आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सार्वजनिक, कुन ठाउँ जान कति लाग्छ ?
काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर ताेककाे छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर ताेकेकाे हाे । नेपालीहरूको महान चाड पर्व (दशैं, तिहार तथा छठ) को समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगो भाडा दरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न प्राधिकरणले उच्चतम भाडा सार्वजनिक गरेको हो । स्वीकृत उच्चतम भाडा दर भन्दा कम भाडा दरमै टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर उच्चतम भाडा दर ९ हजार ७८५ रुपैयाँ, काठमाडौं-भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं-भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं-जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं-पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ । यस्तै, काठमाडौं-धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं-सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं-भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं-राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं-सुर्खेत ९ हजार ३० रुपैयाँ, काठमाडौं-तुम्लिङ्गटार ७ हजार ६३० रुपैयाँ उच्चतम भाडा दर तोकिएको छ । उच्चतम हवाई भाडा दर भन्दा कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता तथा ट्राभल एजेन्सीले यात्रुसँग बढि रकम लिई टिकट बिक्री वितरण गरेको पाइएमा कारवाही गरिने प्राधिकरणले जनाएको छ ।
मनकामना केबलकार ३ दिन बन्द गरिने
काठमाडौं । मनकामना केबलकार आजदेखि ३ दिन बन्द गरिने भएको छ । केबलकारको व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।
दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु, कसरी बढ्छ हवाई भाडा ?
काठमाडौं । दसैँमा गाउँघर पुगेर आफन्त र साथी भाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला ! तर, दसैँका बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ । काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजार रुपैयाँभन्दा बढी हवाई भाडा पर्छ । काठमाडौं-विराटनगरमा ९ हजार ७ सय रुपैयाँ छ । धनगढीकी निशा पाण्डे महंँगै भए पनि हवाई टिकटको खोजीमा निकै दिन भौतारिन् । मुस्किलले महँगो दरमा हवाई टिकट पाइन् । उनलाई धनगढीबाट कसरी फर्किने भन्ने अर्को चिन्ता छ । बझाङका वसन्तराज जोशीलाई विगतका वर्षझैँ यसवर्ष पनि दसैँमा टिकट पाउन निकै सास्ती बेहोर्नुपर्यो । मोरङकी सङ्गीता सापकोटाले विराटनगरका लागि हवाई टिकट नपाएपछि गाडीबाटै गन्तव्यतर्फ लागिन् । हवाई भाडा महँगो भएको गुनासो बढेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडादर सस्तो बनाउन पटक–पटक वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । दसैँमा यात्रुको चापलाई मध्यनजर गरी उडान सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, क्यानका पदाधिकारी, वायुसेवा कम्पनीका प्रतिनिधिसँग हालै छलफल पनि गरेको थियो । किन हरेक वर्ष दसैँमा हवाई भाडा महँगो हुन्छ भन्ने जिज्ञासामा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘अहिले सबै मानिसले हवाई भाडा महँगो भयो भनिरहेका छन् । हामीले हवाई भाडा सस्तो गर्नु निरन्तर वायुसेवा कम्पनीलाई निर्देशन दिइरहेका छौँ । सोही निर्देशन बमोजिम बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले धनगढीका लागि उच्चतम भाडा १७ हजार रुपैयाँ रहेकामा १२ हजार ५०० रुपैयाँसम्ममा टिकट बिक्री गरेको सिस्टममा देखाएको छ ।’ सूचना अधिकारी भूलले यो समस्या हरेक पटक दोहोरिरहेकाले हवाई भाडा प्रणालीबारे स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ का अनुसार नेपालको हवाई यातायातमा यदि यात्रु वा कार्गोको भाडा दर तोक्नु परेमा क्यानले सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गर्ने र त्यो लागू भए/नभएको क्यानले अनुगमन गर्ने र कार्यान्वयन नभएमा क्यानको महानिर्देशकले सम्बन्धित एयरलाइन्सलाई कारबाही गर्ने व्यवस्था छ । सूचना अधिकारी भूलका अनुसार प्राधिकरण ऐन अन्तर्गत बनेको दुई वटा नियमावली छन् । सेवा प्रदायक र नियामक । जसमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ र नागरिक उड्डयन नियमावली २०५८ । नागरिक उड्डयन नियमावलीमा अन्तर्राष्ट्रिय हवाई भाडा चाहिँ जुन देशसँग हवाई सम्झौता हुन्छ त्यो सम्झौताका आधारमा निर्धारण हुन्छ । अहिले नेपालले ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । अधिकतम मुलुकसँग ‘ओपन फेयर पोलिसी’ (फ्रि प्राइसिङ) माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण गरिन्छ । सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा अधिकतम र न्यूनतम् हवाई भाडा तोक्ने हुनाले तोकिएको भन्दा बढी भाडा एयरलाइन्सले लिन नपाउने सूचना अधिकारी भूलले बताए । उनका अनुसार आन्तरिक तर्फ दुई प्रकारले भाडा निर्धारण हुन्छ । नियमित र चार्टर्ड उडान । यी दुवै उडानको भाडा दर क्यानबाट स्वीकृत हुनुपर्छ । उनले भने, ‘नियमित उडानमा यदि ५ हजार ७०० केजीभन्दा सानो जहाज अर्थात् १९ सिट क्षमता भन्दा सानो जहाज छ भने ‘सिङ्गल फेयर सिस्टम’ हुन्छ ।’ उदाहरणका रुपमा काठमाडौंबाट लुक्ला उड्ने ट्वीनअटर जहाजको भाडा दर एउटै हुन्छ । तर, १९ सिट क्षमताभन्दा माथिका एटीआर जहाजमा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम् र अधिकतम भाडा दर तोक्ने र एयरलाइन्सले न्यूनतम्, अधिकतमको भाडा निर्धारण गर्न पाउँछन् । हाल विराटनगरको हवाई भाडा ५ हजार १ सय रुपैयाँबाट ९ हजार ७ सय रुपैयाँ कायम छ । एयरलाइन्सले ५ हजार १ सय रुपैयाँदेखि ९ हजार ७ सय रुपैयाँसम्मका प्रत्येक टिकट बिक्री गर्न पाउँछ । तर, ५ हजार १ सय रुपैयाँ भन्दा कम र ९ हजार ७ सय रुपैयाँभन्दा बढी लिएमा गैरकानुनी हुन्छ । उनले काठमाडौंबाट विराटनगरको भाडा दर निर्धारण वायुसेवा कम्पनीको लागत दरका आधारमा हुने जानकारी दिए । सरकारले विसं २०७३ मा निर्धारण गरेको हवाई भाडा नै हालसम्म कायम छ । लागत दरमा हवाई इन्धनको मूल्य, जहाजको प्रकृतिको आधार, यात्रु सेवा शुल्क र १३ प्रतिशत कर यी चार कुराको आधारमा हवाई भाडा निर्धारण हुने क्यानले उल्लेख गरेको छ । पहिला साना जहाजको आधारमा भाडा निर्धारण गरिएको थियो । अहिले बजारमा एटीआर-७२ र सिआजे जहाज सञ्चालन भइरहेको छ यसले पनि हवाई भाडा बढेको बताइन्छ । नेपालमा हाल दक्षिण एसियाकै महँगो हवाई इन्धन रहेको अधिकारीहरू बताउँछन् । एयरलाइन्सले हवाई इन्धन, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा महङ्गो भएको जनाउँदै आएका छन् । राज्यकातर्फबाट इन्धन, विमानस्थल शुल्क र करमा सहुलियत दिएमा मात्रै भाडा घटाउन सकिने विमान सेवा कम्पनीहरू बताउँछन् । कसरी बढ्छ हवाई भाडा ? यसैपनि काठमाडौंबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरू बताउँछन् । रुस र युक्रेनको युद्धले जहाजका पार्ट पुर्जा महँगो भएको छ । हवाई इन्धनको मूल्य चुलिएको छ । यिनै लगायत कारण हवाई भाडा महँगो भएको कम्पनीहरूको भनाइ छ । सरकारी स्वामित्वको नेपाल वायुसेवाको आन्तरिक बजारमा उपस्थिति कमजोर छ । करिब ९० प्रतिशत आन्तरिक हिस्सा निजी वायुसेवा कम्पनीको छ । ‘प्रत्येक वर्षको दुई महिना यस्तो समस्या आउँछ । सुगम गन्तव्यमा उड्ने जहाज ३० वटा छन् । दुर्गममा उड्ने जहाज १० वटा छन् । सिट क्षमता निश्चित छ । दैनिक १० हजार यात्रु उड्छन् । अहिले आन्तरिकमा वार्षिक ४५ लाख र अन्तर्राष्ट्रियमा ५० लाख यात्रुले हवाई यात्रा गर्छन् । अब, दुई महिनाका लागि मात्रै जहाज थप्ने कुरा भएन । यसकारण उडान चापले हवाई भाडा सस्तो गराउन समस्या हुन्छ,’ क्यानका सूचना अधिकारी भूल भन्छन् । उनले कानुनी रुपमा पनि एयरलाइन्सलाई कम मूल्यमा हवाई टिकट बिक्री गराउन नसकिएको उल्लेख गरे । हवाई भाडा दर कम गर्न कि एकल भाडा दरमा जानुपर्छ कि, इन्धनमा सहुलियत र करमा छुट दिनुपर्छ । तब मात्रै समस्याको समाधान हुने उनी बताउँछन् । नभए एयरलाइन्सलाई भाडा कम गर भनेर मात्रै विमान कम्पनी सञ्चालन गर्न समस्या हुने उनको जिकिर छ । वायुयान कोष सञ्चालन गरेर दसैँलगायत चाडपर्वको अवसरमा सम्बन्धित एयरलाइन्सलाई सहयोग गर्ने गरेको खण्डमा भाडा दर सस्तो हुने उनको भनाइ छ । नीतिगत सुधार गरेर वायुसेवा कम्पनी र यात्रु दुवै मर्कामा नपर्ने गरी हवाई भाडा समायोजन गर्नुपर्ने देखिन्छ । वायुसेवा सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले दसैँमा हवाई कम्पनीले तोकिएको उच्चतम भाडा दर भन्दा बढी भाडा नलिएको बताउँछन् । काठमाडौंबाट बाहिरका जिल्ला जाने यात्रुको अत्यधिक चाप रहेको र फर्किने यात्रु नभएकाले भाडा केही महङ्गो भएको उनले बताए । वायु सेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा महङ्गो भाडा असुल्ने गरेको गुनासो सुनिन्छ । दसैँका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक विजयादशमीसम्म उडानमा चाप छ । आन्तरिकमा एकतर्फी दैनिक १६० हाराहारी उडान भइरहेका छन् । अन्तर्राष्ट्रियमा दैनिक १२० हाराहारी उडान भइरहेका छन् । निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले तोकिएको भन्दा बढी भाडा दर नलिएको दाबी गरेका छन् । दसैँमा यात्रुको चाप रहेकाले केही गन्तव्यमा हवाई टिकट पाउन समस्या रहेको उनीहरुको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फ गरी दैनिक ३५० हाराहारी उडान हुने गरेकामा हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन् । आन्तरिक तर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् ।