लेखा समितिले माग्यो वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण

काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण मागेको छ । आइतबार बसेको समिति बैठकले वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको आंशकामा विस्तृत विवरण मागेको हो । ‘नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिदका क्रममा अनियमिता भएको भन्ने उजुरी समितिमा परेको थियो, त्यसमाथी भएको छलफलपछि खरिद प्रक्रियाको सम्पुर्ण विवरण ५ दिन भित्रै समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देश गरिन्छ’, समितिले भनेको छ । निगमले दुई वटा वाइडबडी जहाज ए३०० खरिदका लागि बैना रकम समेत पठाईसकेको छ । त्यस्तै, बैठकले आगामी तीन महिनाभित्रै निगममा उपयुक्त विदेशी साँझेदार भित्र्याइसक्न पनि समितिले निर्देशन दिएको छ । समिति बैठकले चिनियाँ जहाजको खरिद लागत तथा हाल सञ्चालनबाट प्राप्त भैरहेको उपलब्धिका बारेमा पनि प्रतिवेदन बुझाउन भनेको छ । समितिले नेपाल बायु सेवा निगम सञ्चालन सम्बन्धी वित्तिय योजना पनि पेश गर्न भनेको छ । बैठकमा उपस्थित पर्यटन मन्त्री जीवन बहादुर शाहीले निगमलाई परिवार नियोजन गरेको अवस्थाबाट फेरी नयाँ उचाईमा पुर्याउन आफु लागिपरेको बताएका थिए । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने निगमलाई गरिखाने सरकारी संस्थानका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । कंसारकारले एयरबस३३० खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा निगमका आर्थिक विनियमावली अक्षरस पालना गरेको पनि जानकारी गराए । उनले नेपाल बायु सेवा निगमलाई जहाज खरिद गर्न नदिएर डुबाउने अभियानमा ठूलै शक्ति लागिपरेको आरोप पनि लगाएका थिए । कंसाकारले सबै खाले अवरोधलाई चिरेर वाइडबडी जहाल ल्याएर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

हेलिकोप्टरमा आधा अर्बको लगानी थप्दै फिस्टेल एयर, एक साताभित्रै १५ कराेडकाे हेलिकोप्टर काठमाडौंमा

फिस्टेलले खरीद गर्ने हेलिकाेप्टरकाे फाइल तस्बीर काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी फिस्टेल एयरले हेलिकोप्टरमा  मात्रै आधा अर्बको लगानी थप गर्दै छ । फिस्टेल गोमा ग्रुप अन्तर्गत संचालन भइरहेको यो कम्पनीले तीनवटा हेलिकोप्टर थप गर्दै छ । फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पाण्डेका अनुसार पहिलो हेलिकोप्टर आज वा भोलीमै कलकत्ता आउँदै छन् । क्यानेडियन एक वायुसेवाले उडान गरेको यो हेलिकोप्टर फिस्टेलले खरिद गरेको हो । फिस्टेलले करीब १५ करोड रुपैयाँका किनेको यो हेलिकोप्टर काठमाडौं ल्याउन भने एक साताको समय लाग्ने उनले बताए । उनका अनुसार फिस्टेलले एयरवस हेलिकोप्टर कम्पनीको एसएस ३५० बी ३ प्लस नामक ६ सिटर हेलिकोप्टर ल्याउँदै छ । यसपछि यो वायुसेवाले सन् २०१८ भित्रमै अर्को दुई वटा हेलिकोप्टरको लागि ३० करोड रुपैयाँसम्म खर्च गर्ने भएको छ । पाण्डेका अनुसार फिस्टेलले यस अघि अमेरिकी कम्पनी वेल हेलिकोप्टर ल्याउने सम्झौता गरिसकेकोले सोही कम्पनीको दुईवटा जहाज ल्याउने भएको छ । उनका अनुसार वेलको जहाज ल्याउदाँ कम्तिमा २५ करोड रुपैयाँ खर्च हुने छ । फिस्टेलसँग अहिले नै २ वटा हेलिकोप्टर उडानमा रहेको छ । एक सातामा ३ वटा पुग्ने भएको छ । यो वायुसेवाले अर्को २ वटा हेलिकोप्टर ल्याउने टुङ्गो समेत लगाइसकेकोले आगामी एक वर्षभित्रै यसका हेलिकोप्टर संख्या ५ वटा पुग्ने पाण्डलेको भनाइ छ । हेलिकोप्टर सेवामा आफ्नो छुट्टै छवि बनाएको फिस्टेल ग्रुपले एयरलाइन्स क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको छ । गोमा एयरमार्फत नियमति उडानमा र फिस्टेल एयरमार्फट हेलिकोप्टर सेवामा यसले आफ्नो बजार विस्तार गरिरहेको छ । गोमाले भर्खरै ७० करोड रुपैयाँ खर्च गरेर दुई वटा लेट ४१० नामक १९ सिट क्षमताको हजाईजहाज थप गरेको छ । यो वायुसेवासँग २ वटा लेटका जहाज नियमति उडानमै थिए । हाल यसका नियमित उडान रहेका मल्टि इन्जिनका जहाज चार वटा र २ वटा सिंगल इन्जिनको जहाज रहेको छ । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउन थालेको पाण्डेले बताए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको हो । हाल नेपाली आकासमा १० वटा हेलिकाेप्टरले उडान सेवा दिइरहेका छन् । यी वायुसेवाको हेलिकोप्टर संख्या २ दजर्नन रहेको छ । पछिल्लाे समय हेलिकाेप्टरकाे बजार नेपालमा निकै बढेकाे छ । नेपालीकाे पनि हेलिकाेप्टर चढ्न सक्ने क्षमता बढेकाे, उद्धार र पर्यटकीय गतीविधिमा यसकाे उपयाेग बढेकाे उल्लेख छ ।

