अम्बे स्टीलको आम्दानीमा उछाल, गोयन्काको कारोबार ५० प्रतिशतले घट्यो
काठमाडौं । अम्बे स्टीलले सन् २०२२ मा पौने ११ अर्ब रुपैयाँको व्यापार गरेको छ । उद्योगले स्टीलको कारोबार गरेर सन् २०२२ मा १० अर्ब ९३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो । जुन गत वर्षको तुलनामा १७ प्रतिशत बढी हो । सन् २०२१ मा अम्बे स्टीलले ९ अर्ब २८ करोड ४० लाख, २०२० मा ६ अर्ब ३७ करोड ६० लाख र २०१९ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । उद्योगले अम्बे ब्राण्डमा टीएमटी बार, जीआइ वायर र बाइन्डिङ वायर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले बिलेट, पिग आइरन र स्पन्ज आइरन छिमेकी भारतबाट आयात गर्दै आएको छ । उद्योगको ८२ प्रतिशत आम्दानी टीएमटीबार बिक्रीबाट हुने गरेको छ । उद्योगको बिलेटल उत्पादन क्षमता वार्षिक ८० हजार टन छ । उद्योगले बिलेट उत्पादन क्षमता वार्षिक ४५ हजार टन थप्ने तयारी थालेको छ । सन् १९८२ मा स्थापना भएको यस ग्रुपमा शोभाकर न्यौपानेको ६०, रमेशकुमार अग्रवाल र सज्जन अग्रवालको २५ र बाँकी १५ प्रतिशत स्वामित्व पूर्णबहादुर पौडेलको छ । यो न्यौपाने, अग्रवाल र पौडेल परिवारले सञ्चालन गरेको उद्योग हो । उद्योगले ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्यसका लागि कम्पनीले एल डबल बीको रेटिङ पाएको छ । यो स्टील उद्योग भने सन् २००९ मा स्थापना भएको हो । यस्तै, गोयन्का स्टीलको व्यापार भने गत वर्ष घटेकोछ । यस स्टील उद्योगले सन् २०२१ मा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो गत वर्षको तुलनामा करिब ५० प्रतिशत कम हो । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यस उद्योगले २ अर्ब १४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । यस कम्पनीले ऋण सुविधाका लागि रेटिङ गराएको छ । कम्पनीले २ अर्ब १३ करोड ५० लाख रुपैयाँ ऋण सुविधाका लागि एल डबल बीको रेटिङ पाएको छ । गाेयन्का समूहले सञ्चालन गरिरहेको यस उद्योगमा राम गोपाल गोयन्का र उनका दुई छोराहरु अमित कुमार गोयन्का र अजय गोयन्काले सञ्चालन गरिरहेका छन् ।
घट्यो विदेशी लगानीको न्यूनतम सीमा
काठमाडौं । विदेशी लगानीको न्यूनतम सीमा घटाईएको छ । सरकारले विस २०७६ को जेठदेखि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न न्यूनतम सीमा पाँच करोड रुपैयाँ राखेको थियो । उक्त सीमालाई घटाउँदै सरकारले प्रति विदेशी लगानीकर्ता न्यूनतम सीमा दुई करोड रुपैयाँमा झारेको हो । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले न्यूनतम सीमा घटाईएको उल्लेख गरेका थिए । बजेटमा नै समावेश गरीएको उक्त विषयलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै न्यूनतम सीमा दुई करोड बनाईएको उल्लेख गरेको हो । नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोकिएको सूचनामा उल्लेख छ । उक्त न्यूनतम सीमा नेपाल सरकार र गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत् नेपालमा लगानी गर्न गैर आवासीय नेपाली (प्राकृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने र उक्त इन्भेष्टमेन्ट कम्पनीले इन्भेष्टमेन्ट कम्पनीका सबै शर्तहरु पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।
शिवम् सिमेन्ट्सको नाफा ३१.९४ प्रतिशत बढ्यो, ईपीएस २४.९८ रुपैयाँ
काठमाडौं । शिवम् सिमेन्ट्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३१.९४ प्रतिशत बढेर २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेर १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब २० करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशत बढेर ३१ करोड ३४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.६१ प्रतिशत घटेर १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ र कम्पनीको कुल खर्च २०.०३ प्रतिशत घटेर १ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ ।