विमानस्थलको महाप्रबन्धकमा तिवारी, प्रशिक्षण प्रतिष्ठानमा कर्ण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रताप तिवारी र नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको जिम्मा देवचन्द्रलाल कर्णलाई दिईएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखको जिम्मेवारी तिवारीलाई दिएको हो । तिवारी हाल सिभिल एभिएसन एकाडेमीका प्रमुख हुन् । एकेडेमीमा जानुअघि त्रिभुवन विमानस्थल कार्यालयको महाप्रबन्धक थिए । विमानस्थ कार्यालयका महाप्रबन्धक प्रेम ठाकुर निलम्बनमा परेसँगै तिवारीलाई महाप्रबन्धक बनाइएको हो । यस्तै, एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालयका प्रमुख देव चन्द्रलाल कर्णलाई प्रशिक्षण प्रतिष्ठानको जिम्मा दिईएको छ । भैरहवा विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी पनि हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । उपमहानिर्देशक पाण्डे हवाइ सेवा निर्देशनालयको जिम्मेवारीमा रहेका थिए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एकैपटक धेरै कर्मचारीको सरुवा गरेका छन् ।

आकाशमै तारा एयरको ढोका खुलेपछि…

फाइल फाेटाे काठमाडौं । उडानका क्रममा तारा एयरको जहाजको ढोका खुलेको पाइएको छ । बिहीबार दिउँसो १२.५१ बजे नेपालगञ्ज विमानस्थलबाट बाजुराको कोल्टी विमानस्थलमा उडान भरेको जहाजको ढोका उडानको क्रममा खुलेको हो । बिहीबार उडानको क्रममा जहाजको ढोका खुलेको जानकारी आएपछि तत्काल प्राविधिक पठाएर अध्ययन सुरु गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । जहाज ल्याण्ड गर्ने क्रममा जहाजको ढोका खुलेपनि सबै यात्रुहरु सकुशल रहेका छन् । ‘हामीलाई हिजो दिउँसो नै जानकारी आएको थियो, जानकारी आउनासाथ प्राधिकरणका प्राविधिक घटनास्थल पुगेर अध्ययन सुरु गरिसक्नुभएको छ’, क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘जहाज ग्राउण्डेड गरेर अध्ययन सुरु भएको छ, प्रतिवेदन सार्वजनिक नहुँदासम्म जहाजसँगै चालक दलका सदस्यहरु ग्राउण्डेड छन् ।’ तारा एयरले भने उडानको क्रममा जहाजको ढोका खुलेको नभएर पार्किङमा जाने क्रममा ढोका खुलेको बताएकाे छ । यती एयरका प्रवक्ता सुदर्शन बर्ताेलाले उडानको क्रममा नभएर ल्याण्ड गरेर पार्किङ वे तर्फ जाने क्रममा ढोका खुलेको बताए । ‘अहिले जति पनि कुराहरु आएका छन्, सबै बढाई चढाई आएका हुुन्न, समयमा टिकट नपाएको, टिकट महंगो भयो भन्नेहरुले तारा र यती एयरलाई बन्दनाम बनाउन खोजे’, उनले भने । ताराले सञ्चालन गरेको जहाजका ढोकामा हाईड्रोलिक सिष्टम जडान गरिएको भन्दै अन्य टिवनअटरभन्दा फरक रहेको तारा एयरले दाबी गरेको छ ।

पाहुना पर्खदै बेनीका होटल

बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा म्याग्दीका व्यवसायी प्रमोद श्रेष्ठले जिल्ला भ्रमणमा आउने आफ्ना साथीहरुलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सधैँ गुनासो सुन्नुपर्दथ्योे । विश्वका प्रमुख गन्तव्यमध्येको एक मुस्ताङ जानका लागि आउने हुन् या बेनीकै लागि आउने बस्न केही अघिसम्म होटलको राम्रो प्रबन्ध थिएन । बेनी बजारबाट करिब आठ किलोमिटरको पर छ सिंगा तातोपानी । यहाँ औषद्योपचारका लागि तातोपानी कुण्डमा डुब्न विभिन्न जिल्लाबाट आउने व्यवसायीले बस्ने ठाउँ नहुँदा आफूलाई गुनासो गर्ने गरेको उनी सुनाउँछन् । ‘उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्ने गर्दथे तर त्यसका लागि नजिकै गतिलो होटल थिएन । साथीहरुको अनुरोधलाई नकार्न पनि नसक्ने अनि व्यवस्थापन गर्न पनि गाह्रो हुने अवस्था भएपछि निकै अप्ठ्यारो महसुस हुन्थ्यो । पछि आफैँले तातोपानी नजिकै होटल खोलेँ’, श्रेष्ठले भने । अहिले तातोपानी कुण्ड नजिकै होटल श्रेष्ठ हटस्पिरिङ सञ्चालनमा आएको छ । १५ करोड लागतमा खुलेको यस होटलमा ३६ वटा स्टाण्डर, डिलक्स, सेमिसुइट र सुइट श्रेणीका कोठा उपलब्ध छन् । तातोपानी कुण्डमा उपचारका लागि अनुसन्धानका लागि पनि स्वदेश र विदेशबाट मानिस आउने गरेका र उनीहरुको सेवाका लागि आफूहरु रहेको सो होटलका प्रबन्ध निर्देशक प्रतिश श्रेष्ठ बताउँछन् । ‘म्याग्दी र यस कुण्डमा आउने र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो’, उनले भने, ‘अहिले पर्यटक आगमनको याम नभएर त्यति धेरै पर्यटक छैनन् तर वैशाखका लागि राम्रो बुकिङ भएको छ । कोरोनाका कारण तीन चार वर्षदेखि हिँडडुल गर्न नपाएका स्वदेशी र विदेशी पाहुनाको आगमन अब वैशाखदेखि बढ्ने अपेक्षा गरेका छौँ ।’ संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले पनि २० करोड लगानीमा अर्को होटल ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा ल्याएका छन्। दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने स्वदेशी तथा भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी बेनी नगरपालिका–९ मा पर्ने गलेश्वरमा करिब पाँच करोड लगानीमा होटल मदरल्याण्ड इन सञ्चालन भएको छ । होटलका सञ्चालक होटल व्यवसायी टङ्कलाल श्रेष्ठले भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी ठूलो र सुविधायुक्त होटल सञ्चालन गरेको बताए । बेनीको लामा होटलका सञ्चालक राजन लामाले क्षमता विस्तारका लागि नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको बताए । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर पाँच सयभन्दा बढी होटल तथा रेष्टुराँमा दुई अर्ब बढीको लगानी छ । हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामीण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहासिक, प्राकृतिकस्थल र पहाडी भूगोलको दृष्य अवलोकनका लागि म्याग्दीमा पर्यटक आउने गर्दछन् । म्याग्दी नदीको असला माछा, स्थानीय जातको सिमीको दाल, च्याउ र टुसा, आलुको परिकार, टिम्मुरको चटनी बेनीका होटल र रेष्टुराँमा स्वाद लिन सकिन्छ । धौलागिरि, अन्नपूर्ण, गुर्जालगायत हिमशृङ्खला आरोहण, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण धौलागिरि पर्यावरणीय, धौलागिरि र अन्नपूर्ण चक्रीय पदयात्रामा आउने पर्यटक, मुक्तिनाथ र दामोदरकुण्ड जाने तीर्थयात्रीको लागि पनि बेनी प्रवेशद्वार हो । विसं २०६४ मा बेनी–जोमसोम सडकको मार्ग खुलेसँगै मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटक तथा तीर्थयात्रीले बेनीमा बास नपाउने अवस्था थियो । केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो । होटलले क्षमता बढाएपछि र नयाँ होटल खुलेपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या हटेको म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताए । ‘हामीकहाँ दुई ५० होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध हुनुहुन्छ’, उनले भने, ‘तातोपानी, बेनी र गलेश्वरका सुविधायुक्त होटलमा दैनिक एक हजार जना पाहुना राख्न सकिन्छ ।’ वैदेशिक रोजगारीबाट फर्केपछि १५ वर्षदेखि बेनीमा होटल सञ्चालन गरिरहेका आचार्यले गलेश्वरमा स्थानान्तरणका लागि भवन निर्माण गरिरहेका छन् । प्रशासनिक, बैंकिङ र व्यापारिक कामले गाउँबाट सदरमुकाम पुग्ने देश सङ्घीयतामा प्रवेश गरेपछि र ठाउँ ठाउँमा सडक विस्तार भएपछि घटेका छन् । अहिले बेनीका होटल धानिने मुख्य आधार पछिल्लो समय देशका विभिन्न स्थानबाट म्याग्दी र मुस्ताङ घुम्न आउने पाहुना बन्न थालेका छन् । सङ्घसंस्था, सहकारी, धार्मिक समूह, विद्यालय, कलेजबाट समूह बनाएर घुम्न आउनेको सङ्ख्या बढ्दो छ । यसअघिका तीन वर्ष कोरोना भाइरसको महामारी र बन्दाबन्दीले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन थालेको होटल व्यवसायी सङ्घ म्याग्दीका सचिव सरोज थापाले बताए । उनका अनुसार कोरोनाका कारण पर्यटक आगमन नभएको यसअघिका वर्षलाई म्याग्दीका व्यवसायीले होटलको क्षमता विस्तार र व्यवस्थापनमा उपभोग गरेका छन् । पुराना होटलले सुविधा र क्षमता विस्तारका साथै केही नयाँ सुविधासम्पन्न होटल यही अवधिमा खुलेका छन् । पछिल्लो तीन वर्षमा म्याग्दीको होटलमा एक अरबको हाराहारीमा लगानी थपिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बेनी विश्वका प्रमुख गन्तव्यस्थलमध्यको एक मुस्ताङ जाने प्रवेशद्वार पनि हो । बेनी विसं १६३१ देखि १८४३ सम्म तत्कालीन बाइसे चौबिसे राज्यअन्तर्गत तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी थियो । दुई सय वर्षसम्म हिउँदको चार महिना बेनी र आठ महिना ढोलथान दरबारबाट राज्य सञ्चालन हुने गरेको इतिहास भेटिन्छ । रासस ।