पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’
ढोरपाटन । तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । विसं २०७६ मा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । एक हजार नौँ सय ८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शिलामा कुँदेर बनाएका आकर्षकमूर्ति हेर्न दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । गलकोट नगरपालिका–५ मा पर्ने टेउवा एतिहासिक गलकोट दरबारको शिरमा पर्छ । शान्त वातावरण, स्वच्छ हावापानी, यहाँ बनेको अनेक आकृतिका मूर्ति र यहाँबाट देखिने अनेकौँ दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । प्रेमिल जोडीसँगै पारिवारिक घुमघामको उपयुक्त स्थानका रुपमा टेउवा बन्दै गएको छ । सहज यातायात र गलकोटदेखि नजिक हुँदा बागलुङ आउने पर्यटक यहाँ पुग्ने गरेका छन् । टेउवामा पुग्ने आगन्तुकलाई घुम्टे लेकले घुम्टो उघारेर स्वागत गरिरहेको छ । टेउवा पुग्ने पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’ मै एकै पटक घुम्न सक्ने हुँदा आगन्तुको सङ्ख्या बढेको स्थानीयवासी बताउँछन् । विशेष गरी चाडपर्व र बिदाको दिन टेउवामा आउनेको भीड लाग्ने गलकोट कला प्रतिस्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । यहाँका स्थानीयवासीले पहिले यो ठाउँ यति धेरै चर्चित होला भन्ने नसोचेको भन्दै अहिले पर्यटकले भरिभराउ हुँदा दङ्ग हुने गरेको बताउँछन् । उनले भने, ‘अहिले टेउवालाई थप व्यवस्थित बनाउँन थालेका छौँ, मूर्ति बनाएका ठाउँमा ढलान गर्ने र बार लगाउने काम भइरहेको छ, यसको व्यवस्थापनपछि थप पर्यटक आउने अपेक्षा गरेका छौँ, यति छोटो समयमा यति धेरै मान्छे घुम्न आउलान् भन्ने थिएन, दिनप्रति दिन आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ, महिना झण्डै दुई हजार पर्यटक यहाँ आउने गरेका छन् ।’ टेउवामा विसं २०७६ फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रियस्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ती मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढुङ्गामा जल, जङ्गल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् । यहाँ बनेका मूर्ति र यस ठाउँले तनावबाट मुक्त बनाउने बुटवलदेखि घुम्न आउनु भएका विशाल रणपालले बताए । ‘यो ठाउँ र यहाँ बनेका मूर्तिकला साँच्चिकै मनमोहक छन्, पहाडै पहाडले घेरिएको यो ठाउँ, न यहाँ प्रदूषण छ, त्यो बजारको कोलाहालबाट यहाँ आउँदा निकै खुसी लाग्यो, बजारबाट यहासम्म आउने बाटो राम्रो बनाउन सके अझै सजिलो हुने थियो, तर पनि पहाडी क्षेत्रमा यत्तिको व्यवस्थापन धेरै राम्रो हो, फेसबुक, टिकटकमा यहाँको फोटो र भिडियो देखेका थियौँ, त्यही भएर साथी मिलेर गाडी लिएरै घुम्न आएका हौँ ।’ मूर्तिकला जोड्ने पदमार्ग निर्माण पैदल यात्रामाफर्त पर्यटकलाई टेवामा पु¥याउनका लागि गलकोट नगरपालिकाले कौलेनी–टेउवा पदमार्ग निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको तीन लाखबाट करिब दुई सयमिटर पदमार्ग निर्माण गरेको वडा नं ५ का अध्यक्ष पवन हमालले जानकारी दिए । टेउवामा पर्यटक आकर्षणका लागि यस वर्षदेखि पदमार्ग निर्माणको थालिनी गरेको उनको भनाइ छ । मूर्तिकला हेर्ने आगन्तुकको आगमनमा वृद्धि हुँदै गएपछि पर्यटन प्रवद्र्धनका लागि पदमार्ग अनिर्वाय रहेको उनले बताए । हटियाबाजरदेखि गाडीमा आएर हरिचौरदेखि पदमार्ग हुँदै टेउवा पुग्न सकिने गरी काम भएको अध्यक्ष हमालको भनाइ छ । हरिचौरदेखि टेउवा जोड्ने सडक पनि स्तरोन्नति भइरहेको उनले बताए ।