निर्यात सुरु गरेसँगै पूर्ण क्षमतामा चल्ने तयारीमा अर्घाखाँची र श्री स्टील
काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रहरु विगतको अवस्थामा सञ्चालन हुन सकेका छैनन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभावको कारण पछिल्लो समयमा व्यवसायिक तथा निजी घरजग्गाको कारोबार न्यून भएको विभिन्न तथ्यांकहरुले देखाएका छन् । बैंकमा पैसा नभएकै कारण सर्वसाधारणले देखि उद्योग व्यवसाय विस्तारका लागि पनि बैंकबाट पैसा पाउने अवस्था छैन । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएकै कारण त्यसको प्रत्यक्ष असर नेपाली सिमेन्ट तथा छड उद्योगहरुमा पनि परेको छ । उत्पादन क्षमताको अभावका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातयोग्य उद्योगहरुलाई अनुदान उपलब्ध गराउने नीति ल्याएसँगै केही सिमेन्ट तथा छड उद्योगहरुले आफ्नो उत्पादन निर्यात गर्न थालेका छन् । निर्यात प्रारम्भसँगै उद्योगहरु अब पूर्ण क्षमतामा चल्न सक्ने आसा रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । असारको अन्तिम साता तानसेन सिमेन्टले भारतमा निर्यात सुरु गर्यो । गत साउन ४ गतेबाट श्री स्टील्स प्राइभेट लिमिटेडले भारतमा टिएमटी छडको निर्यात सुरु गरेको थियो । श्री स्टील्सले भारतको उत्तर प्रदेशमा निर्यातको पहिलो दिन ३५ टन छडको निर्यात गर्यो । कम्पनीले आइएसआई सर्टिफिकेट पाएपछि पेपर प्रकृया पुरा गर्नको लागि मात्रै सो स्टील निर्यात गरेको थियो । तर, त्यसपछि भने नियमित निर्यातको कार्य नभएको सिद्धार्थ ग्रुपका म्यानेजिङ डाइरेक्टर राजेशकुमार अग्रवालले बताए । भारतीय व्यवसायीहरुले तिहारपछिमात्रै स्टीलको माग गरेकोले अहिले निर्यात नियमित नभएको उनको भनाइ छ । श्री स्टील उद्योगको दैनिक उत्पादन क्षमता ८ सय टन रहेको छ । तर, बजारमा माग नभएकाले उद्योगले अहिले २ सय टनको हाराहारीमा मात्रै उत्पादन गरिरहेको छ । अग्रवालका अनुसार अहिले बजारमा दैनिक जम्मा १ सय टन छडको बिक्री भइरहेको छ । सरकारले निर्यातमा उपलब्ध गराउने भनेको ८ प्रतिशतले केही राहत हुने भएपनि प्रयाप्त भने नभएको उनको भनाइ छ । निर्यातमा प्रतिस्पर्धा सहज नभएको अग्रवालको भनाइ छ । ‘भारतमा पनि पहिलेभन्दा माग घटेको अवस्था छ, सरकारले उपलब्ध गराउने ८ प्रतिशतले हामी केही गर्न सक्छौं भन्ने हो’ उनले भने । भारतबाट कच्चा पदार्थ ल्याएर भारतमा नै निर्यात गर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुने उनी बताउँछन् । ‘हामीले सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने र कोइला दक्षीण अफ्रिकादेखि ल्याउनपर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुन्छ,ं भारतबाट नेपालमा कच्चा पदार्थ ल्याएर भारतमा नै बेच्दा स्टीलको प्रतिकेजी ६ प्रतिशत भाडा बढी लाग्छ’ उनले भने । त्यस्तै, अर्घाखाँची सिमेन्ट लिमिटेडले असोज ३१ गते ‘अर्घाखाँची’ ब्राण्डको सिमेन्ट भारत निर्यात गरेको छ । सो उद्योगले पहिलो दिन भारतको युपी सहरमा २ हजार बोरा सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँची सिमेन्टले प्रतिबोरा २ सय ६५ रुपैयाँ भारुमा सिमेन्ट भारत निर्यात गरेको जनाएको छ । अर्घाखाँची सिमेन्टको दैनिक उत्पादन क्षमता ४ हजार मेट्रिक टन रहेको छ । तर, बजारमा मागको अभावको कारणले विगत ९० दिनमा ३० दिन पनि उद्योग सञ्चालन हुन नसकेको कम्पनीका निर्देशक राजेश अग्रवाल बताउँछन् । कम्पनीले नेपाली बजारमा सम्पूर्ण कर सहित कम्पनीले ४ सय ९० रुपैयाँमा सिमेन्ट बिक्री गरिरहेको उनको भनाइ छ । सिमेन्ट छड भनेको ब्राण्डमा आधारित विषय भएकाले भारतमा स्थापित उद्योगहरुसँग प्रतिस्पर्धा गर्ने कुरा गाह्रो हुने भएपनि भारतीय बजारमा प्रवेश पाएसँगै आफ्ना उद्योगहरु आगामी दिनमा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने विश्वास आँफूहरुमा रहेको अर्घाखाँचीका निर्देशक अग्रवाल बताउँछन् ।
