मनाङमा सार्वजनिक बस सेवा सञ्चालन, भाडादर ७४० रुपैयाँ

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्व कालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए ।  ‘भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । यो हाम्रो उपलब्धि हो । हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो,’ उनले भने ।  गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताए ।  ‘हाम्रा अग्रजले सडक निर्माणमा चासो दिएकाले बसमा यात्रा गर्ने सपना पुरा भएको छ । हालका लागि कच्ची सडकमा भए पनि बस सेवा प्रारम्भ गरेका छौँ । बिस्तारै कालोपत्र सडक बन्ने अपेक्षा छ,’ उनले भने ।  नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन पाइँदैन कि भन्ने त्रास हटेको छ ।’  चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए ।  गत चैत ७ गते पहिलो पटक यात्रु बाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।  ‘बेसीसहर–चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि बेंसीशहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको हो,’ उनले भने ।  प्रजीअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना ७ ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन् । अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ आइतबारदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिए ।  मनाङमा निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेंसीशहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरूप स्थानीय प्रशासनले डुम्रे-बेसीसहर-चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपश्चात बस सञ्चालनमा ल्याइएको हो । १५ वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेंसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । सोे रुटको भाडादर ७४० रुपैयाँ कायम गरिएको छ ।  यस सडक अन्तर्गत बेंसीशहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ-ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।

होटल सारथीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । होटल सारथी प्रालिले प्राथमिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने भएकाे छ । होटेलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सारथीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धककाे रूपमा नियुक्त गरेकाे छ ।  धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन्  । आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।  २०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तव्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौं तलामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो विशेष पहिचान बनाउन सफल भएको छ ।  सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज सञ्चालनमा रहेका छन् ।  १९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म सञ्चालनमा रहेको छ भने रोप साइक्लिङ, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ । यस समूहले चितवनको सौराहामा आफ्नो दोस्राे प्रोपर्टी सञ्चालनमा ल्याइसकेको छ । 

२ करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणी पोखरीमा अवस्थित पर्यटकीय स्थल ‘इन्द्रेणी पोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गरिएको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणी पोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले २ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका हुन् । परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीय स्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीय वासी हर्षित भएका थिए । त्यस विपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन । यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन वृहत् मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेरबार निर्माण गरिएको छ । इन्द्रेणी पोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ । राज्य कोषको २० लाख रुपैयाँ रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावा हुरीले ढाल्यो र पुनः राखियो । फरक–फरक समयमा फरक-फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणी पोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो । पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख रुपैयाँ, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख रुपैयाँ गाउँपालिकाको १ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणी पोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिए सँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीय वासी निराश बनेका छन् । प्राकृतिक संरचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गरे ।  ‘राज्य कोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ  । इन्द्रेणी पोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन,’ उनले भने, ‘बिना अध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।’ इन्द्रेणी पोखरीबाट धार्मिक तथा पर्यटकीय स्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोल ढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीय स्थलहरू जोड्न सडक मार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणी पोखरीमा बाह्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् । पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोग विहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए ।  ‘इन्द्रेणी पोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा-चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन,’ उनले भने ।  १० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरूले पनि आ-आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नति गरिरहेका छन् । हलेसी, बराहापोखरी, टेम्के, जन्ते ढुङ्गा, तावा भञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ ।