कर्णाली क्षेत्रमा रोकिएन हिमपात, स्याउ खेति फस्टाउने

जुम्ला । बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन असामान्य बनेको छ ।शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो । चिसोले स्थानीयवासीलाई आवतजावत गर्न सहज भएन । लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक पक्की भएकाले छोटो दूरीका गाडी गुड्न सामान्य सुरसार गरे पनि गाडी चढ्ने यात्रु नै भेटिएनन् । पाँच दिनदेखि जुम्लामा हवाई यातायात पनि ठप्प भएको छ । आकाश मार्गबाट आएर फर्कने पाहुना जुम्लामा रोकिएका छन् । शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय खोलिए पनि सेवाग्राहीको आवातजावत शून्य रह्यो । व्यापार व्यवसाय तथा साना–ठूला विभिन्न क्षेत्रका उद्योग पनि तीन दिनदेखि बन्द छन् । हिउँले सदरमुकाम जुम्लासहित कर्णाली क्षेत्र सेताम्य छ । हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाले आइतबार पनि बेला बेलामा बादल आउने र चिसो बढ्ने बताए । शनिबार अधिकत तापक्रम ७.८ डिग्री सेल्सियस र वर्षा ९७ मिलिमिटर भएकामा आइतबार बिहानको न्यूनतम तापक्रम –२.५ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख चौरसियाले जनाए । त्यसैगरी सदरमुकाम जुम्लामा २०।२ सेन्टिमिटर हिमपात भएको उनको भनाइ छ । उनका अनुसार हिमपात कालीकोट र मुगु जिल्लामा कम परे पनि सबैभन्दा बढी हुम्ला, डोल्पा र जुम्लामा परेको छ । यी तीनै जिल्लाका उच्च भेकमा करिब चार फिट हिउँ परेको जनाइएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले यस यामको चौथो पटकको हिमपातले जनजीवन केही कष्टकर भए पनि किसानको मुहारमा मुस्कान छाएको बताए । माटोमा चिस्यान नभएको बेला मूलतः सबै बालीका लागि हिमवर्षा फलदायी भएको बताउँदै कँडेलले स्याउ बालीका लागि भने यो अमृत समान भएको स्पष्ट पारे । रासस

अब युरोप–अमेरिकासम्म नेपाली जहाज उड्ने

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले नेपाल वायुसेवा निगमलाई युरोप र अमेरिकासम्म पुर्याउने बताएका छन् । राजधानीमा शुक्रबार आयोजीत एक कार्यक्रममा मन्त्री गिरिले भने,‘हिजो आर।एले युरोपसम्मको उडान भर्दथ्यो, तर हामी आज हेरौं हाम्रो अवस्था, त्यसैले मेरो प्रतिबद्धता छ, म मेरै कार्यकालमा युरोप र अमेरिकासम्म आर.एको सेवा सुचारु गर्छु, यसमा मलाई सबैको साथ र सहयोग चाहिन्छ, सपना नदेखी केही पनि गर्न सकिँदैन् ।’ उनले पर्यटन मन्त्रालयमा धेरै चूनौतिहरु रहेको स्विकार गर्दै आगामी दिनमा सबै खाले चूनौतिहरुलाई सामाना गर्दै आफू अघि बढ्न सक्षम रहेको जिकिर गरे ।त्यस्तै उनले आफ्नो कार्यकालमा कसरी पर्यटकको संख्या बढाउन सकिन्छ भनेर आफूहरुले विशेष रुपमा काम गर्ने समेत प्रतिबद्धता जनाए। उनले भने,‘अहिले नै यति संख्या वा उति लाख भनेर भन्नु भन्दापनि मेरो पूर्ण प्रतिबबद्धता कसरी पर्यटकहरु बढाउन सकिन्छ भन्ने नै हो ।’ उनले नेपालको कला, संस्कृति, सभ्यता, पर्यटनलाई कसरी संरक्षण एवम् प्रर्वद्धन गर्न सकिन्छ भनेर आफू गम्भिर रहेको बताउँदै सोही अनुसार काम गर्ने समेत विश्वास दिलाए ।

