अझै सुनसान छ घोडेपानी–पुनहिल, १०० बढीले गुमाए राेजगारी

घोडेपानी । फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् । ‘कोरोना र बन्दाबन्दीले बन्द भएको होटल गत माघदेखि खुले पनि अझै तङ्रिन सकेको छैन’, उनले भने, ‘खाली होटल रुँघेर बसेका छौँ । आन्तरिक पर्यटक फाट्टफुट्ट आएका छन् । त्यकिो भरमा चल्न गाहे छ ।’ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गत वर्षको चैत महिनादेखि गरिएको बन्दाबन्दी खुलेपछि धेरै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन् । पर्यटन व्यवसाय भने अझै तङ्रिन नसकेको घोडेपानीको स्नोल्याड होटलका सञ्चालक सुशील पुनले बताए । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने पर्यटकीयस्थल र त्यहाँका होटलमा यसपालि फागुन सकिनै लाग्दा फाट्टफुट्ट आएका स्वदेशी पाहुना मात्र भेटिन्छन् । ‘विदेशी पर्यटकको आगमन शून्य छ’, पुनले भने, ‘स्वदेशी पर्यटकको आगमन अपेक्षाकृत हुन सकेको छैन ।’ घोडेपानीमा बास बसेर पुनहिल घुम्न जाने पर्यटकको एका बिहानै लाम लाग्दथ्यो । समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुविधा सम्पन्न होटल छन् । इलाका प्रहरी कार्यालय घोडेपानीका अनुसार यहाँ वार्षिक ५० हजार जना भन्दाबढी विदेशी पर्यटक आउँथे । बन्दाबन्दीका कारण होटल बन्द भएपछि त्यहाँ काम गर्ने १०० जनाभन्दा बढीको रोजगारी गुमेको छ । दुई अर्बभन्दा बढीको लगानी भएको घोडेपानीको होटल व्यवसाय सङ्कटमा परेको छ । भूकम्प, हुद्हुद आँधी र नाकाबन्दी हुँदा पनि अहिलेको जस्तो सुनसान थिएन घोडेपानी । विगतमा भिडभाड भएर होटलमा कोठासमेत पाउन मुस्किल पर्ने घोडेपानी यसपाली सुनसान र शान्त रहेको पोखराबाट घुम्न आएका मनोज क्षेत्रीले बताए । ‘लामो समय घर र बजारमा थुनिएर बस्नुपर्दा दिक्क भएकाले घुम्न आएको हो’, उनले भने, ‘शान्त वातावरणमा प्रकृतिको सौन्दर्यमा रमाउन पाउँदा फूर्तिलो भएको महशुस भयो ।’ यतिबेला घोडेपानी–पुनहिल क्षेत्रको वातावरण बढो मनमोहक छ । जङ्गलमा गुराँस फुल्न थालेको छ । गण्डकी प्रदेशकै ठूलो गुराँसको जङ्गल घोडेपानीमा छ । यहाँको जङ्गलमा रातो, सेतालगायत नेपालमा पाइने ३२ मध्ये १६ प्रजातिका गुराँस पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार ३१० मिटर उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय, हिमाल र गुराँसे जङ्गलको अवलोकन गर्न सकिन्छ । पोखराबाट घोडेपानी घुम्न आएका रमेश श्रेष्ठले पर्यटन र होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्ने बताए । ‘नेपालको पर्यटन व्यवसायको भरथेग गर्ने भनेको अब आन्तरिक पर्यटकले नै हो’, उनले भने, ‘विदेशीलेभन्दा नेपालीले खर्च पनि बढी खर्च गर्छन् तर व्यवसायीले त्यहीअनुसारको व्यवहार गर्न र सुविधा दिन सक्नुप¥यो ।’ पर्यटन र होटल व्यवसायलाई पुनःजीवन दिन घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो । पोखरे बगर हँुदै घोडेपानी जोड्ने सडक निर्माण भएकाले गाडीबाटै घुम्न आउन सकिने उहाँले बताउनुभयो । पर्यटक आगमन ठप्प हुँदा अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ । पर्यटकीयस्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको रु एक करोडभन्दा आम्दानी गुमेको हो । गत आव २०७६/७७ मा घोडेपानी–पुनहिल प्रवेश शुल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि रु ६५ लाखमा ठेक्का लगाएको थियो । यसैगरी तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन र त्यहाँ रेष्टुरेन्ट चलाउन ५५ लाखमा ठेक्का लगाएको थियो । घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशीलाई  १०० प्रतिव्यक्ति शुल्क तोकिएको छ । यस वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीयस्थलको प्रवेश शुल्क उठाउने ठेक्का लगाउन नसकिँदा आयस्रोतमा असर परेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट १५/१५ लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्षको आठ महीनासम्म पर्यटक गतिविधि चलायमान हुन नसकेपछि गत हप्ता भएको गाउँसभाले तातोपानीबाट रु एक लाख र घोडेपानीबाट ५० हजार आम्दानी हुने गरी बजेट संशोधन गरेको छ । एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्वार तातोपानी कुण्डबाट १५/१५ हजार र ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट पाँच हजार आम्दानी हुने गरी करको दर घटाएको छ । अमानतमा तोकिएको रकम बुझाएर शुल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ । पर्यटकको प्रवेश शुल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो । यस वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने विकास गतिविधिसमेत प्रभावित भएको अध्यक्ष पुनले बताए । रासस

२२ वटा बसमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सुबिधा, भाडा तिर्न पैसा बोक्नै नपर्ने

काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा शुरु गरेको हो । फागुन २८ गते भएको उक्त कार्यक्रममा बैंक अफ काठमाण्डूको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । यस सेवाको शुभारम्भसंगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म यात्रा गर्ने ग्राहकले बसमा राखिएको बैंक अफ काठमाण्डूले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बस सेवा प्रयोग गर्ने सबै ग्राहकले क्युआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । यससंगै बैंक अफ काठमाण्डूले आफ्ना शाखा कार्यालयलाई परिचालन गरी देशका विभिन्न व्यापारिक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहकलाई उत्प्रेरित गरिरहेको छ ।

एनएमबि बैंकका ग्राहकलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा सहुलियत

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी भएको छ । उक्त समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा एनएमबिका रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका हुन् । अत्याधुनिक बैंकिङ्ग सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको छ ।