चन्द्रागिरिमा लिच्छविकालीन गौरव ब्युँताउने प्रयास
काठमाडौं । काठमाडौंको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे)मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध (बस्ती) थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५ मा पर्ने ‘किचः प्रिचिङ’ले लिच्छविकालीन गौरवलाई पुनःप्राप्ती गर्ने उद्देश्यका साथ वडाध्यक्ष राजेन्द्र महर्जन सक्रिय रुपमा लागेका छन् । पुराना वस्तु खोज्ने तथा बस्तीभित्र नयाँ बन्ने संरचनालाई पुरातात्विक स्वरुप झल्किने गरी निर्माण गरिने उनले बताए । दुई सय ५० घर रहेको किसिपिँढी प्राचिन समयमा गढपर्खालले घेरिएको सुरक्षित र सम्पन्न बस्ती थियो । बस्तीतर्फ आउने बाटामा तेर्सिएका ढुङ्गा त्यसको प्रमाण हुन् । उक्त बाटोमा पाइने ढुङ्गे धारा, पोखरी, मन्दिर र काठका मूर्तिले किसिपिँढी एउटा मौलिक सभ्यता भएको राज्य थियो भन्ने कुराको प्रमाण दिन्छन् । किसिपिँढीबारे अध्ययन गरेका रवीन्द्र रिजालका अनुसार किसिपिँढीभित्र पाँच लिच्छविकालीन शिलालेख छन् । ती शिलालेखले तत्कालीन शासकले यहाँका जनतालाई जमिनको साधसीमा, जोतभोग र कर माफीमिनाहा गरेको तथा कुवा र देवल निर्माणबारे जानकारी पाइन्छ । ‘खासमा किचः प्रिचिङ किरातकालीन बस्ती हो । यो लिच्छविकालमा थप व्यवस्थित बनेको थियो’, उनले भने । मल्लकालमा जात्रा र पर्वको विकास भएको हो । राणाकालअघि घोडेजात्रालाई नयाँ वर्षको रूपमा मनाउने गरिन्थ्यो । किसिपिँढीमा घोडेजात्राको दिन कालिका भैरवको रथयात्रा हुने रिजाल बताउछन् । गढपर्खालले घेरिएको किसिपिँढी ब्यूउँताउने कामको सुरुआत गरिएको वडाध्यक्ष महर्जनले बताए । ऐतिहासिक पक्ष गर्विलो भए पनि आधुनिकताको प्रभावले यस गाउँलाई ओझेलमा पारेको छ । विसं २०७२ को भूकम्पपछि पुरानै शैलीमा रहेका घर भत्किएपछि यहाँको प्राचीन संरचना नासिएको छ । नयाँ बन्ने संरचना पुरानै शैलीमा निर्माण गर्न खर्च बढी लाग्ने भएकाले स्थानीयवासी आधुनिक घर बनाउन सहज मान्छन् । ‘पुराना घरको एउटा झ्याल बनाउने खर्चले अहिलेको साढे दुईतले घरका झ्याल किन्न पुग्छ’, उनले भने । कङ्क्रिटको सहारामा आधुनिक शैलीमा बनाइएका घरका अगाडिका भाग दाची इँटा लगाएर केही हदसम्म भए पनि परम्परागत शैलीका बनाउने प्रयास भएको महर्जनको भनाइ छ । पुराना शैलीमा घर बनाउनेलाई केही अनुदान दिने विषयमा छलफल भइरहेको उनले बताए । कालिका भैरव मन्दिर दाची इँटा र कलात्मक झ्यालसहित पुरानो शैलीमा निर्माण भएको छ । वडाध्यक्ष महर्जनका अनुसार एउटा निजी घर पनि पुरानो शैलीमा बनेको छ । ‘यहाँका सबै घरका अघिल्लो भाग पुरातात्विक शैलीको बनाउने विषयमा गृहकार्य गरिरहेका छौँ, रकम अभावका कारण रोकिएको छ’, उनले भने । रासस
स्थानीय परिकार र दृश्यावलोकनका लागि ‘बनौँ लेक’
गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका रुपमा चिन्न थालेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौँ आन्तरिक पर्यटक बनौँ लेक पुगिसकेका छन् । अहिले बनौँँमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको पाइन्छ । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि पर्यटकलाई लक्षित घरी घरबास तथा विभिन्न होटलसमेत सञ्चालनमा आएका छन् । चिसो हावापानीसहित चिटिक्क परेको गाउँमा अहिले दृश्यावलोकन, जैविक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा रहेको बनौँमा एक वर्षअघि मात्रै कालोपत्र सडक पुगेपछि बागलुङ, पर्वत, म्याग्दी र काठमाडौँलगायतका क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउन थालेका हुन् । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि भारतीय सेनाबाट अवकाश प्राप्त डम्मरबहादुर फगामीले ‘काकई सामइ घारबास’ समेत सञ्चालनमा ल्याएका छन् । बनौँमा सडकको सहजतासँगै बढ्दै गएका आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले नौ महिनादेखि घरबास सञ्चालनमा ल्याएको बताए । ‘पर्यटकलाई आउन सडक नै चाहिँदो रहेछ, जब एक वर्षअघि सडक कालोपत्र भयो, त्यसपछि यहाँ आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो, सामाजिक सञ्जालको प्रभावका कारणसमेत यहाँ आउनेको सङ्ख्या बढी छ, राजमार्गसँग जोडिएका बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामबाटै एक/डेढ घण्टाको यात्रामा बनौँ आउन सकिन्छ’, फगामीले भने, ‘५० लाख रुपैयाँको लगानीमा घरबास सञ्चालनमा ल्याएको हुँ, अहिले एक रातमा २० जनासम्म पाहुँना राख्ने क्षमता घरबासको छ ।’ चौबिस वर्ष भारतीय सेनामा कार्यरत भई नायब सुबेदारबाट छ वर्षअघि अवकाश प्राप्त गरी गाउँ आएका फगामीले आफूलाई सहरको मोह नभएका कारण गाउँमै घरबास सञ्चालनमा ल्याएको बताए । फगामीका अनुसार शुक्रबार र शनिबार आफ्नो घरबासमा पर्यटकको चाप हुने र अघिपछिको समयमा थोरै मात्र पाहुना आउने गर्दछन् । फगामीको काकई सामइ घरबास जैविक परिकारका पारखीका लागि निकै राम्रो गन्तव्य बनेको छ । उनको घरबासमा लोकल कुखुरा, सिस्नो, कोदोको ढिँडो, गुन्दु्रक, मकै, भट्ट, आलु, जौको ढिडो र खसीको मासुलगायतका परिकारको स्वाद लिन पाइन्छ । यहाँ आउने पर्यटक सहर बजारको कोलाहल छल्न, हल्जुरेडाँडाबाट दृश्यावलोकन गर्न र देवीथान मन्दिर दर्शनका लागि आउने गरेको पाइन्छ । जलजला गाउँपालिका–९ स्थित बनौँ लेकमा सबैभन्दा बढी पर्यटक बागलुङबाट आउने गरेको उनको भनाइ छ । बनौँ गाउँमा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पछिल्लो समय घरबासका साथै अन्य होटलसमेत सञ्चालनमा आउन थालेका छन् । चिसो हावापानीमा जैविक स्वाद लिँदै घरबासमा रमाउन बागलुङ बजारबाट बनौँ आएका आन्तरिक पर्यटक नारायण रिजालले बताए । ‘सामाजिक सञ्जालमा अहिले बनौँ जाने लहडै चलेको देखे, बनौँका विषयमा धेरै चर्चा सुनेकाले छ जना साथीसहित बनौँ आएका हौँ’, उनले भने, ‘बेलुका घरबासमा जैविक परिकारको स्वाद लियौँ भने बिहानै देविथान रहेको डाँडामा पुगेर दृश्यावलोकनसँगै तीन जिल्लाको सदरमुकाम देख्यौ, निकै आनन्द आयो, अहिले गर्मी पलाईसकेको अवस्थामा यहाँ निकै चिसो हावापानी रहेछ ।’ बनौँँ लेक पुगका पर्यटकले देवीथानको डाँडामा बनाइएको वनभोजस्थलमा टेन्ट हालेरसमेत बस्ने गरेका स्थानीय अमबहादुर गर्बुजाले बताए । बनौँ लेकबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले दार्जलिङको झल्को दिने गरेको त्यहाँ पुग्ने पर्यटकले बताएका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घन्टामै पुग्न सक्ने स्थानमा रहेको बनौँ पुग्ने सडक कालोपत्र भएपछि चर्चामा आएको पर्यटकीय गन्तव्य हो । कला, संस्कृतिको धनी रहेको बनौँ गाउँमा मगर समुदायको बाहुल्यता छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो । उच्च पहाडी भेगमा पर्ने बनौँ लेकमा उत्पादित आलु र निकै स्वादिष्ट हुने गरेको छ । बनौँ लेकबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलासमेत देख्न सकिन्छ । रासस
२ करोड लगानीमा बिनु-बसन्तीको ‘सरुमा चुल्हो’ : स्वादका पारखीको गन्तव्य बन्दै
पोखरा । देशकै एउटा लोकप्रिय पर्यटन शहर हो पोखरा । घुमफिरमा रुची राख्नेहरुले कुनै न कुनै दिन यस ठाउँलाई आफ्नो गन्तव्य बनाउने सपना बुनेका हुन्छन् । पोखराको भूगोल र तालहरुसँग रमाउन आएका स्वादका पारखी पाहुनाहरुलाई सन्तुष्टी दिने उद्देश्यले बिनु र बसन्तीले सुरु गरेका छन् ‘सरुमा चुल्हो एण्ड बार’ । पोखराको मुख्य भाग अर्थात् लखन चोक । जुनसुकै ठाउँबाट बस चढेर आएकाहरु ओर्लने ठाउँ हो यो । न्यूरोड चिप्लेढुंगा जाने बाटोमा पर्ने सभागृह चोक लखनचोकबाट पैदल हिँड्दा मात्रै ५ मिनेटको दुरीमा छ । सभागृहचोकबाट उत्तरतर्फको सुन्दर हिमाल दृश्यसँगै न्यूरोडको यात्रा सुरु हुन्छ । चोकबाट झण्डै २ मिनेट उत्तरतर्फ लाग्दा पहिले ‘दिपेन्द्र सभागृह’को नाममा परिचित सभागृह आइपुग्छ । सभागृहबाट ठिक विपरित उभिएको ‘मिडटाउन’ पछिल्लो केही वर्षदेखि पोखरामा आधुनिक व्यापारिक केन्द्र बनेको छ । सोही मिडटाउनसँग जोडिएर सुरु हुने गल्लीको मिडटाउनकै ठिक विपरित बायाँतर्फ छ ‘सरुमा चुल्हो एण्ड बार’ । जसलाई न्युरोडको सडकको पारीपट्टीबाट नै देख्न सकिन्छ । पृष्ठभूमीका हिसाबले बिनु–बसन्ती फरक–फरक क्षेत्रमा काम गर्दै अगाडि बढेका व्यक्ति हुन् । बिनुले कलेजको पढाइसँगै आफ्नो करिअर जागिरबाट शुरु गरेकी थिइन् । तर, उनी जागिरमा आफ्नो भविष्य देख्न सकिनन् । केही वर्षको सरकारी अस्थायी जागिर छाडेर बिनु रोजगारका लागि जापान गइन् । झण्डै एक दशक लामो जापान बसाइपछि नेपालमा नै व्यवसायिक जीवन सुरु गर्ने उद्देश्यले उनी गत साल मात्रै नेपाल फर्किएकी हुन् । त्यस्तै, कलेजको पढाईसँगै बसन्तीले पत्रकारिताबाट आफ्नो करिअर सुरु गरिन् । अन्य विभिन्न सहायक कामहरुसँगै अहिलेपनि पत्रकारितालाई उनले आफ्नो मुख्य पेसा बनाइरहेकी छन् । बिनु र बसन्ती स्वभाव र शैलीका हिसाबले आधुनिक पुस्ताका महिला हुन् । दुबैजनाले आफ्नै नेतृत्वमा उद्यम सञ्चालन गर्ने इच्छा र प्रयास