हवाई व्यवसायीले भने- कम मूल्यमा टिकट उपलब्ध छ, अब पनि कम मूल्यमै उपलब्ध हुनेछ
काठमाडौं । नजिकिएको दसैँमा हवाई यात्रुलाई महँगो भाडा लिएको भन्ने गुनासो आइरहेका बेला हवाई सेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक सङ्घले कम मूल्यमै हवाई टिकट उपलब्ध गराइएको दाबी गरेको छ । सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा हवाई कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा दरभन्दा कम मूल्यमा नै टिकट उपलब्ध गराइरहेको स्पष्ट पारिएको छ । बडादसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर यात्रुसँग बढी हवाई भाडा लिएको भन्नेतर्फ सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले कम मूल्यमै टिकट उपलब्ध गराइएको र अब जारी गर्ने टिकट पनि कम मूल्यमा नै उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेको छ । यही असोज ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारी तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारी सम्मिलित बैठकमा भएको छलफल बमोजिम वायुसेवा कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा दरभन्दा कम मूल्यमा नै टिकट उपलब्ध गराउने निर्णय भएको सङ्घले जनाएको छ । साथै हाल दुर्गम क्षेत्रमा उडानको चाप त्यति नभएको र उक्त क्षेत्रको हवाई भाडा पनि एउटै रहेकाले सोही बमोजिम नै भाडा लिई उडान गरिरहेको पनि सङ्घले स्पष्ट पारेको छ ।
विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न/नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिए । उनले भने, 'विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ ।' नेपालीहरुका महान चाड दसैँ–तिहार नजिकिँदै जाँदा विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गरिन्छ ।
दसैँमा पर्यटक भिसा खुला रहने
काठमाडौं । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो । असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।