नाली निर्माण, सडक चौँडा गर्ने काम भइरहेको उनको भनाइ छ । सडकलाई व्यवस्थित गरे बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने अपेक्षा लिएको उनले बताए । टेउवा प्रवेशद्वारका रुपमा रहेको हरिचौर बजारलाई थप व्यवस्थित गराउन थालेको हमाल बताउँछन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखले बजार क्षेत्र ढलान गर्ने काम भएको उनको भनाइ छ । ‘यस वर्षदेखि हरिचौर बजारलाई थप व्यवस्थित गर्न थालेका छौँ, यो बजार टेउवा मात्रै नभएर गाईघाट झरनाको प्रवेशद्वार पनि हो, त्यसले गर्दा यहाँको सौन्दर्यकरण गर्ने, बजार क्षेत्रमा फूलहरु लगाउने र सरसफाइलाई जोड दिएका छौँ,’ अध्यक्ष हमालले भने, ‘पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारलाई पनि ध्यान दिएका छौँ ।’ टेउवाबाट माछापच्छ्रे अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्ला नियाल्न सकिन्छ भने बागलुङ गुल्मीलगायतका ठाउँ पनि यहाँबाट देख्न सकिन्छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ४५ किलोमिटरमा गलकोट पुग्न सकिन्छ भने गलकोटदेखि हरिचौर हुँदै करिब एक घण्टाको यात्रामा टेउवा पुग्न सकिन्छ । खोलानाला, पाखा पखेरा र गाउँले जनजीवन नियाल्दै पैदल यात्राबाट झण्डै दुई घण्टामा यहाँ पुग्न सकिन्छ । रासस
पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरुवात भएको क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । उनले नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामिण तहसम्म वितरण गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे । ‘सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको छ, नेपालको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक र हाम्रो आन्तरिक तथ्यांकमा अन्तर देखिएकाले नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा काम गरिरहेको छ,’ उनले भने । मन्त्री किराँतीले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, बिस्तार एवं विविधिकरण गर्ने पर्यटन प्रवद्र्धन गर्न र पर्यटकहलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तरको सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए । यो कार्यशाला गोष्ठीले नेपालको पयटकीय तथ्यांक व्यवस्थित गर्न, राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको प्रभव कति प्रतिशत छ, विदेशी पयर्टकको खर्च लगायतका विषयको यकिन तथ्यांक आउन मद्दत पुग्ने बताए । आजबाट शुरु भएको कार्यशाला गोष्ठी तीन दिनसम्म सञ्चालन हुनेछ ।
सन्तोषजनक देखिएन गुण एयरको वित्तीय अवस्था, उडान प्रतिबन्ध कायमै
काठमाडौं । कर्मचारीलाई तबल नदिएपछि ग्राउण्डेड गरिएको गुण एयरका जहाज तत्काल नउड्ने भएका छन् । कर्मचारीलाई तलब समेत दिन नसक्ने भएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरेको थियो । ग्राउण्डेड गरेपछि क्यानको टिमले गुण एयरको फाइनान्सिङ अटिड गरेको थियो । अडिटका आधारमा जहाज उडानको अनुमति दिने तयारी गरिएतापनि अडिट रिपोर्ट सन्तोषजनक नभएको क्यानका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् । ‘हामीले फाइनान्सिङ अडिट गरेपछि त्यसकै आधरमा उडानको अनुमति दिने तयारी गरेका थियौँ, अडिट रिपोर्ट सन्तोषजनक पाइएनन, उडान प्रतिबन्ध लम्बियो’, उनले भने । गुणले बिग्रिएको आर्थिक अवस्था सुधार गर्ने, कर्मचारीको रोकिएको सेवासुविधा नियमित दिने, जहाज मर्मतसम्भार तथा क्यानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी गर्ने आधार