नेपाललाई पर्यटनको हब बनाउने घोषणा, सम्भाव्यता अध्ययन गरेर मात्रै विमानस्थल निर्माण

काठमाडौं । सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।  उनले पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने बताएका हुन् । उनले अब सम्भाव्यताको आधारमा मात्र विमानस्थल बनाउने घोषणा समेत राष्ट्रपतिले गरे । यस्तै, उनले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेका छन् । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार १८१ रहेको छ ।   सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा ३१६, मङ्सिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव २०८०÷८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए ।   आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।  दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठूलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् ।  निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतली पाइन्छन् । 

कम्बोडियाको अर्थतन्त्रमा मन्दिरको योगदान १० प्रतिशत छ, नेपालमा समग्र पर्यटन क्षेत्रको पुग्दैन: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्ने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको ३९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बी पशुपतिनाथ र बौद्ध धर्मावलम्बी लुम्बिनी आउन चाहेकाले नेपाललाई सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा अघि बढाइनुपर्नेमा जोड दिए । भारतका स्वामी नारायणका भक्तजनले मुक्तिनाथलाई इष्ट देव मान्ने र जनकपुर एवं अयोध्याबीच प्राचीन कालदेखि नै सम्बन्ध रही आएकाले पनि सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानसके नेपालको अर्थतन्त्रलाई माथि उठाउन सकिने मन्त्री पाण्डेको भनाइ छ । सांस्कृतिक अर्थतन्त्र कसरी अघि बढाउने भनी मन्त्रालयले पनि सोच बनाइरहेको उनको भनाइ छ । कम्बोडियामा मन्दिरले त्यहाँको अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्ने गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपालमा समग्र पर्यटन क्षेत्रबाट पनि अर्थतन्त्रमा १० प्रतिशत योगदान नहुने गरेको बताए । पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र र जनकपुर क्षेत्रका विषयमा नकारात्मक कुरामात्र आफूकहाँ आउने गरेको उल्लेख गर्दै उनले तथ्य र तथ्याङ्कका आधारमा मात्र नकारात्मक कुरा गर्न आह्वान गरे । ‘भौतिक कुरामात्र सबै चीज होइन भनी आत्मिक र आध्यात्मिक जागरण पनि गराउनुपर्छ, यसका लागि काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रमा पैदल मार्गबाट एक ठाउँबाट अर्को ठाउँमा जान सकिने गरी मार्ग निर्माण हुँदैछ, स्वयम्भू-हनुमानढोका-पाटन-पशुपतिनाथ-बौद्धनाथ-बूढानीलकण्ठलगायत स्थललाई पैदल मार्गबाट जोड्ने तयारी गरिरहेका छौँ,’ मन्त्री पाण्डेले भने ।  कोषका सदस्य सचिव डा मिलन कुमार थापाले कोषको ऐन र नियमावली संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै छिटो गर्ने व्यवस्थाका लागि मन्त्री पाण्डेसँग माग गरे । पशुपति महाप्रसाद बिक्री वितरण र पशुपतिनाथमा अनलाइन पूजाको व्यवस्थामा पनि कोष जाने तयारी गरेको जानकारी उनले गराए । कोष सञ्चालक परिषदका सदस्य हरिनाथ ढकालले ३९ वर्ष पार गरेर वयस्क भएको संस्थाले परिपक्व चिन्तन गर्नुपर्ने बताए । पशुपति क्षेत्रमा आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त, सुलभ दर्शन र सफाइको व्यवस्था गरेर सुधार गर्न सकिने परिषद् सदस्य ढकालले सुनाए ।  कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले पशुपति क्षेत्रका सम्पदाको संरक्षण र मर्मत सम्भारका काम गर्ने जिम्मेवारीका साथ यसको स्थापना भएको जानकारी दिए । कार्यक्रममा कोषले स्थापना दिवसका अवसरमा आयोजना गरेको हाजिरीजबाफ प्रतियोगिताका विजयी र रक्तदान कार्यक्रमका रक्तदातालाई प्रमाणपत्र र पुरस्कार पनि प्रदान गरिएको थियो । कोषको स्थापना २०४३ सालको अक्षय तृतीयाका दिन अध्यादेशबाट भएको थियो ।