नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिन जर्मनका २ जहाज आउने

काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिनका लागि जर्मनीबाट २ जहाज आउने भएका छन् । जर्मन दुतावासले बिहिबार एक सूचना जारी गर्दै नेपालमा रहेका जर्मनीहरुलाई लिन दुई जहाज नेपाल आउने जनाएको हो ।दुतावासका अनुसार नेपालमा रहेका आफ्ना नागरिकलाई लिन भोली अर्थात शुक्रबार र पर्सि (शनिबार) गरी दुई जहाज नेपाल आउने भएका हुन् । जर्मनले नेपालमा रहेका जर्मनीहरुलाई स्वदेश फिर्ता हुन चाहनेले दुतावासको वेबसाइटमा रहेको फारम भर्न अनुरोध गरेको छ । जर्मनले आफ्ना नागरिक फिर्ता लिनका लागि कतारवेजका दुई जहाज बुक गरिएकाे छ ।

सुनसान बन्याे त्रिभुवन विमानस्थल, आन्तरिक र बाह्य उडान ठप्प

काठमाडाैं । देश पूर्ण रूपमा लक डाउन भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि सुनसान बनेकाे छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा ठप्प छ । आज कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ । यसअघि अन्तर्राष्ट्रिय हवाई उडानमा सरकारले रोक लगाएपनि यात्रु लिन भन्दै केही विमान कम्पनीले उडान गरेका थिए । आज भने कुनै पनि विमान नआएको र सम्पर्कमा समेत नरहेको विमानस्थल कार्यालयले बताएकाे छ । यस्तै, आन्तरिकतर्फको उडान पनि पुर्ण रूपमा बन्द छ । आन्तरिक विमान सेवा प्रदायकहरूले चैत १८ गतेसम्म बन्द रहेको सूचना सार्वजनिक गरेका छन् ।

बुद्ध एयरका ६ जहाज ग्राउन्डेड

काठमाडाैं । बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको छ। नेपालमा आन्तरिक उडान गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको हाे। कर्मचारी र यात्रुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै उडान संख्या घटाउने निर्णय गरेको हो। कोरोनाको जोखिमका कारण एकातिर यात्रुहरु पाइनै छाडेको अर्कोतिर स्वास्थ्य जोखिम पनि बढेका कारण भोलिदेखि ६ जहाज ग्राउन्डेड गर्न लागिएको बुद्ध एयरले जानकारी दिएकाे छ । बुद्धले उडान भने जारी राख्ने बताएको छ। यसका लागि कर्मचारीहरुलाई आलोपालो मिलाएर बिदा बस्न निर्देशन दिइसकेको छ । हाल बुद्धसँग १३ जहाज छन् ।