबन्दी हटेर बजार सामान्य अवस्थामा आएको समयमा तेलको मूल्य उच्च भएको हो । विभागको कारवाहीपछि बढ्यो मूल्य कोभिड महामारीपछि तेल उद्योगीले मूल्य बढाएको गुनासोपछि बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले तेल उद्योगको अनुगमन गरेको थियो । २०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुुगमनपश्चात बारामा रहेका २ तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले कारवाही स्वरुप ३ लाख नगद जरिवाना गर्दै मूल्य घटाउन निर्देशन समेत दिएको थियो । विभागका प्रवक्ता शिवराज सेढाई बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीन/तीन लाख रुपैयाँ जरिवाना गरिएको बताउँछन् । अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यबृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनको पालना नगरे कानून अनुसार थप कारवाही हुने चेतावनी विभागले दिएको थियो । विभागले मूल्य घटाएर नयाँ मूल्यसूची समेत पठाउन निर्देशन दिएपनि ती २ उद्योगले मूल्य घटाएका थिएनन् । विभागले २ पटकसम्म ताकेता गर्दा समेत कुनै जानकारी नदिएपछि विभागबाट कुनै फलोअप समेत भएको छैन । विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । खुद्रा व्यवसायी महासंघको तथ्यांक अनुसार २०७७ को मंसिरको तुलनामा चैत महिनामा तेलको मूल्य उच्च रुपमा बढेको हो । खुद्रा व्यवसायीहरु विभागले बजार अनुगमन गरेपछि व्यवसायीले मूल्य बढाएको बताउँछन् । विभागको फितलो बजार अनुगमनका कारण तेल उद्योगीहरुले आफूखुशी तेलको मूल्य बढाउने गरेको खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष प्रवित्रकुमार बज्रचार्य बताउँछन् । उनले विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिएपनि उद्योगीले पत्रमा मात्र घटाएको जनाउँदै झन मूल्य बढाएको बताउँछन् । उद्योगीको पुरानै जवाफ पछिल्लो समय खाने तेलको मूल्य फेरि बढ्न थालेपछि विभागले केही दिनअघि तेल उद्योगीसँग छलफल गरेको थियो । १९ तेल उद्योगका प्रतिनिधिसँग विभागले गरेको छलफलमा उद्योगीले कच्चा पदार्थको मूल्य बढ्दा प्रशोधित तेलको मूल्य बढेको बताएका थिए । विभागका प्रवक्ता सेढाईका अनुसार सो छलफलमा उद्योगीले पुरानै कुरा (अन्तर्राष्ट्रिय रुपमा कच्चापदार्थका मूल्य बढ्दा बढ्यो) गरेका थिए । उद्योगीले छलफलमा बनावटी कुरा गरेको भन्दै विभागले तेलको कच्चा पदार्थ आयातको विवरण लिएको र त्यसमा उद्योगीले तोकेको मूल्य माग गरेको थियो । सो विवरण हेरेर थप अनुसन्धान अघि बढाउने तयारी गरिएको विभागले जानकारी दिएको छ । अहिले तोरीको तेल उत्पादन गर्ने उद्योग करिब ८ वटा छन् भने वनस्पति घ्यू तेल (भटमास तथा सनफ्लावर तेल लगायत) उत्पादन गर्ने उद्योग करिब २० वटा छन् ।
सुदूरपश्चिममा उद्योगको संख्या बढ्दै, विदेशबाट फर्केका युवा उद्यमतर्फ लाग्दै
काठमाडाैं । पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यसैगरी कृषि र वनमा आधारित उद्योगको सङ्ख्या आठ हजार ६७२, ऊर्जामूलक छ हजार ३८५, उत्पादनमूलक पाँच हजार ६१३, पर्यटनका चार हजार १८ र निर्माणसम्बन्धी २३१ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिए । कोरोना महामारीका कारण धेरै व्यक्तिहरु स्वदेश फर्केर लघु उद्यमतिर लागेर स्वरोजगार बन्दै आएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू देशभित्रै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम बढेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा लघु उद्यमीको सङ्ख्या २२ हजार ५७९ रहेको तथा तीमध्ये सक्रिय लघु उद्यमीको सङ्ख्या १७ हजार ६८ र निष्क्रियको सङ्ख्या पाँच हजार ५११ रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो समयमा रोजगारीका लागि विदेश गएर घर फर्किएका युवा होटल तथा रेस्टुरेन्ट, पर्यटन उद्योग, धातुजन्य उद्योग, कृषि तथा पशु फार्म, निमार्णजस्ता साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएका छन् । महिलाका नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पाइएको मन्त्रायलयले जनाएको छ । रासस
