कतारकी राजकुमारी अल्थानी हिमाल चढ्न म्याग्दीमा
काठमाडौं । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आएकी छिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आएकी छन् । ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा ९निम्स० अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन् । ‘हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,’ पुर्जाले भने, ‘बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।’ यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छिन् । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् । नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उनले भने, ‘निर्मल विश्वकै साहसिक युवा हो।’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए। ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमापर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ । समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।रासस
भावना पन्त : तेस्रो महिला चालकदेखि निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने क्यापटेन
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमले हाल सञ्चालन गरेको एयरबस २२० (न्यारेवडी) का क्यापटेन भावना पन्त र कोपाइलट श्रृजना राउतले इतिहासमै पहिलो अन्तर्राष्ट्रिय उडान गरेका हुन् । उनीहरुले आइतबार बिहान काठमाडौं–युएईको उडान गर्दै पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोली बनेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड हाम्रोमा थिएन, आईतबार उहाँहरुले उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बन्नुभएको छ’, उनले भनिन । सन् १९९१ मा रुसमा अध्ययन सकेर नेपाल फर्किएर हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । रुसबाट फर्किदा तत्कालीन नेपाल एयरवेजमा काम गर्ने तयारी गरेतापनि नेपाल एयरवेज बन्द भएपछि तीन वर्षसम्म बेरोजगार बनेकी उनले तत्कालीन नेकोन एयरबाट एभियसन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी देशकै तेस्रो महिला पाइटल समेत हुन । उनले निकोन एयरमा काठमाडौं–पटना उडान गरेका थिइन् भने बुद्ध एयरबाट भारतको बनारसमा समेत उडान गरेकी थिइन् । उनी निगममा करार कर्मचारीका रुपमा कार्यरत छिन् । सौर्य एयरमा उनले पहिलो महिला जेट एयर चालकको रुपमा समेत आफ्नो नाम राख्न सफल भएकी छिन् । उनले ६ वर्ष नेकोन एयर, ९ वर्ष बुद्ध एयर र २ वर्ष सौर्य एयरमा काम गरिसकेकी छन् । उनी तत्कालीन राज परिवारका निजी क्याप्टेन बलराम पन्तकी माहिली छोरी हुन् । क्यापटेन पन्तका तीन छोरी र एक छोरामध्ये छोरा र पन्त एभियसन क्षेत्रमै कार्यरत छन् ।
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ । दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो । ‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ’, निगमका प्रवक्ता खड्काले भनिन् । निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरुप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ । निगमले हाल भारतका तीन गन्तव्य आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन् ।