जिरी विमानस्थल सञ्चालन सुस्तायो, अनुगमनको वर्ष दिनको प्रगति शून्य

दोलखा । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण गरी चाँडै सञ्चालनमा ल्याइने सपना देखाएपनि निरीक्षण गरेको वर्ष दिन पुगिसक्दा पनि प्रगति भने शून्य छ । यहाँको पर्यटन विकासका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विमानस्थल पुनःसञ्चालनका लागि जिरीवासीले पटकपटक प्राधिकरणसँग अनुरोध गरेका थिए । लामो समयको प्रयासपछि २०७२ फागुन १९ गते प्राधिकरणका निर्देशक ध्रुवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्मा र दोलखा क्षेत्र नं १ का सांसद पार्वत गुरुङसहितको टोलीले गौचरणको रुपमा रहेको जिरी विमानस्थल निरीक्षण गरेको दुई महिनापछि प्राधिकरणले सर्भेक्षणका लागि तीन इञ्जिनियरको टोली जिरी पठाएको थियो । टोलीले विमानस्थल रहने क्षेत्रको एक सातासम्म सर्भेक्षण गरेर राजधानी फर्केपछि जिरी विमानस्थल पुनः सञ्चालनको विषय अघि बढेको छैन । सो विमानस्थल सञ्चालनमा ल्याउन सकिए जिरीको पर्यटन विकासका साथै होटल व्यवसाय समेत फस्टाउने स्थानीय होटल व्यवसायी सञ्जु शेर्पा बताउछन्। तीन दशक अघिसम्म नियमित रुपमा सञ्चालन हुँदै आएको विमानस्थल २०४२ सालमा सडक सञ्जाल विस्तार भएसंगै विस्थापित भएपछि गौचरणको रुपमा प्रयोग हुँदै आएकाले यसलाई पुनः सञ्चालनमा ल्याउन जिरीवासीले सम्बन्धित निकायमा पटकपटक घच्घचाउने काम गरे पनि सुनुवाइ हुन सकेको छैन । विमानस्थल सञ्चालन भए यहाँ उत्पादित खाद्य वस्तु खपत हुने भएकाले जिरीवासीको आर्थिक अवस्थामा समेत सुधार आउने अर्का होटल व्यवसायी विजय जिरेलको धारणा छ । सो विमानस्थलको जग्गाको जग्गा धनीपुर्जा नभएकै कारण सफल हुन नसकेको यहाँका बासिन्दाको भनाइ छ । रासस