लुम्बिनी प्रदेश: २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्
रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै २५ अर्बको लगानी छ । यहाँ साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताउँन् । अध्यक्ष गौतमका अनुसार अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो दुई वर्षमा यहाँ एक सय होटल थपिएका छन् तर कोरोना भाइरस महामारीका कारण यहाँ सञ्चालनमा रहेका पर्यटन व्यवसाय भने धरासायी बन्दै गएको अध्यक्ष गौतमको भनाइ छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेष्टुरेण्ट छन् । तीन वटा होटल निर्माणाधीन अवस्थामा छन् । कोरोनाको असरले लामो समय बन्द गर्नुपरेपछि कतिपय व्यवसायीले होटल बिक्री गरेका छन् । होटलको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि केही सञ्चालक होटल छाडेरसमेत हिँडेका छन् । पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन् । लुम्बिनी क्षेत्रमा सम्पन्न भएका र अन्तिमचरणमा रहेका केही ठूला पूर्वाधारका कारण यहाँ पर्यटनको अपार सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर निराश छन् । केही विदेशी र अधिकांश ठूला स्वदेशी लगानीकर्ताले निर्माण गरेका तारे होटल पनि अहिले खाली छन् । कोरोना महामारीका कारण लामो समय बन्द भएका होटल पहिलेकै अवस्थामा सञ्चालन गर्ने अवस्था छ्रैन । कोरोना भाइरस सङक्रमण पछिको अवस्थामा होटल स्यानिटाइजेसन, शुद्ध र शक्तिबद्र्धक खानाको छनोट जस्ता विषयमा पर्यटन व्यवसायी र कर्मचारीलाई प्रशिक्षण आवश्यक छ । यस्ता विषयमा ध्यान पुर्याएर आतिथ्य दिँदा पर्यटकमा सकारात्मक सन्देश जाने भएकाले सरकारले प्रशिक्षण तथा अभिमूखीकरण कार्यक्रमको आयोजना गर्न लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माको आग्रह छ । अहिले दैनिक एक हजारको हाराहारीमा पर्यटक लुम्बिनी घुम्न आए पनि दिनभर घुमेर रात नबिताइ फर्किंदा यहाँँका पर्यटन व्यवसायीले लाभ लिन नसकेको लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव शर्मा बताउँछन्,’कोरोना सङ्क्रमणका कारण आन्तरिक पर्यटकले रात बितााउँँदैनन्, विदेशी पर्यटक आउन चाहेर पनि पाएका छैनन्, पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगयतका देशका पर्यटक बुद्धजन्मस्थल आउन इच्छुक छन्, फोन गरेरै अन्तरराष्ट्रिय उडान खुल्ने वित्तिकै आउँछौं भनेका छन् तर महामारी नहटेसम्म आउने अवस्था छैन’, शर्मा भन्छन् । भर्खरै सम्पन्न भएर परीक्षण उडानको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल, बुटवल– भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, वेथरी–वेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ छ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तरराष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र, लुम्बिनीमा पाँच हजार क्षमताको सभाहललगायतका ठूला पूर्वाधारले यहाँ लगानीकर्ताको ध्यान तानिएको हो । भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा बाउन्नकोटी सामुदायिक वन नजिकै रु पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । कोरोना महामारीका कारण लामो समय बन्द अवस्थामा रहे पनि यो होटल यस क्षेत्रको ठूलो होटलका रुपमा रहेको छ । व्यवसायी पवन हलुवाईसहितको रु तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ । यसैगरी डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको लुम्बिनीमै बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई पनि सञ्चालनमा छ । त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ । मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ । यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । लुम्बिनीमै आनन्द ईन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेसनल, स्तुप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् । लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता छ । पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटल फ्लामिङ्गो सञ्चालनमा आएका छन् । यी दुबै होटल कोरोना महामारीकैबीच सञ्चालनमा आएका हुन् । त्यसैगरी ५० करोड हाराहारी लगानीमा भैरहवाको होटल नान्स, होटल निर्वाणा, बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, महाराजा, दरबार लन्जलगायतका होटल सञ्चालनमा छन् । भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटल मदानी सञ्चालनमा छन् । बुटवलमा रु पाँच करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन् । छपियामा एक जना कृषकले २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् । टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शङ्कर टावरमा होटल एसआर सञ्चालन गरिरहेका छन् । अजय चौधरीले कानपारामा करोडौंँ रुपैयाँको लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहनुभएको छ । बसेनि झण्डै १६ लाख पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा दुई वर्षदेखि विदेशी पर्यटकको सङ्ख्या शून्य सरह छ । सबैभन्दा धेरै पर्यटक भित्रिने श्रीलङ्का, थाइल्याण्ड, म्यानमार र चीनबाट पर्यटक आउन चाहेर पनि पाएनन् । कोरोना महामारीका बाबजुद छिमेकीमूलुक भारत हुँदै श्रीलङ्काबाट तीन जना म्यानमारबाट एक जना र चीनबाट ३२ जना पर्यटक लुम्बिनी आए । बुद्धको जन्मस्थल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने अपेक्षाले यहाँ लगानी गर्न लगानीकर्ता हौसिन्छन् तर लगानीकर्ताको लगानी गर्दाको उत्साह पर्यटक आगमन कम भएपछि निराशामा परिणत भइदिन्छ । जग्गा किनेर होटल बनाएकाको छोड्ने अवस्था छैन तर भाडामा लिएका कतिपयले भने किनबेच गरिहेका छन् । सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौँ, पोखरा हुँदै लुम्बिनी ल्याउने, भारतबाट काठमाडौँसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेलगायत महत्वाकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटल व्यवसायमा आकर्षित गरिदियो तर लगानी उठाउन सक्ने अवस्था नहुँदा व्यवसायी निराश छन् । पर्यटन नीतिमा पर्यटन उद्योगको क्षेत्रमा उत्पन्न हुने विषम तथा असहज परिस्थितिमा पर्यटन उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्न विशेष सहुलियतसहितको राहत प्याकेज कार्यक्रम लागू गरिने भनिए पनि अहिलेसम्म केही नपाएको व्यवसायी गुनासो गर्छन । कोरोनाका कारण व्यवसायीले बैंकको ब्याज तिर्न सक्ने अवस्था नभएकाले बैंकको ब्याजमा सहुलियत दिनुपर्ने र पुनः कर्जाको व्यवस्था गरिदिनुपर्ने पर्यटन व्यवसायी अकरामुद्धिन खानको भनाइ छ । पर्यटन नीतिमा नेपालका धार्मिक पर्यटकीय गन्तव्यलाई आध्यात्मिक एवं तीर्थाटनको केन्द्रको रूपमा विकास गरी त्यसमा नियमन गरिने, भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्म, दर्शन एवं अन्तर्राष्ट्रिय शान्ति र आध्यात्मिक शान्ति केन्द्रको रूपमा विकास गरी विश्वव्यापी प्रवद्र्धन गरिने उल्लेख छ । यसैगरी बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी आसपासका क्षेत्र (तिलौराकोट, रामग्राम, देवदह, कोटीहवा, निग्लिहवा, सगरहवा, अरौराकोट, कुदान, सिसानिया) लाई बौद्ध उपपरिपथका रूपमा एकीकृत विकास एवं प्रबद्र्धन गरिने उल्लेख छ तर यी स्थलमा पर्यटनमैत्री संरचना र पूर्वाधार निर्माणका काम नहुँदा अधिकांश पर्यटक लुम्बिनीबाटै फर्कने गरेका छन् । रासस