निगमको आन्तरिक टिकेटलाई क्यास डिपोजिटले समस्या, ५ लाखसम्मको बैंक ग्यारेन्टीको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक टिकेटमा क्सासै डिपोजिट गर्नुपर्ने अन्यथा ट्राभल एजेन्सीले टिकटै बेच्न नपाउँने समस्या रहेको छ । निगमको आन्तरिक उडानका टिकेट बेच्न टिकेटिङ व्यवसायीले अनिवार्य रूपमा कम्तिमा १ लाख रुपैयाँ नगद वायुसेवा निगममा डिपोजिट गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाले व्यवसायीलाई टिकेटिङमा सहजता नभएर समस्या थपेको एरोलिना ट्राभलका अध्यक्ष यमबहादुर खड्काले बताए । उनका अनुसार यो समस्याका कारण कतिपय व्यवसायीले निमगको टिकेट विक्री नै गर्दैनन् । आन्तर्राष्ट्रिय उडानको टिकेट भने अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा)को सिस्टममा रहेको छ । आन्तरिक उडानको टिकेटमा एक साता वा १५ दिनमा पेमेन्ट गर्ने गरी बैंक ग्यारेन्टीमा टिकेट दिन निगमसँमक्ष पटकपटक माग गर्दा पनि नपाएको उनको भनाइ छ । व्यवसायीले कराउँदा कराउँदा थाकिसेका छन् तर निगमले सहजताको बाटो नै खोजेन र निगमको आन्तरिक उडानको टिकेट धेरै व्यवासायीले बेच्दैनन्, उनले भने । धेरै जसो व्यवसायीले निगमको आन्तरिक उडानको टिकेट नबेच्नुको कारण पनि निगमले बैंक ग्यारेन्टीमा विश्वास नगरेर हो । हामीले आयटामार्फत १ करोडको टिकेट बैंक ग्यारेन्टीबाट बेचिरहेका छौ । निगमले भने एक लाखलाई पनि विश्वास नगर्ने गुनासो व्यवसायीको छ । आन्तरिक उडानको यति, बुद्ध, सिम्रिक, तारासहितका अन्य वायुसेवाले भने बैंक ग्यारेन्टीमा टिकेट दिएका छन् । सोही कारणले निगम बाहेकको अन्य वायुसेवाको टिकेट जुनसुकै एजेन्सीबाट पनि पाइन्छ । ५ लाखको बैंक ग्यारेन्टीको व्यवस्था गर्दै छौ — निगम वायुसेवा निगमले भने आन्तरिक उडानका टिकेटलाई पनि सहजीकरण गर्ने र व्यवसायीको अपेच्छा अनुसार नै गर्ने गरी बैंक ग्यारेन्टीमा दिने व्यवस्था गर्न लागेको जानकारी दिएको छ । निगमका कमर्सियल डाइरेक्टर जनक कालाखेतीका अनुसार निगमले ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी लिएर टिकेट दिने भएको छ । उनका अनुसार निगमले यसका लागि आवश्यक तयारी गरिरहेको र निगम संचालन समितिसमक्ष पेश गर्ने भएको छ । बोर्डले स्वीकृति दिएपछि कार्यान्वयनमा जाने पनि उनको भनाइ छ । कालाखेतीका अनुसार पहिले बैंक ग्यारन्टीबाट नै टिकेट दिने गरिएको थियो । यो व्यवस्थामा समस्या भएपनि निगमले क्यास नै राख्नु पर्ने व्यवस्था गरेको हो । अब फेरि सिस्टम बनाएर दिने विषयमा छलफल सुरु भैसकेको पनि उनले जानकारी दिए । विदेशी हवाई यात्रुबाट मनोमानी भाडा आन्तरिक वायुसेवा कम्पनीले विदेशी यात्रुलाई कति भाडा लिने र नेपालीको भन्दा कति प्रतिशत बढी लिने भन्ने विषयमा कुनै आधार तथा मापदण्ड बनाएका छैनन् । नाफाको प्रतिशत कायम नगरी मनोमानी भाडा लिने गरेको पाइएको जानकारी खड्काले दिए । उनका अनुसार आफ्नो लगानी कति हो र कति प्रतिशत नाफा राखेर व्यबसाय चलाउने भन्ने आधार नबन्दा समस्या भएको बताए । यो समस्याले व्यवसायिक वातावरण दिगो नहुने तर्क उनको छ । उनका अनुसार काठमाडौंबाट भैरहवा जाँदा नेपालीले यात्रुले रू ३९०० सय रुपैयाँमा पाउने टिकेटमा विदेशी यात्रुबाट भने १५,३०० रुपैयाँसम्म लिने गरेका छन् । यस्तै समस्या काठमाडौं लुक्लामा पनि हुने गरेको छ । यो सेक्टरमा पनि वायुसेवा कम्पनीले यात्रु अनुसार र हवाई चाप अनुसार व्यक्तिअनुसार भाडा बढी लिने गरेको एक व्यवसायीले बताए ।