यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले सेयर प्रिमियममा आईपीओ जारी गर्ने निर्णय गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते दिउँसो ३ बजे रजिस्टर्ड कार्यालय तिलगंगा काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।  सभाले कम्पनी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने छ ।  सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र कार्य योजना पारित गर्नेछ । 

सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । गत भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । ​​ हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

अब ३० हजार रुपैयाँमै चिन, नेपाल एयरलाइन्सले सुरु गर्यो ग्वाञ्जाओमा सिधा उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भएको हो । ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही सङ्ख्याका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्द भएको थियो । विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो । निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार काठमाडौंबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ । पूर्वनिर्धारित तालिका बमोजिम नै ग्वाञ्जाओमा नियमित उडान हुनेछ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । काठमाडौं-ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीहरूको बाहुल्यता रहेको ग्वाञ्जाओ  उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।  हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।