व्यवसायीहरु भन्छन् : बैंकको ब्याजदरलाई सीमाभित्र राखौं, सीडी रेसियो बढाऔं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले वित्तीय क्षेत्रका समस्या तत्काल समाधान गराउन नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव पपरेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, वाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि राष्ट्र बैंकसमक्ष ध्यानाकर्षण गराएको हो । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा निलम ढुंगाना सहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको हो । ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ, अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व चालु पूँजी कर्जा सम्बन्धी नयां व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्दछ ।’ भेटका क्रममा कार्यवाहक गभर्नर ढुंगानाले महासंघका सुझाव अध्ययन गरि समाधानका उपाय खोजिने बताइन् । यस्तो छ महासंघको सुझाव पुँजीको लागत अत्यधिक बढेको छ । मुलतः बजारमा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढिरहेको हो । कच्चा पदार्थ इन्धन लगायतको मुल्य समेत बढेकाले बजार भाउ निरन्तर उकालो लागिरहेको छ । लामो समयदेखि धेरै वस्तुको आयात प्रत्यक्ष एवं परोक्ष रुपमा रोकिएको छ । वहुपक्षीय प्रभावका कारण बजार चलायमान हुन नसक्दा राजश्व असुली पनि करिब २० प्रतिशतले घटेको छ । यस परिस्थितिमा गर्नु सरकार एवं केन्द्रिय बैंकका लागि चुनौतिपूर्ण छ । एउटा व्यवस्थापन गर्दा अर्कोमा समस्या हुनसक्ने तर्फ केन्द्रिय बैंक चनाखो पनि हुनुपर्ने अवस्था छ । निक्षेपको ब्याजदर बढदैमा निक्षेप बढ्न नसकेको तर कर्जाको ब्याज महंगिएर निजी क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको विगतको अनुभवलाई समेत मनन् गरि ब्याजदरलाई वान्छित सीमाभित्र राखि अर्थतन्त्र चलायमान हुने नीति अवलम्बन गरिनुपर्छ । तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन – बढ्दो ब्याजदर निजी क्षेत्रको अहिले सबैभन्दा चासो र चिन्ताको बिषय हो । विश्वव्यापी प्रभावबाट समेत अर्थतन्त्रमा समस्या देखिइरहेको विद्यमान परिप्रेक्षमा अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर एकल विन्दुमा राख्न सरकार एवं केन्द्रिय बैंकले आवश्यक सबै उपकरण प्रयोग गर्नुपर्छ । ब्याज बढाउदा पनि निक्षेपको रकम नबढेको सन्दर्भमा ब्याजदर स्थायित्वका लागि सरकार एवं केन्द्रिय बैंकद्धारा विशेष नीतिगत व्यवस्था गर्नु आवश्यक देखिएको हो । – बैंक वित्तीय संस्थाको आधार दर वृद्धि हुने क्रमसंगै प्रिमियम समेत अस्वभाविक रुपमा बृद्धि भइ ब्याजदर अकासिएर उद्यम व्यवसायको लागत निक्कै बढेको हुँदा आधार दर बढ्दा प्रिमियम भने नबढ्ने सुनिश्चितता हुनुपर्छ । प्रिमियम दरलाई वान्छित सिमाभित्र राख्न नीतिगत व्यवस्था आवश्यक छ । – अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले बहुआयामिक प्रभाव परेको अहिलेको बेलामा चालु पुँजीकर्जा सम्बन्धि नयाँ व्यवस्थाले निजी क्षेत्र निरूत्साहित भएको मात्र नभइ व्यवसाय ठप्प प्राय हुँदा राजश्वमा समेत असर पर्ने देखिएकाले उक्त व्यवस्था स्थगन गर्नु पर्दछ । अर्थतन्त्रमा सुधार हँदै गएपछि चरणवद्ध रुपमा आवश्यकता हेरि अर्थतन्त्रमा नकारात्मक प्रभाव नपर्ने गरि उक्त व्यवस्था कार्यान्वयन गर्दै लैजान सकिन्छ । – हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको साँवाब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैंकबाट पहल हुनु आवश्यक छ । – सीडी रेसियोलाई परिमार्जन गर्न सकिने तर्फ अध्ययन गर्नुपर्छ । अल्पकालका लागि बढाउन सकिन्छ । सिआरआरलाई पनि अल्पकालमा केहि कम गरि बजारमा रकम प्रवाह गर्नुपर्छ । यसैगरि स्प्रेड दर पनि घटाउनुपर्छ । – असोज २९ गतेसम्म जम्मा ५ प्रतिशत पूँजीगत खर्च भएको छ । पूँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेको र खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ । अर्थमन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याइसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ । – राजश्व उठ्ने