यस वर्ष हिमालको आम्दानी साढे ७७ करोड रपैयाँ

काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल १ हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा ९ समूहका १०७, मकालुमा ८ समूहका ७९, कञ्चनजङ्घामा ७ समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ आरोही छन् । वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । आरोहण अनुमति  जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ ।

नवलपुरमा थपियो स्तरीय रिसोर्ट: आइएमईको 'इला होटल' भोलिदेखि सञ्चालनमा आउँदै

काठमाडौं । देशको अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा अत्याधुनिक ‘इला होटल एन्ड रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ । सोमबार विशेष समारोहबीच औपचारिक उद्घाटनपछि यो होटल तथा रिसोर्ट आम सेवाग्राहीका लागि खुला हुने बताइएको छ ।  मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा अवस्थित यो होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । ६५ वटा सुइट र डिलक्स कोठा, एक हजार जनाको क्षमतासहितको भव्य बैंक्वेट तथा सम्मेलन हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र आधुनिक जिमजस्ता सुविधासहितको यो रिसोर्ट मौलाकाली क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । केबलकारसँगैको संरचना भएकाले यो परियोजनाले नारायणी, देवघाट, त्रिवेणी लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूप्रति आकर्षण बढाउनुका साथै प्राकृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ । आइएमई ग्रुपले हाल देशका सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितका पर्यटकीय पूर्वाधार निर्माण तथा विस्तार गरिरहेको छ । हालसम्म तीनवटा प्रदेशमा केबलकार सञ्चालनमा आइसकेका छन् भने दुई प्रदेशमा होटलसहितको परियोजना पूर्णरूपमा सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेशको बसन्तपुरमा लुम्बिनी केबलकारको टप स्टेशनमा होटल निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीमा केबलकार, होटल तथा रिसोर्ट एकसाथ निर्माण भइरहेका छन् । त्यहाँ एक वर्षभित्र केबलकार सञ्चालनमा आउने तथा त्यसपछि होटल तथा रिसोर्ट पनि सेवा दिन सुरु गर्ने योजना रहेको छ । यसैबीच पूर्वी नेपालको ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा समेत केबलकार निर्माण प्रक्रिया अघि बढाइएको छ, जसले धार्मिक पर्यटनमा थप योगदान गर्ने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रमै सबैभन्दा बढी कर तिर्ने तारागाउँ रिजेन्सी होटल सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघंले होटल तथा पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मान गरेको छ ।  महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा तारागाउँ रिजेन्सी होटललाई सम्मानपत्र प्रदान गरेका हुन् । महासंघले गत चैत २८ मा सम्पन्न ५९औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्थालाई सम्मान गर्ने निर्णय थियो । सो सम्मान आज एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको हो । महासघंले प्राविधिक समितिको सिफारिसका आधारमा महासंघको ५९ औं वार्षिकोत्सवको अवसर विभिन्न क्षेत्रमा बढी कर तिर्ने संस्थाहरुलाई सम्मान गरेको हो ।   पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने होटलका रूपमा यसअघि पनि होटलले विभिन्न सम्मान प्राप्त गरिसकेको छ  । होटलले यसअघि आर्थिक वर्ष २०७१/७२, आव २०७३/७४, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भइसकेको छ । होटललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेवापत २०७६ मा सम्मानित गरेको थियो । कूल ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उतकृष्ट करदाताको रुपमा सम्मान गरेको हो । नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ इन्ड पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको छ । होटलले हाल करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी  दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् । १० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० मा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको थियो ।