वाणिज्यका डिजीको प्रश्नः खाद्यले सस्तोमा बेचेको तेल निजीले किन सक्दैनन ?

<p>काठमाडौं । कोरोना महामारीपछि नेपालमा खाने तेलको मूल्य झन्डै दोब्बर भएको छ । करिब एक वर्षको अवधिमा तेलको मूल्य दोब्बरले बढ्दा उपभोक्ता अधिकारकर्मीदेखि उपभोक्ताको ध्यान तेलमा पर्ने गरेको छ । विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढेको तेल उत्पादकहरु बताउँदै आएका छन् । खुद्रा व्यवसायीहरु तेल उद्योगीले आफूखुशी मूल्य बढाउने गरेको दाबी [&hellip;]</p>

काठमाडौं । कोरोना महामारीपछि नेपालमा खाने तेलको मूल्य झन्डै दोब्बर भएको छ । करिब एक वर्षको अवधिमा तेलको मूल्य दोब्बरले बढ्दा उपभोक्ता अधिकारकर्मीदेखि उपभोक्ताको ध्यान तेलमा पर्ने गरेको छ ।

विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढेको तेल उत्पादकहरु बताउँदै आएका छन् । खुद्रा व्यवसायीहरु तेल उद्योगीले आफूखुशी मूल्य बढाउने गरेको दाबी गर्दै आएका छन् ।

संचालनमा रहेका २० तेल उद्योगले आवश्यक कर्चा पदार्थको आयात गरी नेपालमा तेल प्रशोधन गरी पुनः तेस्रो देश निर्यात गर्न नेपालमा महङगो मूल्यमा बिक्री वितरण गर्ने गरेको आरोप लगाइएको छ ।

बजार अनुगमनकोे नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल निजी तेल उद्योगीको बदमासीका कारण तेलको मूल्य बढेको बताउँछन् ।

‘उद्योगीले भने अनुसार कच्चा पदार्थको मूल्य बढेको नै छ तर, कच्चा पदार्थको मूल्यमा केही बृद्धि भएपनि तेलको मूल्यमा आफूखुशी मूल्य राख्दा उपभोक्ता मर्कामा परे, हामीलाई मूल्य तोक्ने अधिकार छैन, व्यवसायीले दिएको कागजातका हेर्दा गल्ती देखिए कारवाहीको अधिकार छ, ठूलो गल्ती गर्नेलाई ३ लाखको कारवाहीले के केहीहुँदैन,’ उनले भने ।

उनले ठूला उद्योगीले गल्ती गरेर खुद्रा व्यवसायीलाई अघि सार्ने गरेको पाइएको पनि बताए ।

‘ठूला उद्योगीले आवश्यक बिल बिजक नै दिदैनन्, दिए पनि आफू आनुकुल दिने रहेछन्, हामी बजार अनुगमनमा जादा बल्ल तल्ल ऋण गरेर खोलिएका, १ लाखको लगानीमा खोलीएको खुद्रा पसललाई ३ लाखको कारवाही गर्नुपरेको छ’, उनले भने ।

उनले उद्योगीले खदिर गर्ने तेल र सरकारी कम्पनीले खरिद गर्ने तेल एकै भए पनि मूल्यमा धेरै अन्तर देखिएको जानकारी दिए । उनका अनुसार सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेनिङ कर्पाेरेशनले निजी तेल उद्योगीको तुलनामा सुपथ मूल्यमा तेलको बिक्री वितरण गरिरहेको बताए ।

एकै तेलको मूल्य सरकारी कम्पनीले सस्तो र उद्योगीले महङ्गो रहेको भन्दै उनले तेल उद्योगीले बदमासी नै गरेको बताए ।

उनको भनाई अनुसार दुई कम्पनीको तेलको मूल्य र नेपाल खुद्रा व्यवसायी संघले सार्वजनिक गरेको तेलको मूल्यमा अन्तर देखिएको छ । खाद्य कम्पनीले प्रतिलिटर २६० रुपैयाँमा बिक्री वितरण गर्ने गरेको खाने तोरीको तेल संघको तथ्यांकमा प्रतिलिटर ३६० रुपैयाँ रहेको छ । सनप्लावर, भटमासको मूल्यमा खासै फरक नभए पनि तोरीको तेलको मूल्यमा धेरै अन्तर देखिएको हो ।

संसदीय समितिको प्रश्न

गत मंगलबार प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा तेलको मूल्य बढ्नुको विषयमा समेत चर्चा भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार आयात र निर्यातको पहिलो नम्बरमा रहेको तेलको मूल्य किन बढ्यो भन्दै सांसदहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रश्न गरेका थिए ।

समितिका सदस्य किसानकुमार श्रेष्ठले खाने तेलको अचाक्ली मूल्य बढेको भन्दै कारण सोधेका थिए । उनले आयातसँगै निर्यातको उच्च स्थानमा रहेको तेलको मूल्य नेपाली उपभोक्तालाई महङ्गो भएको भन्दै तेल उद्योगीलाई नेपाली बजारमा बिक्री वितरणको व्यवस्था मिलाउनतर्फ ध्यान दिन निर्देशन दिएका थिए ।

उनले तेल उद्योगीले कच्चा पदार्थको आयात गरी प्रशोधन गरेर पुनः निर्यात गर्दा डुब्लीकेसन देखिएको बताए । उनले निर्यात रोक्न नमिल्ने भएपनि आयातित तेलको केही प्रतिशत नेपाली बजारमा नै बिक्री वितरणको व्यवस्था भएमा तेलको मूल्य केही घट्ने अनुमान गरे ।

सम्बन्धित समाचार

खानेतेलमा बद्मासीः कच्चा पदार्थको मूल्य बढ्दा बढाइयो, घट्दा घटाइएन

खाने तेल उत्पादकको प्रष्टोक्तिः कच्चा पदार्थको मूल्य बढ्यो, ढुवानी भाडा धेरै लाग्न थाल्यो

दुई वर्षमै दोब्बर भयो खाने तेलको मूल्य

Share News