तर खर्च हुन नसक्दा सरकारको ढुकुटीमा ठूलो रकम यत्तिकै रहने भएकाले यसको ५० प्रतिशत रकम बैंकहरुले उपयोग गर्न सक्ने व्यवस्था गरिनुपर्छ । – स्थानिय निकायको निक्षेपलाई पनि शतप्रतिशत गणना गर्ने व्यवस्था गरिनु पर्दछ । – रेमिट्यान्स स्मार्ट कार्ड मार्फत बैंक वित्तीय संस्थालाई रेमिट्यान्स आप्रवाह गर्ने नागरिकहरुलाई प्रोत्साहित गर्न प्रेरित गर्नुपर्नेछ । – वैदेशिक रोजगारबाट फर्किएपछि पाउने गरिएको हालको सहुलियतपूर्ण कर्जा सुविधालाई वैदेशिक रोजगारमा रहेकै बखत उक्त व्यक्तिको आश्रित परिवारको कुनै एक जना सदस्यलाई प्रदान गर्न सकिने व्यवस्था गर्नुपर्नेछ । रेमिट्यान्सको रकम बैंकिङ्ग माध्यमबाट आउन प्रोत्साहित गरिएको एक प्रतिशत थप ब्याज दिने व्यवस्थाको सदुपयोग भए नभएको अनुगमन गरिनुपर्नेछ । -वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्नेछ । यसबारे तत्काल कार्यविधि बनाइ विदेशी लगानी बढाउन पहल गर्नुपर्छ । – सरकारको नीति तथा कार्यक्रममा समावेश भैसकेको ‘कन्ट्री रेटिङ्ग’ तत्काल गरिनुपर्ने । अन्तराष्टिय रकम भित्र्याउन वोन्ड लगायतका अन्य उपकरणको प्रयोग गर्न सकिन्छ । अन्य लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक छ । – निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिनको लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्नेछ । – सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गरिनुपर्नेछ । – बैंक वित्तीय संस्थाले लिने अतिरिक्त फि, सेवा शुल्क दोब्बरसम्म बढेको व्यवसायीहरुको गुनासो आइरहेको सन्दर्भमा अस्वभाविक रुपमा शुल्क लिन नपाइने व्यवस्था गरिनुपर्छ । – कोभिड १९ को पहिलो प्रभावपश्चात् ल्याइएको पुनरकर्जा सुविधालाई उत्पादनमूलक क्षेत्र, कोभिडबाट अति प्रभावित साना तथा मझौला एव. अन्य उद्यमका लागि निरन्तरता दिइनु आवश्यक छ । ऋणको पुर्नसंरचना र पुर्नतालिकीकरण आवश्यक छ । – विदेशीले नेपालमा पनि घर किन्न सक्ने बजेटको व्यवस्थालाई सहज बनाइनुपर्नेछ । यसले तत्काल विदेशी मुद्रा भित्र्याउन सहज हुनेछ । मूल्य स्थायित्व – राष्ट्र बैंकले नै सार्वजनिक गरेको पछिल्लो मुलुकको आर्थिक अवस्था अनुसार मुद्रास्फिति दर ८ प्रतिशतभन्दा बढी छ । थोक मुद्रास्फिति यसभन्दा निक्कै बढी छ । यसले इन्धन र सेवा क्षेत्रको मूल्य निक्कै बढेको देखाउछ । संगै थोकमा बढेको मूल्य अझै उपभोक्तासम्म नपुगको संकेत पनि गरेको छ । मौद्रिक र गैर मौद्रिक दुवै कारणले बजार भाउ अकासिएको हुँदा केन्द्रिय बैंक र सरकार दुवैले नियन्त्रणका लागि प्रयास गर्नुपर्ने छ ।
अर्घाखाँचीले पनि सुरु गर्यो सिमेन्ट निर्यात, २६५ रुपैयाँका दरले पठायो २ हजार बोरा
काठमार्डौं । अर्घाखाँची सिमेन्टले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । पहिलो चरणमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले नेपाली सिमेन्ट भारत निर्यात गरेकोमा दोस्रोमा अर्घाखाँची सिमेन्टले सिमेन्ट निर्यात गरेको हो । गत असारमा पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गरेको थियो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात गरेको थियो । यस पटक अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । कम्पनीले आज (सोमबार) २ दुई ट्रकमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको बताएको छ । अर्घाखाँची सिमेन्टले यसलाई ठूलो उपलब्धिको रुपमा लिएको छ । गुणस्तरीय सँगै निर्यातलाई निरन्तरता दिनका लागि आफु प्रतिबद्ध भएको कम्पनीले जनाएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिमेन्ट निर्यात सुरु गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो एउटा सपना पुरा भएको बताएका छन् । उनले अझै सिमेन्ट निर्यातलाई नियमित बनाउनका लागि अनवरत रुपमा लाग्ने बताएका छन् । सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ । उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ । निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।