काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शले सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्कम रहेकाे धारणा राखेकाे छ । आइतबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्कम रहेकाे उल्लेख गरेकाे हाे ।
कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज, चालु खर्च कटौती गरी बच्ने रकम कोभिड -१९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिडकाे कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्ने बजेटकाे व्यवस्था सकारात्मक रहेकाे चेम्बरकाे धारणा छ ।
चेम्बरले कोभिड-१९को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवंम असंगठित क्षेत्रमा रहेको अति विपन्न वर्गलाई राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य कदम भएकाे जनाएकाे छ ।
यस्तै, पूर्वाधार क्षेत्रको विकाशको लागि लगानीको श्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाई चेम्बरले सकारात्मक रुपले लिएको विज्ञप्तिमा उल्लेख छ । चेम्बरले विनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको व्यवस्था समेत सकारात्मक रहेकाे जनाएकाे छ ।
‘कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा बृद्धि गरी ८० प्रतिशत पु¥याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्ने, कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिइँदै आएको बीमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत सकरात्मक छ,’ विज्ञप्तिमा लेखिएकाे छ ।
यस्तै, २०० मेगावाट माथीका जलाशय तथा अर्धजलाशययुक्त जलविधुत आयोजनाका लागि कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म पुरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिई लगानीको लागि आकर्षित गर्ने व्यवस्था सकारात्मक रहेकाे चेम्बरकाे भनाई छ ।
अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्ष सम्म ५० प्रतिशत कर छुटको व्यवस्था र प्राबिधिक बिधामा अध्ययन गर्ने कक्षा १२ सम्म पढने बिद्यार्थीलाइ पढदै कमाउने कार्यक्रम पनि प्रभावकारी रहेकाे विज्ञप्तिमा उल्लेख छ ।
यद्यपी बजेट समग्रमा सकारात्मक भएता पनि आन्तरिक राजश्व २५ अर्बले वृद्धि तथा कूल गार्हस्थ्य उत्पादन ७ प्रतिशत वृद्धि गर्ने लक्ष्य हासिल गर्न चुनाैतीपूर्ण रहेकाे चेम्बरले जनाएकाे छ ।