अध्यक्ष राणा भन्छिन्ः होटलहरु ठूलाे घाटामा छन्, कर्मचारीलाई तलब दिन सक्दैनौं

काठमाडौं । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटल क्षेत्र अहिले धेरै घाटामा भएकोले कर्मचारीहरुलाई पुरै तलब दिन सकिने अवस्था नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा पर्यटन सँग सम्बन्धित व्यक्तिहरुसँग भिडियो कन्फ्रेन्समा बोल्दै उनले सो कूरा बताएकी हुन् । कोरोना भाइरसको कारण पर्यटन क्षेत्र ठप्प भएकोले होटलहरु पनि नोक्सानमा परेको उनको भनाइ छ । ‘होटल क्षेत्र मासिक करिब दुई अर्ब रुपैयाँ घाटा भइरहेको छ, यो अवस्थामा हामी हाम्रा कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था छैन, दियो भनेपनि पुरै दिन सकिने अवस्था छैन,’ उनले भनिन् । उनले होटल क्षेत्रका लागि सरकारले छुट्टै किसिमको प्याकेज ल्याउनु पर्ने बताएकी छन् । होटलहरुलाई सञ्चालन गर्न र कर्मचारीहरुलाई तलब खुबाउनै भएपनि राहत प्याकेज ल्याउनु पर्ने उनको धारणा छ ।

पर्यटन विकासमा २० अर्बकाे प्याकेज आवश्यक, १ वर्षसम्म ब्याज र किस्ता तिर्न नपर्ने नीति ल्याउनु पर्ने

काठमाडौं । नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन विकासका लागि २० अर्ब रूपैयाँकाे प्याकेज आवश्यक पर्ने बताएका छन् । उनले काेराेना भाइरसकाे कारण देशकाे पर्यटन व्यवसाय ठप्प भएकाे बताउँदै यसकाे मद्दतका लागि साे रकम बराबरकाे प्याकेज चाहिने बताएका हुन् । उनले काेराेनाका कारणा सबैभन्दा बढी प्रभावित पर्यटन भएकाेले अब सरकारले पनि पर्यटनलाइ विशेष प्राथमिकताका साथ हेर्नु पर्ने बताएका छन् । यसका साथै उनले अब पर्यटन व्यवसायीका लागि सरकारले एक वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने प्याकेज ल्याउनु पर्ने बताए । त्यसमा पनि तीन वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने उनकाे भनाइ छ । पर्यटन व्यवसायीकाे सहयाेगका लागि बाेर्ड सधैं सकरात्मक भएकाे बताउँदै उनले अब सरकारले पनि त्यसतर्फ ध्यान दिनु पर्ने उनले बताए । अहिले काेराेनाकाे कारण भएकाे लकडाउनले २० लाख जति मानिसहरू प्रभावित भएकाे बताउँदै उनले देशमा जारी लकडाउन खुलेपछि पर्यटन क्षेत्रमा रहेका १८ सय कामदारहरुलाई रोजगारी दिने तयारी भइरहेकाे उनले बताए ।

पर्यटनसँग आवद्ध क्षेत्रको पुनरुत्थानको लागि चेम्बरकाे १७ बुँदे सुझाव

काठमाडौं । कोभिड-१९ को प्रकोपका कारण सबैभन्दा बढी पर्यटन, सेवा व्यवसाय, नागरिक उड्डयन आदि क्षेत्र प्रभावित भएका छन् । यस्तो अवस्थामा पर्यटनसँग आवद्ध क्षेत्रको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ् कमर्शले निम्न बमोजिम सुझाव पेश गरेको छ । चेम्बर अफ् कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले साेमबार पर्यटनमन्त्री याेगश भट्टराई समक्ष पर्यटन प्रवद्र्धन तर्फ र हवाइ सेवा तर्फ गरी १७ बुँदे सुझाव पेश गरेका हुन् । पर्यटन प्रवद्र्धन तर्फ:   १. आन्तरिक पर्यटन तर्फ कोरोनाको प्रभाव कम हुने वित्तिकै अघि बढाउनु आवश्यक छ र यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरु मार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने वातावरण बनाउनु पर्छ । २. हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर-अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्राउने तर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने छ । ३. नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरुले चीनको बिभिन्न शहरबाट प्रतिस्पद्र्धी प्याकेजमा पर्यटकहरु भित्राउने तर्फ पहल गरिनु पर्ने । ४. पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि कष्ट टु कष्ट वेसिसमा होटल लगायत अन्य पर्यटकीय सुबिधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनु पर्छ । ५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने । हवाईजहाज, बस, कार सहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, र्याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्ती सफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिन्छ । ६. सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनु पर्छ । ऋण, ऋणको ग्यारेण्टी, कर्पाेरेट बाेण्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनु पर्छ । कर छुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नु पर्छ। ७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउनु पर्छ । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्न सक्ने छ । ८. कोरोना भाइरसको प्रकोपको कारण पूर्वीय संस्कृतिबारे खास गरेर योग लगायतका सम्वन्धमा पश्चिमी मुलुकमा धेरै नै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुँदा यसको प्रवद्र्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने छ। ९. मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउनु पर्ने छ । हवाइ सेवा तर्फः १. आईसीएओ तथा अन्य मुलुकका हवाइ सेवा प्रदायकसंग सम्पर्क गरी वायुसेवा उडान कहिले देखि सुरक्षित रुपमा संचालन गर्न सकिने सो वारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाइ समेत संचालन गर्न पाइला चाल्नु पर्छ। २. पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनुपर्छ । राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तिव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौंदर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ । निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहनमूलक प्याकेज ल्याउन सकिन्छ। ३. हवाइ उड्डयन तर्फ ऋण दिन बित्तीय संस्था हिच्किचाउने हुंदा ऋण, ऋणको ग्यारेण्टी, कर्पाेरेट बाेण्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनु पर्नेछ । कर छुट छुट लगायत बित्तीय सहयोग प्रदान गर्नु पर्ने छ । साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनु पर्ने छ । ४. अहिलेको बिषम परिस्थितिमा हवाइ यात्रुहरुको डिपार्चर अगाडी अनिवार्य रुपमा कोरोना परिक्षण गरिएको हुनु पर्ने । ५. हाल सिमित पाटपूर्जामा मात्र दिईंदै आईएको मूल्य अभिवृद्दी कर छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने । ६. देशमा पुनर्विमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई बीमामा लगाउँदै आईएको मू.अ.क. र अग्रिम कर छुट हुनुपर्ने । साथै हालको परिस्थितिमा कम्तिमा ग्राउन्डेड जहाजको बीमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्बीमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने । ७. नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने । ८. नेपाल नागरिक उड्डयन प्राधिकरणले लिन ल्यान्डिङ, पार्किङ, नेभिगेसन, काउन्टर रेन्ट लगायत रिनिवल जेडएनएस ग्राउन्डेड जहाजको ग्राउन्डेड अवधिभर शुन्य र अन्यको आन्तरीक हवाई सेवा स्थगित रहेको अवधिभरलाई मिनाहा गर्नुपर्ने । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट विश्व पर्यटन गम्भीर रुपले प्रभाबित भएको छ । बिदेशी मुद्राको प्रमूख श्रोत रहेको नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसबाट उत्पन्न चुनौतीसँग जुध्न झनै कठिन रहेको अवस्था छ । यसबाट उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा अत्यन्तै प्रतिकुल प्रभाव पारेको छ साथै आम जनसमुदाय मनोवैज्ञानिक त्रासबाट गुज्रीरहनु परेको अवस्था छ । नेपालमा प्राकृतिक रुपमा प्रदत्त पर्यटकीय गन्तव्य स्थलहरु प्रसस्त भएकाले अहिलेको परिस्थितिमा चुनौति भएता पनि दीर्घकालीन दृष्टिकोणले निराशाजनक छैन । तर हामीले उपयुक्त कार्यक्रमहरु उद्देश्य मूलक ढंगले निष्पक्षता र दीर्घकालीन सोच सहित प्रतिवद्ध भएमा यस बिषम परिस्थितिबाट पर्यटन व्यवसायलाई राहत मिल्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।