११० रुसी नागरिक बोकेर फर्कियो रोयल फ्लाइट, अमेरिकी जहाज भाेलि आउँदै

काठमाडाैं । रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन आज बिहान काठमाडौं आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ । यसैबीच नेपालमा रोकिएका आफ्ना नागरिक लैजान अमेरिकाले मङ्गलबार काठमाडौंमा जहाज पठाउने भएको छ । अमेरिकी जहाज भोलि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अमेरिकन नागरिकलाई लिएर फर्किने विमानस्थलले जनाएको छ । यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो । यो पटक भने अमेरिकाले आफ्नै जहाज पठाउन लागेको जनाइएको छ । तर कुन कम्पनीको जहाज आउने भने विमानस्थलले खुलाएको छैन । रासस

माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स, आजै स्वदेश फर्कने

काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए३२० जहाजले आइतबार(आज)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो । काठमाडौं-ढाका उडान करिब एक घण्टाको हुनेछ । ढाका पुगेर निगमको जहाज आजै स्वदेश फर्कनेछ । ढाकाबाट ती १८ मल्दिभ्सका नागरिक अर्को जहाजमार्फत गन्तव्यमा पुग्ने जनाइएको छ । पछिल्लो पटक यही वैशाख २ गते निगमको न्यारोबडी जहाजले ३४ ब्राजिलियनलाई भारतको नयाँदिल्ली पुर्याइदिएको थियो । यसअघि निगमको वाइड बडी जहाजले गत चैत १९ गते अष्ट्रेलियाको शहर ब्रेश्वनमा सिधा उडान गरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान गरेको थियो । ती सबै चार्टर्ड उडान हुन् । निगमका दुई वाइड बडी ए३३० जहाजले गत चैत १६, २० र वैशाख ४ गते दुई गरी चार वटा कार्गो उडान गरी चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएका थिए । लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले आठ अन्तर्राष्ट्रिय उडान भरेको छ । यीमध्ये चार उद्धार उडान र चार कार्गो उडान हुन् । वाइड बडी बडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

कोरोना राेकथाम कोषमा नागरिक उड्डयन प्राधिकरणको १ करोड रुपैयाँ सहयोग

काठमाण्डौ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले एक करोड रुपैयाँको चेक उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेललाई हस्तान्तरण गरेका हुन् । कोरोनाविरुद्ध लड्न सरकारलाई आर्थिक अभाव नहोस भनेर सहयोग गरिएको क्यानले जनाएको छ । सरकारले बनाएको कोषमा सरकारी र निजी संघ संस्थाले रकम सहयोग गर्ने क्रम दिनदिनै बढिरहेको छ ।