एक आइडियाबाटै स्टार्टअप गर्न करोडौं लगानी जुट्ने, महासंघले माग्याे आवेदन

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्तासँग आवद्ध हुन चाहाने नवप्रवर्तनीय(स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमकाे आवेदन दिने समय पुनः सुरू गरिएकाे छ । कोभिड महामारीका कारण धेरै स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले बढीभन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता बढाउन महासंघले आवेदन दिने समय पुनः सुरु गरेकाे बताएकाे हाे । यसअघि कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो । कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा लगाएतका सबै क्षेत्रका उद्यमीहरुले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसँग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ । एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य रहने महासंघले जनाएकाे छ । महासंघको वेभसाइटको वेभपेजबाट यसकाे अनलाइन आवेदन फारम लिङ्क प्राप्त गर्न सकिने छ । स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो । टार्गेटमा ५० जना समितले अहिले पहिलो चरणमा ५० जना नव उद्यमीहरुलाई छनोट गरेर उनीहरुलाई तालिम प्रदान गर्नेछ । त्यसका साथ साथै लगानीको वातावरण पनि सिर्जना गर्नेछ । नविनतम् आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग व्यवसायको व्यवसायिक सफलताका लागि समितिले काम गर्नेछ । यो प्रक्रियामा आवेदन दिनको लागि स्टार्टअप व्यवसाय गरेको कम्तिमा २ वर्ष पुरा भएको हुनु पर्ने मापदण्ड महासंघले राखेको छ । कसरी हुने सहभागी ?  समितिले गत बैशाखदेखि अनलाइन आवेदन खुलाएकाे थियाे । काेराेनाकाे कारण साे प्रक्रिया राेकिएकाे थियाे ।  स्टार्टअप व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुले त्यसमा दिइएका विषयहरु भेरेर अनलाइनमै फाराम सबमिट गर्नु पर्ने हुन्छ । आवेदन दिएकाहरुबाट छनोट भएकाहरुको अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तर्वार्तामा पनि छनोट भएकाहरुको नामावली निकालेपछि ३ महिनाको तालिम प्रदान गरिनेछ । लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका सफल व्यवसायी र विज्ञहरुबाट उनीहरुलाई तीन महिनाको मेन्टरसीप तालिम दिइनेछ । अन्तिममा उनीहरुलाई उनीहरुको आइडिया अनुसार लगानी जुटाइने छ र व्यवसायमा फर्काइने छ । महासंघले स्टार्टअप विजनेस गर्ने व्यक्तिहरुका लागि आवश्यक पर्ने लगानीकर्ता अगाडि नै छनोट गरिसकेको हुनेछ । के छ मापदण्ड ? स्टार्टअप व्यवसाय तथा उद्यममा सहभागी हुन चाहनेले व्यवसाय शुरु गरेको १ वर्ष पुरा भएको हुनु पर्नेछ । त्यो व्यवसाय अरु व्यवसाय भन्दा फरक र प्रभावकारी अवधारणाको हुनु पर्नेछ । व्यवसायको सम्पूर्ण वित्तीय विवरण अडिट गरिसकेको हुनु पर्नेछ । स्टार्टअप व्यवसाय गर्ने व्यवासायीले त्यसबाट हुन सक्ने प्रभावकारिता, दिन सक्ने रोजगारी र त्यसको सम्भावनाका बारेमा खुलाएको हुनु पर्ने हुन्छ । आवश्यक पुँजी कुन कामका लागि चाहिएको हो ? व्यवसायलाई अझै कति सम्म पुर्याउन सकिन्छ ? लगायतका विषयमा स्टार्टअप गर्न चाहनेले प्रष्ट रुपमा राख्नु पर्ने हुन्छ । यी विविध विषयहरु अधययन गरेर मात्रै सो समति वा समितिले स्टार्टअप व्यवसायका लागि छुट्याएका व्यक्तिले छनोट गर्न सक्नेछन् ।

सकियो चिनी, सरकारको बेवास्ताका कारण ठूला चाडपर्वमा अभाव

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेनिङ कर्पाेरेशन लिमिटेडले भन्सार छुटमा चिनी आयातको अनुमति माग गरेको करिब एक वर्ष पुग्न लागेको छ । गत वर्षको दशैताका ५० प्रतिशत भन्सार छुटमा चिनीको आयात गर्न अनुमति मागेको कम्पनीलाई अर्थ मन्त्रालयको बेवास्ताका कारण अनुमति दिइएको छैन । बजारमा चिनीको अभाव हुनसक्ने भन्दै आयातको अनुमति माग गरेको लामो समयसम्म सरकारले चिनी खरिदकोे अनुमति नदिदा दशैमा चिनीको अभाव हुने सम्भावना देखिएको हो । कर्पाेरेशनले गरेको प्रस्तावका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाखमा अर्थ मन्त्रालयसँग चिनी खरिदको अनुमति माग गरेको थियो । स्वदेशी उत्पादनको अवस्थाको आधारमा थप चिनी खरिद गर्न साल्ट ट्रेनिङ कर्पाेरेशनलाई अनुमित दिने भन्दै तत्काल आयातको अनुमति नदिइएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य बताउँछन् । ‘यतिकै बिनाअध्ययन ५० प्रतिशत भन्सार छुटमा आयातको अनुमति दिने कुरा भएन । राजश्वको विषय भएकाले स्वदेशी चिनीको मौज्दातका आधारमा थप निर्णय हुन्छ । यो विषयमा सम्बन्धित महाशाखाले थप अध्ययन गर्दैछ । तत्काल आयातको अनुमति दिईएको छैन’, उनले भने । तत्काल अनुमति नपाए दशैँमा अभाव हुन्छः कर्पाेरेसन तत्काल सरकार (अर्थ मन्त्रालय) बाट चिनी आयातको अनुमति नपाए दशैँमा चिनीको अभाव हुने साल्ट ट्रेनिङ कर्पाेरेशनले जनाएको छ । कर्पाेरेशनका सूचना अधिकारी कुमार राज भण्डारी तत्काल अनुमति नपाए दशैँमा चिनी आयातको सम्भावना कम रहेको बताउँछन् । ‘अर्थबाट स्वीकृति आएपछि हामीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ । न्यूनतम ४५ दिनको अवधि राखेर सूचना प्रकाशन गरेर आवश्यक अन्य प्रक्रिया पूरा गरि खरिद गर्न समय कम छ’, उनले भने, ‘अहिलेको अवस्था अनुसार दशैंमा हामीसँग चिनी हुँदैन । लामो समयभयो आयातका अनुमति माग गरेको, हामीसँग स्टक सकिसकेको छ ।’ कर्पाेरेशनले अनुमति मागेको करिब एक वर्षसम्म थप चिनी खरिदको अनुमति नपाउँदा निजी क्षेत्रका व्यवसायीहरुले चिनीको मूल्य बढाउँन थालेका छन् । सरकारी कम्पनीको मौज्दात सकिन लागेको मौकामा चिनी व्यापारिहरुले मूल्य बढाएका हुन् । कर्पाेरेशनले हाल प्रतिकिलो ७७ रुपैयाँ पचास पैसामा चिनी बिक्री गर्दै आएको छ । निजी क्षेत्रका व्यवसायीहरुले भने प्रतिकिलो ९५ देखि एक सय रुपैयाँसम्म चिनी बिक्री वितरण गर्दै आएका छन् । निजी उद्योेगीको मनपरी पछिल्लो समय देशमा उत्पादन हुने चिनीभन्दा माग धेरै हुँदा चिनीको मौज्दात सकिएको निजी क्षेत्रका व्यवसायीहरु बताउँछन् । देशमा खपत हुनेभन्दा आधामात्र चिनी उत्पादन भएसगैँ चिनीको अभाव सिर्जना भएको एक चिनी उद्योगीले जानकारी दिए । ‘नेपालमा वार्षिक रुपमा नेपालमा २ लाख ५० हजार मेट्रिक टनदेखि ३ लाख मेट्रिक टन चिनीको माग हुँने गरेको छ । करिब ३ लाख माग हुँदा यस वर्ष नेपालमा १ लाख मेट्रिक टन मात्र चिनी उत्पादन भएको छ’, उनले भने, ‘मागभन्दा न्यून मात्रामा चिनी उत्पादन हुनु र अन्य देशबाट आयात गरेर ल्याउँदा चिनीको मूल्य महङगो भएको हो ।’ उनका अनुसार सरकारी कम्पनीलाई ५० प्रतिशतभन्सार छुट दिँदा उनीहरुले सस्तो मूल्यमा चिनी बिक्री गर्ने गर्छन । निजी उद्योगीलाई भन्सार छुट छैन, अन्य देशबाट आयात गर्दा साल्ट ट्रडिङ र खाद्य कम्पनीभन्दा स्वभाविक रुपमा महङगो हुने ती उद्योगी बताउँछन् । निजी क्षेत्रका व्यवसायीहरुले सरकारी कम्पनीसँग चिनी सकिएसँगै उत्पादन कम भएको भन्दै मूल्य बढाउँदा उपभोक्ता मारमा परेका छन् । साल्ट ट्रेनिङसँग पर्याप्त मात्रामा चिनीको स्टक हुदा निजी क्षेत्रका व्यवसायीले कम्पनीबाट सस्तोमा चिनी लिएर महङगोमा बिक्री गर्ने गरेका थिए । साल्ट ट्रेनिङले स्कट चिनी कम भएसगैँ गत फागुनदेखि होलसेल व्यापारीलाई चिनी बिक्रीगर्न रोक लगाएको थियो । निषेधाज्ञा अघिसम्म होलसेल मूल्य ८१ रूपैयाँ प्रतिकिलो रहेकोमा हाल होलसेल मूल्य नै ८७ रूपैयाँ पर्ने गरेको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्य बताउँछन् । उनका अनुसार अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि १०० रूपैयाँ छ । सम्बन्धित समाचार सकियो चिनी, आयातमा अर्थको अवरोध

उद्योग संगठन मोरङद्धारा उद्योगी/व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम

काठमाडाैं । वर्तमान महामारीका कारण उद्योग÷व्यवसाय लगायतका क्षेत्रहरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग/प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्ष्ँमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरणविषयक उत्प्रेरणामूलक कार्यक्रम मिति २०७८ भाद्र ०३ गते सम्पन्न भएको छ । कार्यक्रममा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्ष्ँेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राख्दै उनले संगठनद्धारा आयोजित फरक धारको यस कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न वाध्य वनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अवका दिनमा एक व्यवसायीक योजनामा मात्र सिमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने धारणा राखे । कार्यक्रममा श्रोत व्यक्ति साउथ एशिया सोसाईटी अफ एन्टरप्रेनर्श एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीहरुले सकारात्मक सोचका साथ नया दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक वजारीकरणको माध्यमबाट खर्च न्यूनिकरण गर्दै प्रतिस्पर्धात्मक क्ष्ँमता वृद्धि गर्नुपर्ने उपायहरुका सम्वन्धमा प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष्ँ युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त भएको धारणा राखेका थिए । कार्यक्रम यस क्षेत्रका उद्योगी/व्यवसायी, महिला उद्यमीहरु, वैंकर्स, प्रँध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।