पेश गरेपछि उडान सुचारुको विषयमा थप अध्ययन हुने उनको भनाइ छ । अडिट गर्दा गुण एयरले तीन महिनादेखि कर्मचारीलाई तलब नदिएको क्यान स्रोतले जनाएको छ । ‘लामो समयदेखि गुण एयरले कर्मचारीलाई सेवा सुविधा भुक्तानी नगरेको पाइएको छ, कर्मचारीसँगै क्यानलाई समेत ४ करोड रुपैयाँ बढी बक्यौता भुक्तानी भएको छैन, तत्काल जहाज उडानको अनुमति दिने कुनै आधार भेटिएन’, स्रोतले भन्यो । ‘गत वर्षबाट गुण एयरको नामबाट उडान सुरु गर्दा नै हामीले वित्तीय अवस्थाको विषयमा विश्लेषण गरेका थियौँ, यति छिटो अवस्था बिग्रन्छ भन्ने हामीले अनुमान समेत गर्न सकेनौं’, क्यानको वित्त विभाग (फाइनान्स डिपार्टमेन्ट) स्रोतले भन्यो, गुणले आर्थिक अवस्था सुधार गर्ने आधार पेश नगर्दासम्म उडान नियमित हुन सक्दैन ।’ २०७८ को असोज १ गतेबाट रियलस्टेट व्यवसायी राजेन्द्र शाक्यले सिम्रक एयरको नाम फेरेर गुण बनाएका थिए । साढे ४ करोड बक्यौता गुण एयरले क्यानलाई साढे ४ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । क्यानको वित्त विभागका अनुसार गुणले गत वर्षको माघदेखि विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने रकम भुक्तानी नगरेको हो । एयरलाइन्सले कम्पनीले विमानस्थल कार्यालयलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ । उक्त शिर्षक अन्तर्गत गुणले ४ करोड ४४ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । गुणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा २ करोड ८७ लाख, विराटनगरमा १९ लाख, नेपालगन्ञ विमानस्थल कार्यालयमा ५ लाख ६९ हजार रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै क्यानले फागुन ८ गतेदेखि अनिश्चितकालका लागि गुणको उडान बन्द गरेको छ । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ । गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् । तीन महिनादेखि कर्मचारीलाई सेवासुविधा भुक्तानी नगरेको र वित्तीय अवस्था समेत सन्तोषजनक नभएको सार्वजिनक भैसक्दा गुण एयर भने बाहिर आएका कुरामा सत्यता नभएको बताउँदै आएको छ । गुण एयरका प्रवक्ता तथा मार्केटिङ्ग प्रमुख प्रज्वल थापा नियमित रुपमा सबै कर्मचारीहरुलाई तलब दिइएको बताउँछन् । उनले जहाज मर्मत तथा पाइटलको तालिम एकैपटक हुँदा उडान रोकिएको दाबी गरे । क्यानले जहाज ग्राउण्डेड गरेपछि पुराना जहाज बिक्रीको तयारी थालिएको गुणले जनाएको छ । २०७८ सालमा यती एयरलाइन्ससँग किनेको ५ वटा पाँचवटा जेट स्ट्रिम जहाज बिक्री गर्ने तयारी थालिएको जनाएको छ । ‘यतीसँग किनेका ५ सहित गुणसँग ७ वटा जहाज भएतापनि ४ वटाले मात्र उडान गर्ने गरेको थियो, उडान नगर्ने जहाज हामीले बिक्रीको तयारी थालेका थियौँ, तयारीकै बीचमा क्यानले उडानमा प्रतिबन्ध लगायो’, थापाले भने, ‘प्रतिबन्धकै बीच जहाज खरिद गर्न अमेरिकाको एक कम्पनीले जहाज लैजाने टुंगो लगभग लागिसक्यो, मूल्यांकनको काम बाँकी छ ।’ उनले पुराना जेट स्ट्रिम जहाज बिक्री गरेर ५० देखि ७० सिट क्षमताका मझौला जहाज ल्याएर गुणले पुनः उडान सुचारु गर्ने बताए । क्यानका प्रवक्ता निरौला भने गुण एयरले जहाज बिक्रीको औपचारिक रुपमा कुनै जानकारी नगराएको बताए । ‘हामीसँग गुणले जहाज बिक्रीको विषयमा कुनै जानकारी गराएको छैन, मैले पहि समाचार देखेर थाहा पाएको हो’, उनले भने, बिक्रीको आन्तरिक तयारी भएको होला, हामीकहाँ भुक्तानी गर्नुपर्ने बक्यौता रकम पूर्ण रुपमा भुक्तानी नभएसम्म जहाज बिक्रीको अनुमति दिदौनौँ ।’ जहाज खरिद तथा बिक्रीका लागि क्यानले अनुमति दिनुपर्छ ।