पहिल्यैदेखि नै राख्दै आएका थिए । बसन्तीले केही वर्ष अगाडि पनि पोखरामा होटल सञ्चालन गर्ने सोच बनाएकी थिइन् । तर, सबै परिवेश अनुकुल नभएकाले सुरु भने गर्न नसकेको उनको भनाइ छ । झण्डै एक वर्ष अगाडि बिनु–बसन्तीले लगानी जुटाउन सके पोखरामा फरक पहिचानको रेष्टुरेन्ट सञ्चालन गर्न सकिने सल्लाह गरे । खासगरी खाना तथा खाजा खाँदा पनि ग्राहकलाई कसरी आनन्द दिन सकिन्छ भन्नेमा आ–आफ्ना अनुभवहरुलाई लिएर अहिलेको ‘सुरुमा’को डिजाइन तयार भएको बिनु बताउँछिन् । रेष्टुरेन्ट कुन मोडेलमा सञ्चालन गर्ने भन्ने विषयमा प्रायः सञ्चालकहरुले धेरै सोचेर गर्ने गर्छन् । पोखरामा रेष्टुरेन्टहरुको कुनै अभाव छैन । तर, त्यहाँ नयाँ फरकपनको विशेषता कसरी बनाउने भन्नेमा उनीहरुले धेरै सोचविचार र सल्लाह गरे । ‘सरुमा’ एउटा पुरै घरमा सञ्चालन गरिएको छ । रेष्टुरेन्टको गेटबाट प्रवेश गर्नेवित्तिकै सजिसजाउ बगैंचा जस्तो परिवेशले ग्राहकलाई स्वागत गर्छ । रेष्टुरेन्टको भवनभित्र प्रवेश गर्नुअगाडि नै कफी बार निर्माण गरिएको छ । बाहिरी वातावरणमा नै बसेर कफी पिउन तथा खाजा खान चाहनेहरु बाहिर नै बसेर लिन सकिन्छ । ‘सरुमा’ले रेष्टुरेन्टलाई बालमैत्री होस् भन्ने हिसाबले भुईंतलाको बगैंचा र टपमा झुलन कुर्चीहरुको व्यवस्था पनि गरेको छ । साढे दुई तले घरमा सञ्चालनमा रहेको ‘सरुमा’का भिन्न–भिन्न तलामा भिन्न भिन्न विशेषता छन् । रेष्टुरेन्टमा पारिवारिकदेखि मझौला स्तरका बर्थडे पार्टी, खाना खाजा सहितको छलफल, बिहानदेखि बेलुका सम्मका स्वादिष्ट खाना/खाजा पाइन्छ । ग्राहकहरुसँग ट्याबको प्रयोग गरेर अर्डर लिने तरिकाको अवलम्बन गरिएको छ । खाना तथा खाजामा नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल र सी फुडमा अन्तर्गत पर्ने परिकारहरु पाइन्छ । सबै प्रकारका ग्राहकहरुलाई लक्षित गरेर परिकारहरुको व्यवस्था गरिएको सञ्चालक बिनु बताउँछिन् । रेष्टुरेन्टको अहिलेसम्म ‘ग्रयान्ड ओपनिङ’ भैसकेको छैन तर व्यापार भने निकै राम्रो भइसकेको छ । अहिलेसम्म रेष्टुरेन्टको निर्माणमा दुई सञ्चालकले २ करोड ५० लाख भन्दा धेरै लगानी गरिसकेका छन् । मंसिरको अन्तिम साताबाट सञ्चालनमा आएको रेष्टुरेन्टमा अहिले दैनिक औसत ५० हजारभन्दा धेरैको व्पापार हुने गरेको सञ्चालिका बिनु बताउँछिन् । अहिलेसम्म भइरहेको व्यापारबाट मात्रै पनि सम्पूर्ण खर्च कटाएर एकजना सञ्चाकले मासिक रुपमा १ लाख भन्दा धेरै आम्दानी गर्न सक्ने तर व्यवसायको अवस्था वृद्धितर्फ भएकाले भविष्यमा राम्रो आम्दानी हुने अनुमान सञ्चालकहरुले गरेका छन् । ‘रेष्टुरेन्टमा अनिवार्य हुनुपर्ने पक्ष भनेको स्वाद, गुणस्तर, आतिथ्यता र वातावरण हो, हामीले यसमा अब्बल बनाउने कोशिस गरेका छौं’, बिनु भन्छिन्, ‘सायद यसैले होला ग्राहकहरुको आकर्षण बढ्दो छ ।’ विगतमा आम्दानीको लागि विभिन्न क्षेत्रलाई रोजे तापनि होटल, रेष्टुरेन्ट तथा आतिथ्यताको क्षेत्रलाई नै अब मुख्य बनाउने दुबै सञ्चालकको धारणा छ ।