लक्ष्मी क्यापिटलले स्वच्छ ऊर्जामा लगानी गर्ने, सनफार्मरसँग गर्यो सम्झौता
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा सनफार्मर बिच लगानी सम्बन्धी सम्झौता भएको छ । साे समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटलका अधिकृत राजिव सापकोटाले स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ । यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७८ लाख ४२ हजार ७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ ।
माघदेखि मदिरा, चुरोट र गुट्खा उद्योगले अनिवार्य ई-बिलिङ गर्नुपर्ने
काठमाडौं । आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक (ई-बिलिङ/कम्प्युटर बिलिङ) जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले गत बिहीबार एक सूचना जारी गर्दै त्यस्ता उद्योगलाई ई–बिलिङ प्रणालीमा आवद्ध हुन भनेको हो । माघपछि मदिरा, वियर, वाइन, स्प्रिट, चुरोट र गुट्खा उत्पादन गर्ने उद्योगले कारोबारमा अनिवार्यरुपमा ई-बिलिङ गर्नुपर्ने छ । त्यस्तै, गत आर्थिक वर्षमा वार्षिक पाँच करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगमा पनि यस्तो व्यवस्था लागू हुनेछ । विभागले विद्युतीय बीजकसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरेपछि विभिन्न वस्तुको कारोबारमा ई-बिलिङ अनिवार्य गर्दै आएको छ । कार्यविधि लागू भएसँगै २०७५ सालबाट वार्षिक पाँच करोडभन्दाबढीको कारोबार गर्ने होटल, रेस्टुराँ तथा चमेनागृह र इन्टरनेट सेवा प्रदायकलाई विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था लागू भएको थियो । त्यस्तै, वार्षिक १० करोडभन्दा बढीको कारोबार गर्ने डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ तथा फर्निसिङको कारोबार गर्ने करदातालाई पनि विद्युतीय बीजक अनिवार्य गरिएको थियो । विभागले गत साउनयता मूल्य अभिवृद्धि कर (भ्याट) तथा आय विवरणमध्ये कुनै एकको कारोबार वार्षिक १० करोडभन्दा बढी भएका त्यस्ता जुनसुकै वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई ई-बिलिङ प्रणालीमा आवद्ध हुन भनेको थियो । त्यसैगरी, बक्सअफिस प्रणालीमा आबद्ध भएका देशभरका सिनेमा हलमा पनि ई-बिलिङ लागू भइसकेको छ । विद्युतीय माध्यमबाट बीजक जारी गर्ने करदाताले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण र सफ्टवेयर मात्र प्रयोग गर्न पाउँछन् । ई-बिलिङ प्रणालीमा आवद्ध भएपछि केन्द्रीय बीजक अनुमगन प्रणाली (सिबिएमएस)मार्फत् करदाताको कारोबारको विवरण विभागले प्राप्त गर्छ र सोहिअनुसार कर निर्धारण हुन्छ । कर लेखा प्रणालीलाई विश्सनीय, पारदर्शी र व्यवस्थित बनाउन विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ । यो व्यवस्था अनिवार्य गरिएका बाहेक अन्य करदाताले पनि स्वेच्छिक रुपमा विद्युतीय बीजक जारी गर्न सक्नेछन् ।
कोभिडले सार्क क्षेत्रको रोजगारीमा चुनौती देखापरे, उपयुक्त नीति आवश्यक : संघाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौतीहरू देखापरेको बताएका छन् । संघाईले यस्ता चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक रहेको जोड दिए । उपयुक्त रणनीति र नीति आवश्यक रहेको उनको भनाइ छ । दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना, मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताए । ‘भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो,’ साफी अध्यक्ष समेत रहेका संघाईले भने, ‘साफीलाई हाम्रो पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ हाम्रो साझा प्रयास आवश्यक छ ।’ अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूबीच कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा पारेको प्रभावबारे गम्भीर छलफल गरेका हुन् । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ का विषयमा काठमाडौंमा आायोजना गरिएको कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो । आइएलओका देशिय निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञहरू, सार्कटुकका महासचिव लक्ष्मण बस्नेतको पनि उपस्थिती थियो ।