पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन् : नियमित होस्

पोखरा । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरुले मन फुकाएर स्वागत पनि गरे । तर विमानस्थल उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडानका लागि भने अर्को करिब ६ महिना कुर्नुपर्‍यो । उद्घाटनयता आन्तरिक उडान मात्रै भइरहेको विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान भयो । उद्घाटनमा जस्तै पोखरेलीले खुला हृदयले स्वागत गरे । चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज विहान ९:०६ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । उनीहरुलाई नेपाली ढाका टोपी लगाएर आतिथ्यता दर्शाए । यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरुले ढिलै भए पनि चार्टर्ड उडान हुनुलाई सकारात्मक सुरुवातका रुपमा । यसले छिमेकी देशमा नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेमा उनको विश्वास छ । पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च सम्मान गर्दै विमानस्थल निर्माणदेखि अहोरात्र खटिनेप्रति धन्यवाद व्यक्त गरे। ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुनु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो सुरुवात हो’, उनले भने । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडानपछि आगामी दिनमा यसलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकाय लाग्न सुझाव दिए। उनले चिनियाँ शहर तथा प्रान्तबाट सिधा उडानका लागि हालै गरिएको संसदीय प्रतिनिधिमण्डलको भ्रमणमा सम्बद्ध अधिकारीसँग छलफल भएको बताए । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रुपमा लिने गरिएको बताए । राजा अंशुवर्माकी छोरी भृकुटी तिब्बती राजा स्रोङचङ गम्पोसँग बिहे गरी गएको उल्लेख गर्दै उनले नेपालीले चिनियाँ नागरिकलाई पाहुना मात्रै नभइ अत्यन्त नजिकको नाता सम्बन्धका रुपमा लिने गरेको बताए । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि यहाँ अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको बताए । पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दबाबमा परेको उनको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न बल पुग्ने धारणा राख्नुभयो । रेग्मीले भने, ‘यहाँबाट नियमितरुपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चाहेको बताए । आगामी दिनमा चीनका विभिन्न शहरबाट पोखरामा सिधा उडान हुने विश्वास व्यक्त गर्दै उनले तालैतालको सुन्दर शहर पोखराको भ्रमणका लागि आग्रह गरे । उडानलाई नियमित हुनुपर्छ : पर्यटन व्यवसायी आज भएको चार्टर्ड उडानसँगै वर्षौदेखि आँगनमा अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन् । उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताए । भण्डारीले भने, ‘सुरुआतमा चार्टर्ड उडान सञ्चालन भए पनि हामी उत्साहित छौँ । नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाईसमेत ध्यान आकृष्ट गर्नेछ, नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौँ ।’ रासस

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो : चिनियाँ राजदूत

पोखरा । नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका हुन् । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरुबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’ सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु बोकेको थियो । अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए । अंग्रेजी नयाँ वर्षबाट उडान शुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनभने सकेको थिएन । यो जहाज करिव दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ ।