सिटी सेन्टरमा सुरु भयो अर्गानिक कृषि मेला
काठमाडौं । नेपालमा नै उत्पादन गरिएका अर्गानिक कृषि तथा उपभोग्य बस्तुको मेला सिटी सेन्टरमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले दशैं तथा तिहारलाई लक्ष्ति गर्दै सो व्यापार मेला आयोजना गरेको हो । बुधबारदेखि सुरु भएको मेला असोज २७ गतेसम्म सिटी सेन्टरमा हुने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिईन । उनका अनुसार सो मेलामा महिलाहरूले उत्पादन गरेका घरायसी सामग्रीहरु प्रदर्शनीमा राखिएकोे छ । ३० वटा स्टल रहेको मेलामा विभिन्न घरायसी सामानहरू राखिएका छन् । उनले सुरक्षाको मापदण्ड अपनाउँदै उद्यमशिलतामा लाग्नु पर्ने कुरालाई पनि श्रेष्ठले जोड दिइन् । यस्तो मेलाले नेपाली दिदी बहिनीहरूको उद्यमशिलतालाई अझ थप प्रोत्साहन हुने र बजारीकरण गर्नको लागि समेत थप मौका मिल्लो कुरामा उनले जोड दिईन । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कोभिडबाट डराएर अर्थतन्त्र चलायमान नहुने भन्दै देशमा स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बन्ने कुरामा ध्यान दिन अग्रह गरे । महिला चेम्बरले ७७ जिल्लामध्ये ७५ जिल्लामा संरचना स्थापना गरिसकेको छ ।
वृज सिमेन्टले नेपाल पत्रकार महासंघको भवन निर्माणमा सिमेन्ट सहयोग गर्ने
काठमाडौं । वृज सिमेन्टले नेपाल पत्रकार महासंघ चितवन शाखालाई भवन निर्माणमा लाग्ने सिमेन्ट सहयोग गर्ने भएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टले संयुक्त रुपमा महासंघलाई सो सहयोग गर्न लागेको हो । आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्ट इण्डष्ट्रीजका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मी प्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक विक्रेता उत्सव इन्टरप्राइजेजका प्रोपाइटर सिरिस पन्त र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन खाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीबीच सहमती भएको होशा । पत्रकारहरुको हकहितका लागि स्थापना भएको नेपाल पत्रकार महासंघलाई वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनीय रहेको नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीले बताए । पुष्पतारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ ।
दशैंको लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । यसपालीको दशैंका लागि गाडीको अग्रिम टिकट खुल्ला भएको छ । दशैंका लागि आज (असोज ११ गते) देखि लामो तथा मध्यम दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । देशका बिभिन्न क्षेत्रबाट काठमाण्डौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैँ मनाउन घर जानेहरुका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक काठमाण्डौ छोड्नेको भीड बढ्ने भएकोले विगत धेरै वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ । आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन । कोरोना संक्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाण्डौ छोड्नेको संख्या कमहुने आँकलन गरिएको छ । अग्रीम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन थियो । गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रीम टिकट बुकिङ खुला नगरिएको भएपनि यसवर्ष भने समयमा नै अग्रीम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरु थप्दै जाने बताए । नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुला गरिने उनले जानकारी दिए । यसवर्षको अग्रीम टिकट बुकिङ खुलाका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले यातायात व्यवसायीहरुको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ । प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैँमा घर जाने यात्रुलाई व्यवस्थित रुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टरलाई प्रविधिमैत्री बनाएको बताए । दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण गाडीको मर्मत सम्भारलाई अनिवार्य गर्नुका साथै गाडिलाई सेनिटाइज गर्ने र गाडिमा मास्क र सेनिटाइजर राख्ने अनिवार्य व्यवस्था गरिएको महाप्रबन्धक कुँवरको भनाई छ । विश्वका विभिन्न देशसहित नेपालमा पनि कोरोना सङ्क्रमण यथावत रहेकाले अग्रीम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । नयाँ बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालिले ३४ जना सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० जना प्रहरी खटाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ ।