अनुदान नपाउँदा उद्योग बन्द गरेर विदेशिन बाध्य

सुर्खेत  । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उनले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग सुरु गरे । उनले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याए । दुई रोपनी जग्गा भाडामा लिएर रु सात लाखमा नेपाली कागज उद्योग सञ्चालन गरेका उहाँले आठ जनालाई रोजगारीसमेत दिए । उद्योगका लागि चाहिने कच्चा पदार्थ दैलेख र कालीकोटबाट ल्याउनुपथ्र्यो । सुरुआती चरणमा उद्योग राम्रै चलेको बुद्धिमान बताउँछन् । “सुरुमा रु सात/आठ लाख ऋण लिएर उद्योग सुरु गरेँ, उद्योगले राम्रै आम्दानी दिइरहेको थियो, सुर्खेत र नेपालगञ्ज नेपाली कागजको बजार राम्रो थियो,” उनले भने । उद्योगबाट मासिक रु ६० हजारदेखि डेढ लाखसम्म नाफा भइरहेकाे थियाे, । स्थापनासँगै आठ जनालाई रोजगारी दिएको उद्योगले महिनामै रु दुईदेखि तीन लाखसम्म कारोबार गर्दै आएको पनि बुद्धिमानले बताए । लोक्ता हाते कागजको कच्चा पदार्थ हो । लोक्तालाई पकाएर कागज उत्पादन गर्ने गरिन्छ । लेकाली जङ्गलमा पाइने बरुवा नामक बिरुवाको बोक्रालाई लोक्ता भनिन्छ । यसैबाट नेपाली कागज तयार हुन्छ । पछिल्लो समय सामुदायिक उपभोक्ता समितिले सामुदायिक वन क्षेत्रमा लोक्ता सङ्कलनमा रोक लगाइदिएपछि उहाँको उद्योग फस्टाउन सकेन । कच्चा पदार्थ अभाव हुन थालेपछि महँगोमा किन्नुपर्ने अवस्था आएको र उद्योगको नाफा विस्तारै घट्दै जान थालेको पनि उनले बताए । कच्चा पदार्थ अभाव हुन थालेपछि नेपाली कागज उत्पादनमा समस्या पर्दै जान थालेको बुद्धिमानको भनाइ छ । उनले भने, “सुरुआतको दुई वर्षसम्म उद्योगले कच्चा पदार्थ राम्रै पाइरहेको थियो । विस्तारै वन समितिले लोक्ता सङ्कलन गर्न नदिएपछि कच्चा पदार्थ अभाव हुन थाल्यो । कच्चा पदार्थ महँगियो । कच्चा पदार्थ अभावसँगै उत्पादन पनि घट्न थाल्यो । यता कागजको मूल्य भने अहिले पनि बढेको छैन । यसले उद्योग दिन प्रतिदिन घाटातर्फ गइरह्यो ।” एकातिर कच्चा पदार्थको अभाव छँदै थियो, अर्कोतिर कोरोना सङ्क्रमणले सबैतिर अस्तव्यस्त बनाइदियो । कोरोनाकै कारण उद्योग सञ्चालनमा समस्या पर्न थालेपछि ऋणको जोहोमा चारैतिर भौतारिँदा पनि कहीँकतैबाट ऋण नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बुद्धिमानको गुनासो छ । “सञ्चालनको सुरुआतमा त ठीकै थियो, कोरोनापछि उद्योग निरन्तर घाटामा जान थाल्यो”, बुद्धिमानले भने, “कोरोनाको दोस्रो लहर सुरु भएपछि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।” उद्योगबाट राम्रै आम्दानी गर्न सकिने सम्भावना रहे पनि लगानीको अभावमा उद्योग बन्द गर्नुपरेको उनी बताउँछन् । उनले उत्पादित कागज बिक्री गर्न टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चा पदार्थ नपाइनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बताए । उनका अनुसार जाजरकोट, दैलेख, कालीकोटका जङ्गलमा पाइने लोक्ताको पनि अभाव भयो । उनकाे उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्ट बक्स, गमलालगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन हुने गर्दथ्यो । हाल कागज बनाउनका लागि महँगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उद्योग बन्द गरेको बताउँदै उनले भने, “न चाहिएको बेला कच्चा पदार्थ आउँछ, न कतैबाट अनुदान पाइयो, उद्योग सञ्चालन गर्न मुस्किल परेपछि बन्द गर्न बाध्य भएँ ।” स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदानसमेत टाठाबाठाले पाउने गरेको उनको गुनासो छ । स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उनकाे गुनासो छ । स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्न नसकेको उहाँको गुनासो छ । अनुदान र ऋणका लागि सम्बन्धित निकायमा जाँदा पनि कमिसनमा मोलमोलाई हुने गरेको उनको तीतो अनुभव छ । अनुदान माग्दा हाकाहाकी यति र उति प्रतिशत भन्दै कमिसन माग्ने भेटिएको उहाँको अनुभव छ । कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले बुद्धिमान विदेशिने तयारीमा छन् । कोरोनाका कारण दोस्रो पटकको बन्दाबन्दीका कारण उद्योग पूर्णरुपमा बन्द गर्नुपरेको उनले बताए । “कतैबाट ऋण तथा अनुदान नपाएपछि अहिले विदेश जाने तयारी गरेको हुँ ।” उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उनले कागज उद्योग बन्द गरेर रोजगारी दिएका सबैलाई बिदाइसमेत गरिसकेका छन् । कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उनकाे अनुभव छ । चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकाशिएको उनको भनाइ छ । नेपाली कागज उत्पादनका लागि सरकारले दिने अनुदानसमेत वास्तविक उद्यमीले पाउन नसक्दा आफूजस्ता उद्यमी विदेश पलायन हुनुपर्ने अवस्था आएको उनकाे गुनासो छ । साना तथा घरेलु उद्योग महासङ्घका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योग छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन् ।

यी हुन् उद्योगमन्त्री बडूले पाँच महिनामा गरेका काम

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पाँच महिनाको कार्य प्रगति सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पाँच महिना अवधिको उपलब्धि सार्वजनिक गरेको हो । मन्त्री बडूले मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दावी गरेका छन् । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र व्यापार क्षेत्रलाई पुरानै अवस्थामा फर्काइएको दाबी गर्दै मन्त्री बडूले अहिले अहिले अर्थतन्त्रमा केही सुधार गरिएको बताए । ‘कोभिडले उत्पादन मुलुक उद्योगको उत्पादन ४० प्रतिशतले घटेको थियो, यस्ता १० प्रतिशत उद्योग पनि बन्द भएका थिए, आयात बढेको थियो, तर अहिले केही सुधार आएको छ, विदेशी मुद्रा सञ्चितिमा सुधार देखिँदै आएको छ,’ उनले भने । यस्ता छन् मन्त्रीका पाँच महिनाको उपलब्धि [pdf id=350704]

बागलुङमा ४१८ नयाँ उद्योग थपिए

गलकोट । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा जिल्लामा उद्योगतर्फ एक सय ५० र वाणिज्यतर्फका दुई सय ६८ उद्योग तथा व्यवसाय दर्ता दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिइन् । शर्माका अनुसार जिल्लामा एक सय ५० साना तथा घरेलु उद्योगले वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने गरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा दुई सय ६८ वस्तुको खरिद तथगा बिक्री, प्याकेजिङलगायतको कामका लागि दुई सय ६८ उद्योग दर्ता भएका हुन् । खासगरी बागलुङवासीले निजी तथा कृषि प्रवद्र्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाइ । शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नवीकरण, ठाउँसरीबापत गत आवमा कार्यालयले २६ लाख ९४ हजार पाँच सय २५ राजस्व रकम सङ्कलन गरेको छ । यस्तै उद्योगतर्फ नौ लाख ६३ हजार छ सय ५०, वाणिज्यतर्फ राजस्व १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित वस्तु बिक्रीबाट ५० हजार राजस्व सङ्कलन भएको छ । ‘जिल्लामा खासगरी कृषिजन्य क्रियाकलाप, उत्पादन र बजारीकरण गर्ने, फर्निचर उद्योग सञ्चालन गर्ने र सिलाइबुनाइ पसल सञ्चालन गर्दै उद्योग बढी दर्ता भएका छन्’, उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा उद्योग नै नगरी सञ्चालनमा आएका उद्योगसमेत सचेतनाका कारण धमाधम दर्ता भइरहेका छन्, हामीले उद्योग दर्ता, नवीकरण लागतको कामसँगै पदमार्ग, चौतारी र पार्कलगायतका संरचना ८१ लाखको लागतमा निर्माण सम्पन्न गरेका छौँ ।’ यस्तै गत आवमा दुई सय ६८ उद्योगको नवीकरण, पाँच सय १३ वाणिज्यतर्फका उद्योगको नवीकरण, ३८ उद्योगको नामसरी, २० वाणिज्यतर्फको उद्योगको नामसरी, चार उद्योगको ठाउँ सरी, तीन वाणिज्यतर्फका उद्योगको ठाउँसरी, २१ उद्योगको लगत कट्टा, ९५ वाणिज्य उद्योगको लगत कट्टा, पाँच उद्योगको नाम परिवर्तन, २१ वाणिज्य उद्योगको नाम परिवर्तन, १४ उद्योगलाई प्रतिलिपि, वाणिज्यतर्फका २६ उद्योगलाई प्रतिलिपि, १५ उद्योगको पुँजीवृत्ति र ५७ वाणिज्यतर्फका उद्योगको पुँजी वृद्धि गरिएको छ । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले ३९ स्थानमा पार्क तथा पदमार्ग निर्माण गरिएको कार्यालयको भनाइ छ । गत आवमा कार्यालयले पदमार्ग, चौतारो तथा पार्क बनाउने, कोरोना प्रभावितलाई उपकरण, उद्यमशीलता विकास तालिम, कुशन बनाउने तालिम, क्रिष्टलका गहन बनाउने तालिम, झोला बनाउने तालिम, खेलौना बनाउने तालिम, प्लम्बिङ तालिम र सिलाइबुनाइ तालिम सञ्चालन गरिएको कार्यालय सूचना अधिकारी विष्णप्रसाद शर्माले जानकारी दिए । कार्यालयले सहरमा मात्रै नभएर गाउँमा समेत पुगेर विभिन्न उद्योग तथा व्यवसायको विकास गर्नका लागि तालिम दिँदै आएको छ । रासस